फरक स्वादको ‘कुकर कफी’ !

चमिना भट्टराई

हिजोआज प्रेसरकुकरमा दाल, भात, मासु मात्रै होइन, कफी पनि पाक्न थालेको छ । सुन्दा अनौठो लागे पनि कुकरमा सिठी लगाएको कफीको स्वाद पाउन अब कठिन भने छैन । कफी पारखीका लागि यो नयाँ र थप स्वादिष्ठ छ । काठमाडौंको बानेश्वर नजिक बागमती कोडिडोर आलोकनगरमा पाइने कुकर कफीको स्वाद लिन हिजोआज उच्च ओहोदाका साथै सामान्य नागरिकसम्मको जमघट हुने गरेको छ । ‘बाई ड्याडिज किचेन’ मा पाइने कफीको स्वाद लिएकालाई अन्तको कफीले सन्तुष्ट दिँदैन । यहाँको स्वाद र वातावरण एकपटक गएकालाई फेरि पनि आइरहने बनाउने खालको छ । त्यसैले त एकपटक स्वाद लिएका फेरिफेरि आउँछन् । कफीको स्वादमा फरकपन पाइने कुकर कफीले काठमाडौंको कफी बजारमा साम्राज्य जमाउँदै छ ।

बजारमा पहिले विभिन्न प्रकारका खाजा बेच्दै आएका बुटवलका २९ वर्षीय पदमजंग कुँवरमा केही नयाँ गर्ने हुटहुटी पलाएपछि स्थापना भएको हो, कुकर कफी । केही समय विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव समेटेका उनलाई फरक केही गरी नाम र दाम कमाउने सोचकोे परिणाम हो यो । कसैका लागि जोखिम ठानिएको यो व्यवसायमा उनी सफल भएका छन् । ‘निदाउने बाहेकको समयलाई कसरी राम्रो बनाउने भन्ने सोच्छु, मेरो सबै प्रकारको समय यहीँ लगाउँछु’, सञ्चालक कुँवरले भने, ‘हरेक दिन के नयाँ गर्ने कसरी ग्राहकको मन जित्ने र सन्तुष्ट दिनेमा मेरो समय बित्ने गर्छ ।’ उनी ग्राहकलाई एकपटक आए गए भन्नेमा चित्त बुझाउँदैनन, आज त आए फेरि आउँछन् कि आउँदैनन् भन्नेमा उनको चिन्ता हुन्छ र त्यसैका आधारमा नयाँ कुराको खोजी हुन्छ ।

हेर्दा सामान्यजस्तै देखिने उनको कफी पसलमा पाइने कफी बजारमा अन्त पाइनेभन्दा सस्तो र स्वादिष्ठ छ । ‘कायापलट ल्याउँछौँ स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौँ’, कफी खाने आउने ग्राहकको अगाडि राखिने मेनुमा देखिने यो नाराले नै धेरैको मन तान्छ । व्यवसायमा सुन्तष्ट रहेको कुँवरको अनुहारमा देखिने चमकले पनि उनको व्यवसाय सफल छ भन्ने देखाउँछ । खोलाको किनार भएर हिँड्नेका लागि टाडैबाट देखिने कुकर कफी लेखेको बोर्डले एकपटक भित्र जाउँ र स्वाद लिउँ भन्दै लोभ्याउने गरेको छ । आउने ग्राहक के कुराले आकर्षित छन् र के खोज्दैछन् भन्नेमा उनी सचेत छन् । त्यसैले त्यहाँको वातावरण र संरचना सुन्दर र आकर्षण छ ।

दिनमा १ सय ६० लिटर दूधको कफीसमेत बेचेको अनुभव छ कुवँरसँग । नयाँ सोचले काम गर्ने हो भने रोजगारीकै लागि खाडीमुलुकमा गएर पसिना बगाउन पर्दैन । त्यही पसिना स्वदेशमै बगाउने हो भने घर वरपर पनि धेरै सम्भावना छ ।

