दलबदल गर्दै उम्मेदवार बन्ने चर्चित नेता

काठमाडौं । हरेक निर्वाचनमा उम्मेदवार बन्नै पर्ने लोभका कारण राजनीतिक दल परिवर्तन गर्नमा केही शीर्ष नेता नै अगाडि हुने गरेका छन् । राष्ट्रिय राजनीतिमा चर्चामा रहने केही शीर्ष नेताहरूले हरेक निर्वाचनपिच्छे राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै आइरहेका छन् ।

आफूले उठाउँदै आएको मुद्दा एकातिर छोडेर जसरी पनि उम्मेदवार बन्ने र निर्वाचन जित्ने लोभका कारण सर्वसाधारण मतदाता पनि यिनीहरूबाट आत्तिएका छन् । संविधान सभाको पहिलो, दोस्रो र त्यसपछिका निर्वाचनमा राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने केही नेता दलबदल गर्दै उम्मेदवार हुनेमा अगाडि देखिन्छन् ।

दल बदल्ने र उम्मेदवार बन्नेमा सबैभन्दा अगाडी छन् बिजयकुमार गच्छदार । नेपाली कांग्रेसबाट राजनीति आरम्भ गरेका गच्छदारले पछिल्लो निर्वाचन कांग्रेसबाट लडे । सुनसरी–३ बाट उम्मेदवारी दिएका उनी कांग्रेस छोडेर नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष भएका थिए । निर्वाचनको केही समय अघि मात्रै उनी फोरम छोडेर पुनः कांग्रेस भएका हुन् ।

सदाबहार चुनाव लडने, मन्त्री हुने नेताको रूपमा चिनिने गच्छदार कांग्रेसबाट ०४८, ०५१ र ०५६ गरी तीनैपटक सुनसरी–३ बाट सांसद चुनिएका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–३ र मोरङ–७ बाट निर्वाचन जितेका उनी मोरङ–७ मा कांग्रेसका शेखर कोइरालालाई हराएका थिए । त्यस बेला उनी मधेसी जनअधिकार फोरममा थिए ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उठेका उनले सुनसरी–३ बाट चुनाव जितेका थिए । तर, मोरङ–७ मा उनलाई कांग्रेसका शेखर कोइरालाले नै पराजित गरे । १० वर्षपछि पुनः कांग्रेसमा फर्किएर उनी फेरी सुनसरी–३ बाट उम्मेदवार बने । कांग्रेस परित्याग गर्दै फोरममा प्रवेश गर्ने र फोरम परित्याग गर्दै आफैँ दल खोलेर त्यसको अध्यक्ष बनेका गच्छदार आफ्नो दलसहित कांग्रेसमा प्रवेश गर्दै गर्दा राष्ट्रिय राजनीति नै तरंगित बनेको थियो ।

गच्छदारको चर्चा गर्दै गर्दा राजनीतिक दल परिवर्तनमा छुट्टाउनै नहुने एक राजनीतिज्ञ हुन् रामेश्वर राय यादव । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–३ बाट निर्वाचनमा होमिएका यादव राजनीतिक दल परिवर्तन गर्नेमा प्रमुख नेता मानिन्छ । फोरम नेपाल हुँदै फोरम लोकतान्त्रिक भएका यादव त्यसपछि माओवादीमा आबद्ध भए र माओवादीबाट सर्लाही–३ मा उम्मेदवार बने ।

कपिलवस्तुका अभिषेक प्रताप शाह पनि चर्चित नेता हुन् । राजनीतिक पृष्ठभूमि कांग्रेस भएका शाह मधेस आन्दोलनसँगै कांग्रेस परित्याग गर्दै फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपालको तर्फबाट पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कपिलबस्तु–३ बाट निर्वाचन जितेका उनी अहिले पुनः कांग्रेसमै फर्किए ।

मधेस मुद्दाका विषयमा खरो उत्रिने शाह बेलाबेलामा दिने अभिव्यक्तिका कारण राष्ट्रिय राजनीतिमा चर्चामा रहने मध्येका एक हुन् । फोरम परित्याग गरी कांग्रेसमा फर्किएका शाह कपिलबस्तु–३ बाट उम्मेदवार बने । गच्छदार, यादव, शाहको तुलनामा राजनीतिक दल बदल्नेमा कमजोर छैनन् अर्का चर्चित नेता जंगीलाल राय ।

कांग्रेसबाट तमलोपा, राजपा हुँदै पुनः कांग्रेसमै फर्किएका राय दलबदलमा चर्चित छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही २ मा निर्वाचन लडेका उनी पछिल्लो निर्वाचनमा सोही क्षेत्रबाट कांग्रेसको उम्मेदवार बने । पार्टी जन्माउने, आपैmँले जन्माएको पार्टी फोर्ने र पुन पुर्खौली पार्टीमै फर्किएका उनी दलबदल गर्दै उम्मेदवार हुने चर्चित नेता हुन् ।

