काठमाडौं । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकको अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ ।
नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पुर्याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रा.डा सशांक कोइरालालले उक्त अवार्ड प्रदान गरेका थिए ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले प्रदेशगत रुपमा सात, विधागत तथा संस्थागत विकासमा योगदान पुर्याउने सात, अन्तरराष्ट्रिय समाजिक संघसंस्थाको सिफारिसका आधारमा दुई चिकित्सक, विभिन्न प्रदेशबाट पाँच जना स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्दै आएका दुई पत्रकारलाई अवार्ड दिइएको जानकारी दिए ।
यस्तै स्वास्थ्य क्षेत्रमा योगदान गर्ने दुई संस्थालाई समेत सोही समारोहमा सम्मान प्रदान गरिएको थियो । समारोहमा प्रदेश १ बाट स्त्री, प्रसूति तथा ल्याप्रोस्कोपिक सर्जन डा. ज्ञानेन्द्रमान सिंह कार्की, मधेस प्रदेशबाट फेमेली फिजिसियन तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. सरोजरोशन दास, बागमती प्रदेशबाट बालरोग विशेषज्ञ डा. खेमराज पौडेल, गण्डकी प्रदेशबाट हर्मोनरोग विशेषज्ञ प्रा. डा तीर्थलाल उपाध्यय, लुम्बिनी प्रदेशबाट यौन, छाला तथा कुष्ठरोग विशेषज्ञ डा. गोपालराज शाक्य, कर्णाली प्रदेशबाट हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेल र सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका पूर्वनिर्देशक डा. गुणराज अवस्तीलाई सम्मान गरिएको थियो ।
यस्तै विधागत तथा संस्थागत विकासमा योगदान पुर्याउने वरिष्ठ न्युरोलोजिष्ट तथा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका पूर्वडिन प्रा. डा जगदीशप्रसाद अग्रवाल, वरिष्ठ क्यान्सर सर्जन डा. प्रकाशराज न्यौपाने, वरिष्ठ न्युरोजर्सन डा. वसन्त पन्त, धर्मभक्त माथेमा अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक प्रा. डा पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा. डा. माधव घिमिरे र वरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईलाई सम्मान गरिएको थियो ।
अन्तरराष्ट्रिय सामाजिक संघसंस्था जेसिज र लायन्स क्लबको सिफारिसका आधारमा क्यान्सर सर्जन डा. गङ्गा सापकोटा र हर्मोन रोग विशेषज्ञ डा दीपेन्द्र कार्कीलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।
यस्तै स्वास्थ्यकर्मीतर्फ नवलपुरका रामबहादुर बोहरा, चितवनका अमृतकुमार राज भण्डारी, बुटवलका पवन जोशी, नर्सिङ विधाबाट चितवनकी अयोध्याकुमारी पाठक र नवलपुरका ओमबहादुर महत्तोलाई सम्मान गरिएको थियो । समारोहमा पत्रकारितातर्फ हेल्थ पाटी डटकमकी तुलसा घिमिरे र आभास टेलिभिजनका सुकदेव गिरीलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा समाजमा स्वास्थ्य अभियानमार्फत योगदान पुर्याएबापत नेपाल क्यान्सर सहयोग समूह, ललितपुर र मिर्गौला बचाउ अभियान, काठमाडौंलाई पनि सम्मान गरिएको थियो । समारोहमा नेता डा. कोइरालाले स्वास्थ्य दर्पण राष्ट्रिय मासिक पत्रिकाको पहिलो अंकको समेत विमोचन गरेका थिए ।
उपचार मात्रै दिएर पुग्दैन बिरामीको भावना बुझ्न सक्नुपर्छ : डा. कोइराला
उक्त समारोहमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रा. डा. शशांक कोइरालाले चिकित्सकले उपचार मात्रै गरेर नहुने भएकाले बिरामीको भावना पनि बुझ्नु जरुरी रहेको औँल्याए । उनले सहरमा मात्रै बसेर चिकित्सकले समाज बुझ्न नसक्ने जानकारी गराउँदै गाउँगाउँमा सेवा दिन चिकित्सकलाई अनुरोध गरे । ‘जबसम्म डाक्टरले गाउँ घुम्दैन तबसम्म जनताको भावना बुझ्न सक्दैन, घुमेपछि मात्रै समाजको अङ्ग बुझ्न सक्छ,’ उनले भने ।
फरक प्रसङ्ग जोड्दै नेता डा. कोइरालाले राजनीति सही ढङ्गले नचलेको बताए । राजनीतिलाई ठीक ठाउँमा पुर्याउनका लागि आफू चिकित्सा पेसा छाडेर राजनीतिमा आएको उनको भनाइ थियो । उनले नेपाली कांग्रेस सही मार्गमा नरहेकाले कांग्रेसको बाटो सच्याउने चाहना आफ्नो रहेको बताए । उनले चुनाव महँगो भएकामा चिन्ता व्यक्त गर्दै भने, ‘पहिलो चुनावमा ६० लाख खर्च भयो दोस्रोमा रु तीन करोड गत चुनावमा त्योभन्दा झन् बढ्यो ।’
उनले आफू प्रधानमन्त्री भए कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने वचनबद्धता व्यक्त गरे । प्रधानमन्त्री भएको खण्डमा कृषिमा परिवर्तन ल्याउँदै ल्यान्ड बैंकको योजनामार्फत प्रतिजमिनलाई भाडामा दिई प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन भट्टराईले कतिपय समाचारकै कारण चिकित्सक र बिरामीको दूरी बढेको जिकिर गर्दै त्यसलाई सही मार्गमा अघि बढाउन सबै सरोकारवालाहरुसँग मिलेर करिकुलम आवश्यक रहेको बताए । उनले नेपालका चिकित्सक सक्षम रहेको तर यहाँको नीति राम्रो नभएकाले धेरै चिकित्सक बाध्य भएर विदेशिएको जानकारी गराए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सामाजिक संघसंस्थाको सिफारिसमा यसरी चिकित्सकलाई सम्मान गर्नु फरक र महत्वपूर्ण रहेको उल्लेख गर्दै मिडियाले गलत मात्रै लेख्दैन राम्रो पनि गर्छ भन्ने उदाहरण आजको कार्यक्रम भएको बताए ।
नकारात्मक खोजी भयो भने पनि त्यो सच्याउनका लागि हो भनेर बुझ्नुपर्नेमा उनको जोड थियो । नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्सालले मिडियाससँग विषयगत रुपमा समन्वय गर्न सके धेरै असमझदारी हटेर जाने भएकाले पत्रकारिता बुझन् चिकित्सकलाई आग्रह गरे । चिकित्सकले कुरा बुझाउन नसक्दा केही समस्याहरु आएको उनको भनाइ थियो ।
नेपाल औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कोभिडले स्वास्थ्य के हो र यसको कसरी विकास गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । सम्मानितका तर्फबाट मन्तव्य राख्दै मिर्गौला रोग विशेषज्ञ प्रा. डा. माधव घिमिरेले आफूले गरेको कामलाई समाजले हेर्दोरहेछ भन्ने महसुस आजको कार्यक्रमबाट भएको बताए ।
प्रतिक्रिया