उनले कफीकै नाम पानीमा पनि दिएका छन् । उनकोमा आउनेले कफीसँगै पानी पनि कुकर पानी खान पाउँछन् । केही वर्षअघिसम्म बुटवलमा सीमित कुकर कफीलाई कुँवरले ब्रान्ड बनाएर राजधानी भित्राएका हुन् । ‘कुकरमा कफी बनाएर बेच्ने काम यसअघि अरूले पनि गरेका हुन सक्छन्, कफी सप र चिया घरको यो सहरमा कमी छैन । तर, त्यसैलाई ब्रान्ड बनाएर कफी सप नै खोल्ने भने हामी नै पहिलो हौँ’, उनले भने, ‘म यहि कुकर कफीको नाममा राज्यलाई कर तिर्छु । यो ब्रान्ड मेरो मात्रै हो । अरूले कुकरमा नै बनाएको कफी बेच्लान् तर त्यो सपको नाम अरू केही हुन सक्ला ।’

उनी ग्राहकको सन्तुष्टि र रुचीलाई ख्याल गर्छन् । पैसाभन्दा स्वाद र सन्तुष्टिलाई प्रमुख ठान्ने उनी कामलाई पहिलो स्थानमा राख्छन् । खोलाको किनारबाट गेटभित्र छिर्ने बित्तिकै चिटिक्क परेको सानो बगैँचाजस्तो देखिन्छ । जहाँ बस्ने कुर्सी र टेबल सजाएर राखिएको छ । कलाका बारेमा राम्रोसँग बुझेका उनले आफ्नो कफी सपमा बनाएका कुर्सी र टेबलले पनि धेरैको ध्यान तान्छ । प्रयोग भएर फालिएका रिक्सा र साइकलका चक्कालाई उनले रिसाइकल गरी टेबल बनाएका छन् । उनी भन्छन्, ‘कला बुझेर काम गर्ने हो भने, उपयोग नभएका धेरै चिजलाई पुनः उपयोग गर्न सकिन्छ । यो रिक्सा र साइकलका चक्कालाई मैले कलात्मक रूपमा प्रयोग गरेँ ।’


यस्तै भित्तामा टाँगिएका क्यान्सभासमा पनि उनले धेरै लगानी गरेका छन् । भित्तामा के राख्दा राम्रो र शान्त देखिन्छ । अरूभन्दा फरक देखिन्छ र कफी खान आउनेले बस्ने समय यहाँका शान्तवातावरणमा पनि बिताउन पाउन भन्नेमा उनी सचेत छन् । त्यसैले विभिन्न प्रकारका फूल र विरुवाले पनि ठाउँ पाएका छन् । अझै माथि झुण्डिएका रंगीन छाताहरूको सुन्दरता कम देखिँदैन । ‘मैले केही फरक दिन नसक्ने हो भने टाढाटाढाबाट यहाँ किन आउँछन्,’ उनले भने, ‘कलंकीबाट यहाँ कफी खान आउँछन् त्यहाँदेखि यहाँसम्म कफी पसल नभएर पक्कै होइन, यसले मलाई सन्तुष्ट दिलाउँछ ।’ कुनै बेला बाटो हिँडनेलाई पनि फोहोरको गन्धले उकुसमुकुस बनाउने यही ठाउँ अहिले सुन्दर देखिएको छ । मिहिनेतले काम गरे के हुँदैन भन्ने गतिलो उदाहरण पनि हो यो । ‘मलाई यहाँ रेस्टुरेन्ट बनाउँदा धेरैले पत्याएका थिएनन् । यस्तो गन्हाउने ठाउँमा किन रिक्स लिएको होला भनेर’, उनले भने, ‘यो ठाउँमा भाडामा दिनेले त भाडा तिर्न सक्दैनौ होला भनेर पत्याएका थिएनन् ।’

हुन पनि उनको वरपर केही पहिलासम्म गन्हाउने कामै नलाग्ने ठाउँका रूपमा परिचित थियो । अहिले भने यस करिडोरमा अन्य धेरै नामका रेस्टुरेन्ट खुलेका छन् । तर अन्त पाइने कफी र उनकोमा पाइने कफीको स्वाद भने फरक छ । उनले यस कुकर कफीलाई मात्रै ब्रान्ड बनाएनन्, यस ठाउँको नाम पनि यसैबाट ब्रान्ड बनाए । ‘अहिले त यो ठाउँको नाम पनि कुकर कफी भन्न थालेका छन्’, उनले भने । ठाउँलाई राम्रो बनाएको र व्यवसायमा पाएको सफलताले उनलाई आफूले गरेको काममा सन्तुष्ट मिलेको छ ।