दलबदल गर्दै उम्मेदवार हुनेमा अर्का चर्चित नेता शिवपुजन यादव पनि हुन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–४ बाट निर्वाचन लडदै गर्दा उनी तमलोपामा थिए । गत निर्वाचन सोही क्षेत्रबाट लडदै गर्दा उनी माओवादी पार्टीमा छन् । मधेस मुद्दामा खरो उत्रिने राष्ट्रिय राजनीतिमा चर्चित हृदयेश त्रिपाठी गएको निर्वाचनमा बामगठबन्धनबाट उम्मेदवार भएका थिए ।

नवलपरासी वर्दघाट सुस्ता पश्चिम १ बाट उम्मेदवार भएको त्रिपाठी राजपा त्यागेर स्वतन्त्र राजनीतिक समूह गठन गरेका थिए । स्वतन्त्र राजनीतिक समूह गठन गरेर उनी बामगठबन्धनसँग चुनावी तालमेल गरी सांसद भए । नवलपरासी ४ र नवलपरासी ६ बाट चुनाव लडदै गर्दा उनी क्रमशः सदभावना र तमलोपा पार्टीमा थिए । अहिले भने उनले आफैँ दल खोलेका छन् ।

यस्तै दलबदल गर्ने अर्का नेता हुन रामचन्द्र झा । लामो समय एमालेको राजनीति गरेका झा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा धनुषा १ मा एमालेबाट निर्वाचन लडेका थिए । त्यसपछि नयाँ शक्ति पार्टीमा आबद्ध भए । नयाँ शक्तिबाट केही नपाउने देखेपछि माओवादीमा आबद्ध भए र धनुषा २ बाट उम्मेदवार भए । नयाँ शक्तिमा जानुअघि उनी माओवादीमै थिए । अहिले भने उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

दलबदल गर्नेमा पर्साका महिला नेतृ उर्मिला अर्याल पनि पर्छिन् । मसालबाट विद्यार्थी राजनीति सुरु गरेकी उनले एमाले भएर पटकपटक सुविधा भोग गरिन् । अर्याल अहिले माओवादीमा छिन् । पहिलो संविधानसभा निर्वाचन पर्सा ४ मा एमालेबाट उम्मेदवार बनेकी उनी दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् हालैमात्र उनी माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभामा निर्वाचित भएकी छन् ।

गएको पुस ९ गते नेकपा माओवादी केन्द्रबाट पर्साको जगरनाथ गाउँपालिका अध्यक्ष जितेका जालिम मियालाई एमालेले निकै तामझामका साथ एमाले भित्र्यायो । अनेकन विवादमा रहेको मिया कुनै बेला भारतीय मिडियाले तारो बनेका थिए । नेपालमा कोभिड महामारी सुरु भएका बेला भारतको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीले नै गोप्य पत्राचार गर्दै जालिम मियाले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरूलाई आश्रय दिएको र भारतमा घुसपैठ गराउन खोजेको आरोप लगाएका थिए ।

कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका निकै नजिक मानिने मियाको एमाले प्रवेश कार्यक्रमका यति तामझामपूर्ण थियो कि अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू हेलिकोप्टरबाट जगन्नाथपुर पुगेका थिए । सो कार्यक्रम व्यवस्थापनका लागि रघुवीर महासेठ, प्रभु साहलगायतका नेताहरू पर्सामा सक्रिय थिए ।

सर्वोच्चको फैसालाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रबाट निर्वाचित मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुखले एमाले रोजेका थिए । माओवादी छोडेर एमाले बनेका प्रभु साहकी पत्नी मौलापुरकी मेयर कविता साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले यसअघि नै माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् । दलबदल गर्नेमा अर्को व्यक्ति हुन् दुर्गा प्रसाईं ।

व्यवसायी प्रसाईंलाई गएको ७ कात्तिकमा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर एमाले भित्र्याए । उनी पनि यसअघि माओवादी निकट मानिन्थे । ओली सत्तामा पुगेपछि उनी ओलीसँग नजिकिएका थिए । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक रहेका व्यवसायी प्रसाईं एमाले प्रवेश गरेको दुई महिनामा नै एमालेको महाधिवेशन प्रतिनिधि भएर केन्द्रीय सदस्यमा मनोनीत भए । प्रसाईं मेडिकल माफियाका रूपमा परिचित छन् ।

बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालका सञ्चालक रहेका उनले ओली प्रधानमन्त्री हुँदा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने प्रयत्नसमेत गरेका थिए । तर, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले नमानेपछि बीएन्डसीलाई सम्बन्धन दिन ओली असमर्थ भए । एमालेमा लामो समय राजनीति गरेकालाई यति बेला प्रसाईंले उछिनेका छन् ।

झापाका पुराना नेता नरेश खरेलले एमालेमा कुनै भूमिका नपाउन प्रसाईंले भने केन्द्रीय सदस्य जस्तो महत्वपूर्ण जिम्मेवारी पाएका छन् । यसमा एमालेकै पूराना नेताले आलोचनासमेत गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत रहेका विनोद चौधरी एकाएक एमाले कोटाबाट संसद् भए उनीलाई एमालेले संसद् बनाउँदा पार्टीभित्रै पनिआलोचना भएको थियो ।

०६४ सालमा एमालेले उनलाई समानुपातिक तर्फबाट सांसद बनाएको थियो । एमाले कोटाबाट सांसद भए पनि उनी आफूलाई कम्युनिस्ट भन्न लजाउँथे । एमालेको सांसद भएर पनि एमाले हुन नसकेका चौधरीले संसद्को पदसँगै एमालेसँग साइनो टुटाए । एमाले छोडेर उनी प्रतिनिधिसभा निर्वाचन ०७४ अघि कांग्रेसमा प्रवेश गरे ।

‘बाँकी जीवन पूर्णकालीन राजनीति गर्न र राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिको योजनालाई साकार रूप दिन नेपाली कांग्रेस प्रवेश गरेको हुँ’, कांग्रेस प्रवेश गर्नका कारणमा उनले भनेका थिए । तीनै चौधरी कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । एमालेबाट सांसद भएको १० वर्षपछि चौधरी २०७४ मा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए ।

नेपालमा कोभिड महामारी सुरु भएका बेला भारतको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीले नै गोप्य पत्राचार गर्दै जालिम मियाले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरूलाई आश्रय दिएको र भारतमा घुसपैठ गराउन खोजेको आरोप लगाएका थिए । कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका निकै नजिक मानिने मियाको एमाले प्रवेशका कारण के हुन सक्ला ? पार्टी परिवर्तनमा अर्का ‘उदाहरणीय’ व्यक्तित्व हुन मंगलप्रसाद गुप्ता ।

पछिल्लो समय जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उनी विभिन्न पार्टी चहारेर फेरि एमालेमा प्रवेश गरेका छन् । पुस ६ गते कपिलवस्तुको बहादुरगञ्जमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । पञ्चायती व्यवस्थाबाट राजनीति सुरु गरेका ७२ वर्षीय गुप्ता ०४७ मा कांग्रेस प्रवेश गरेका थिए । ०४८ र ०५६ को संसदीय निर्वाचनमा कांग्रेसबाट निर्वाचन लडेका उनी पराजित भए ।

कांग्रेसमा असफल भएका उनले तत्कालीन तमलोपा पार्टी रोजे । २०७० मा तमलोपाबाट संसदीय निर्वाचनमा उठेका उनले विजयी हुन सकेनन् । पार्टी चाहार्ने बानी परेका उनले त्यसपछि मधेसी जनअधिकार फोरममा प्रवेश गरे । ०७४ मा फोरमबाट संसदीय निर्वाचनमा उठेका उनी फेरि पराजित भए । ०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचन लडेका उनी त्यतिबेला पनि पराजित भएका थिए । उनको अहिलेसम्मको उपल्लो पद पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य हो ।
बक्स

दलबदलु नेता राजनीतिको क्यान्सर : अहिराज

राजनीतिक विश्लेषक राजेश अहिराजले उद्देश्य, जनता र मुद्दा बिर्सिने नेताहरूले जसरी पनि उम्मेदवार हुनैका लागि दल बदल्ने गरेको बताउँछन् । राजनीतिक दल बदल्ने र जसरी पनि उम्मेदवार हुने नेताहरूले सिद्धान्तको नभई अवसरको राजनीतिक गर्ने उनी बताउँछन् ।

जनताका लागि नभई अवसरका लागि राजनीतिक गर्ने दलबदल नेतालाई स्थिर राख्न कानुन बनाई लागुपर्ने सुझाव अहिराजको छ । दलबदल गर्ने नेपाली राजनीतिको क्यान्सर भएको बताउँदै अहिराजले यस्तो रोग मधेस र पहाड सबैतिर भएको बताए । जनताको मतको कदर नगर्ने दलबदलु नेताहरूले जहिले पनि अवसरको खोजीका क्रममा रहने भएकाले जनता आफैँ सचेत हुनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया