सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार ९ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राय गरेको छ ।
सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान–१ मटियर्वाबाट भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएको प्रहरीले लहानबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, ९ सय ९९ वटा सयको र एक थान ५० को नोटसहित पक्राय गरेको प्रहरीले जनाएको छ ।
नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसान्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ । प्रायः सीमाक्षेत्रका भारतीय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरू बताउँछन् ।
भारतीय व्यवसायीहरूले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यवसायीहरूको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबाट भारतमै रकम निकाल्ने गरेको बताइएको छ ।
प्रतिक्रिया