‘बजारमा कफी चिया पाउन कठिन छैन, जहाँ पनि पाइन्छ । तर, त्यसको स्वाद र त्यहाँ बसेर खाने वातावरण कस्तो छ भन्नेचाहिँ ठूलो कुरा हो’, उनले भने, ‘मेरोमा पाइने कफी पूर्णरूपमा अर्गानिक छ । हामी मेसिनमा कफी बनाउँदैनौँ । अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, वुटवलमा उत्पादन हुने नेपाली कफीको स्वाद दिन्छौँ ग्राहकलाई ।’ मेसिनको ठाउँमा कुकरबाट कफी बनाएका कारण आफूले बनाउने कफीको लागत अरूको तुलनामा सस्तो भएको उनले बताए । जुस खाने गिलास भरी पाइने कफीको मूल्य एक सय मात्रै रहेको उनले जानकारी दिए ।

उनकोमा कफी बनाउने कुकर अन्य कुकरभन्दा अलि फरक छ । यसलाई उनले बुटवलमा बनाएर ल्याएका हुन् । यस कुकरको निर्माणको सुरुआत बिहारको मोहम्मद रिजादिन नामका व्यक्तिले गरेको उनले जानकारी दिए । ‘कुकर प्रयोगमा सचेत हुनुपर्ने भएकाले पनि जहाँ पायो त्यही बनाउन भएन त्यसैले हामीले बुटवलमा बनाएर ल्याएका हौँ,’ उनले भने । मान्छेको सोचमा रेस्टुरेन्ट भन्ने बित्तिकै मदिरा खान पाइएला भन्ने कतिलाई लाग्न सक्छ । तर, उनकोमा मदिराजन्य कुनै पनि बस्तु पाइँदैन । ‘पैसा कमाउनु मात्रै मेरो उद्देश्य होइन, यहाँ आउने ग्राहकले शान्त वातावरणमा बसेर कफीलगायत अन्य खानाको स्वाद लिन पाउनु भन्ने नै मेरो उद्देश्य हो’, उनको कथन छ ।

होलीका दिन मात्रै पनि २० वटाभन्दा धेरै समूह आएको र रक्सी न पाइने भनेपछि फर्किएर गएको उनले बताए । ‘रक्सी न पाएको कारण ग्राहक फर्किएकोमा मलाई कुनै पनि गुनासो छैन’, उनले भने, ‘मैले जे बेचिरहेको छु त्यसमा सन्तुष्ट छु । यहाँ आउनेहरू शान्त वातावरणमा बसेर कफी खान आउँछन् । उनीहरूको सन्तुष्टी नै मेरो खुसी हो ।’ उनकोमा आउने ग्राहक धेरैजसो नियमित आउने गरेको भएको उनले जानकारी दिए । धेरैजसो मिटिङ राख्न पनि आउने गरेको उनले सुनाए । कलाकार, पत्रकारदेखि राजनीतिक गर्नेसम्म आउने र राम्रो रहेको भन्ने गरेको उनको दावी छ ।

कुकरमा सिठ्ठी लगाएको कफी मुख्य विषेशता भए पनि उनको रेस्टुरेस्टमा अन्य खाजाका साथै, अर्गानिक चिया, ग्रिन–टी लगायत विभिन्न प्रकारका चिया पाइन्छ । अझै धेरैलाई थाहा न भएको ‘चिकेन समोसा’ उनकोमा पाइने अर्को नयाँ ब्रान्ड हो । ‘मलाई जसरी पनि छिटो बजारमा लिनु थियो मुलुक लकडाउनले ग्रस्त थियो त्यहि बेला कुकरमा सिठ्ठी लगाएको कफीले ग्राहकलाई सन्तुष्ट पार्ने सोच बनाएँ, यस्तै बजारमा चिकेन मम पाइन्छ भने चिकेन समोसा किन खान नपाउने भन्ने लागेर सुरु गरेँ’, उनले भने । समोसामा आलु हालेर मात्रै खान पर्छ भन्ने छैन । मासु हालेको पनि खान मिल्छ भन्ने प्रमाणित गरेको उनको दावी छ ।

कुनै पनि काममा आफ्नो लक्षित समूहको मनोविज्ञान बुझेर डिजाइन गरेर काममा सफलता पाइने उनको तर्क छ । ग्राहकको रुचीअनुसार हुनेगरी उनले टेबल र कुर्सीको व्यवस्था गरेका छन् । सोफा, होचा कुर्सीदेखि अग्ला फरकफरक कुर्सी र टेबलमा सजिएको छ उनको रेस्टुरेन्ट । वैशाखदेखि आफ्नो ब्रान्डलाई देशको अन्यभागमा समेत विस्तार गर्न लागेको उनले जानकारी दिए । ब्रान्ड विस्तार गर्दा गुणस्तरमा उत्तिकै ख्याल गरिनेमा भने उनी सचेत छन् । त्यहि सचेतताले काम गरेका कारण पनि उनले उमेरमा पनि बजारमा आफ्नो नाम स्थापित गरेका छन् । काम गर्ने इच्छाशक्ति भएर मिहिनेत गरेमा सफलता हात पर्न सहज छ भन्ने एउटा नाम हो उनी ।

‘मैले के गर्ने ? कहाँ गर्ने र त्यो ठाउँको माग र चाहना के हो भन्ने पहिला बुझ्नुपर्छ’, उनले भने, ‘यी सबै कुरा बुझेर काम गर्ने हो भने, असफलता होइन, सफलता पाइन्छ ।’ उनले त्यसलाई सार्थकता बनाएकी छन् । कफीका पारखीहरूको आवतजावत खुब हुने उनकोमा भेटिएकी दोलखाकी दुर्गा कार्कीले भनिन्, ‘यहाँको कफी खाएपछि अन्तको स्वाद खल्लो लाग्छ । अन्तको तुलनामा यहाँको वातावरण शान्त छ । बस्ने ठाउँ आफूले खोजेको जस्तो छ र कफीको स्वाद पनि मीठो छ ।’ दुर्गालाई यहाँको कफी एकपटक खाएपछि आइरहन मन लाग्यो रे ! उनी पटकपटक कफी पिउन यहाँ आइरहन्छिन् । यहाँको स्वाद र वातावरणले धेरैको मन तान्ने गरेको छ । प्रेसर कुकरमा सिठी लागेको कफी खान दुर्गासँगै आएकी उनको साथी पार्वतीले भनिन्, ‘कफीको स्वाद मीठो छ र यहाँको वातावरण पनि राम्रो छ त्यसैले म आइरहन्छु ।’


उनीजस्तै एकपटक कफीको स्वाद लिन धेरै ग्राहक आउँछन् । उनी भन्छिन्, ‘यहाँ खाएको कफी अन्त खाँदा पैसा पनि धेरै तिर्नुपर्छ र स्वाद पनि यस्तो पाइँदैन । त्यसैले अन्तको भन्दा यहाँको कफी खान मन लाग्छ । ठाउँठाउँमा पाइने विभिन्न फूलका बोट र सजावटले पनि मान्छे आएर घण्टौँ बस्छ र कफीको स्वाद लिन्छ । कफी सप सञ्चालक कुँवरले २९ जनालाई रोजगारी दिएका छन् । ‘यही कफी सपबाट धेरैको घर व्यवहार चलेको छ’, उनी भन्छन्, ‘एकपटक आएकाले के खान्छन् के खोजिरहेका छन् त्यसलाई नजिकबाट हेर्छु र त्यसैअनुसार काम गर्छु । त्यो नै मेरो सफलता हो ।’ उनले आफ्नो सफलताको रहस्य सुनाए । ग्राहक बुझेर अगाडि बढेकाले आफूले गरी खान सक्ने वातावरण बन्न सकेको उनको अनुभव छ । दिनमा १ सय ६० लिटर दूधको कफीसमेत बेचेको समेत अनुभव छ उनीसँग । त्यसैले काम गर्ने इच्छा शक्ति भएकालाई काम गरी खान कुँवर एउटा गतिलो उदाहरण पनि बनेका छन् । नयाँ सोचले काम गर्ने हो भने रोजगारीकै लागि खाडी मुलुकमा गएर पसिना बगाउन पर्दैन । त्यही पसिना नेपालको भूमिमा बगाउने हो भने घर वरपर पनि धेरै सम्भावना छ ।

 

प्रतिक्रिया