दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
नेपाली कांग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भने, ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ, उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।’ प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।
तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै कांग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उनले उल्लेख गरे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको बताए । उनले सबै निर्वाचनमा तनहुँमा कांग्रेसले जित्नुपर्ने विचार व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले आजै तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न पनि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युत्गृहलगायतको निरीक्षणपछि समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिएका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्री देउवाले आयोजना निर्माणका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गरे ।
तनहुँका केही कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण गरेका हुन् ।
आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य कार्यलाई तीन ‘प्याकेज’मा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि गत भदौ १४ मा भएको सम्झौता कार्यान्वयनमा छ । अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य पनि भइरहेको छ ।
प्रतिक्रिया