बाह्रै महिना पोलेका मकै, पहाडमा हराउँदै सहरमा मौलाउँदै मकै संस्कृति

काठमाडौं । एक समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजाको रूपमा मकै नै उपभोग गर्थे । त्यति सारो चामलको उत्पादन नहुँदा स्थानीय स्तरमा अत्यधिक परिमाणमा उत्पादन हुने मकै नै प्रमुख खान्की वा खाद्यान्नको रूपमा पहाडी भेगका बासिन्दाको मुख्य स्रोत बनेको थियो । चामल भनेपछि कि त पहुँचवाला कि त राम्रै आम्दानी हुनेले चाडबाडमा उपभोग गर्न सक्षम थिए ।

तर, पछिल्लो समयमा यो परिवेश बिलकुलै फेरिएको छ । सडकको पहुँच, क्रय शक्ति र जीवनस्तर वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोतमा मकैको साटो चामल प्राथमिकतामा पर्न थालेको छ । पोषण र खाद्य सुुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै अब गाईभैँसी, खसीबोका र कुखुरालाई खुवाउने खाद्यान्नको रूपमा प्रयोग गर्न थालेका छन् । उता सहरीयावासीको खाद्यान्नको मुख्य स्रोत चामलको उपभोग दर अहिले विस्तारै घट्दो क्रममा छ ।

हिमाली र पहाडी भेगका बासिन्दाले मकै खाने संस्कृतिलाई विस्तारै छाड्दै गएको अवस्थामा सहरियावासीले भने मकै खाने संस्कृतिलाई पछ्याउँदै लगेका छन् । यसैको प्रतिफल हो, सहरमा अहिले सर्वसाधारणको भान्छा कोठादेखि ठुल्ठूला होटेल, चमेनागृह र रेस्टुँरामा मकैको स्वादिष्ट परिकार पाक्न थालेको छ ।

सहरमा मकै खाने संस्कृति निक्कै चलन चल्तीमा छ । त्यो पनि सबैभन्दा बढी दिउँसो र बेलुकाको समयमा चोक चोक, गल्ली गल्ली र रमणीय पार्कहरूमा पोलेर मकै खाने संस्कृति मौलाउँदै गएको हो । पार्कहरूमा त युवायुवतीको युगल जोडीले अँगालो मारेर पोलेको मकै खाँदै मिठासपूर्ण वात् मार्दै गरेको दृश्य सहरीया क्षेत्रमा सामान्य भइसकेको छ ।

अहिले सहरी क्षेत्रमा मकैको अचार, मम, चाउमिन, मकैको फ्राइड राइस, मकैको भात, उसिनेर, पिठोको रोटीको रूपमा, ढिडोको रूपमा, सुपको रूपमा, जुसको रूपमा, भुटेर र पपकर्नको रूपमा मकैको उपभोग संस्कृति बढ्दै गएको छ । यस बाहेक पशुपन्छीलाई दानाको रूपमा पनि मकैको उपभोग हुन्छ । यसमध्ये सहरी क्षेत्रमा अत्यधिक रुचाइएको पोलेर मकै खाने संस्कृति फैलिँदो छ ।

विज्ञहरूका अनुसार सहरी क्षेत्रमा पोलेर मकै खाने संस्कृति भित्रिएको समय धेरै भएको छैन् । पछिल्लो करिब २० वर्ष यतादेखि पोलेको मकै खाने संस्कृति सहरी क्षेत्रमा देख्न थालिएको छ । यो संस्कृतिलार्ई मूर्त रूप दिन वर्षे मकै बालीभन्दा १२ महिना उत्पादन हुने मकैको जातको अहं भूमिका छ ।

‘न बाह्रै महिना फल्ने मकैको जात विकास हुन्थ्यो, न सहरी क्षेत्रमा पोलेर मकै खाने संस्कृति भित्रिन्थ्यो’, चितवनको रामपुरस्थित राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमका वरिष्ठ मकै वैज्ञानिक डा.केशवबाबु कोइराला भन्छन्, ‘दिनहुँ रूपमा चामलकै परिकार खाएर दिक्क मानेका सहरीयावासी जिब्रोको स्वाद फेर्न पछिल्लो समय मकैको परिकार खान पल्के । त्यसमध्ये सबैभन्दा बढी रुचाइएको पोलेको मकै हो ।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय मकैवाली कार्यक्रम हो । सहरीवासीको जिब्रोको स्वाद फेर्न वर्षे मकैबालीको योगदान कमै छ । अहिले सहरका चोकचोकमा बाह्रै महिना तात्तातै पोलेको मकै नुन खुर्सानीको अचारमा चोपेर खान पाइन्छ । कुनै ठाउँमा २० रुपैयाँ, अनि कुनै ठाउँमा २५ रुपैयाँमा सजिलै पोलेको मकै सडक किनार र ठेलाबाट किनेर जिब्रो पड्काउँदै खान पाइन्छ ।

वैज्ञानिक कोइरालाका अनुसार आजभोलि १५ मंसिरदेखि पुससम्म मात्रै नगदे बालीको रूपमा परिचित मकैको उत्पादन हुँदैन । बाँकी सबै महिनामा मकैको खेती हुन्छ । अहिले पहाडी र र उच्च पहाडी क्षेत्रमा एकपटक र तराई, भित्री मधेस, फाँट, टार र बेँसीमा बाह्रै महिना मकैको खेती हुन थालेको छ ।

विज्ञहरूका अनुसार जस्तोसुकै जातको मकै पोलेर खान सकिन्न । पहेलो रंगको मात्रै पोलेर खाने चलन छ । अहिले अरुण–२, रामपुर कम्पोजिट, पोषिलो मकै एक, रामपुर हाइब्रिड–२, रामपुर हाइब्रिड–४, रामपुर हाइब्रिड–६, खुमल हाइब्रिड–२ जातका मकैको बिउ प्रयोग गरी उत्पादन गरिएका हरियो मकै पोलेर खाइन्छ ।

अब फलाइन्छ बाह्रै महिना मकै

‘पहिले फागुनदेखि असारसम्म मात्रै वर्षे बालीको रूपमा मकै फलाइन्थ्यो, हिजोआज खास गरी तराईसहित भित्री मधेस, फाँट, टार र बेँसीमा बाह्रै महिना मकैको बोट लहलहाउन थालेको छ’, वैज्ञानिक कोइरालाले भने ।

विज्ञकाअनुसार १० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको भूगोल मिलेको जुनसुकै स्थानमा उन्नतसहित स्थानीय जातका मकै फलाउन सकिन्छ । अहिले त स्थानीय जातबाट पनि हिउँदमा दुईपटकसम्म उत्पादन लिन सकिन्छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका अनुसार अहिले चितवन, नवलपरासी, बारा, पर्सा, धनुषा, उदयपुर, डोटी, डडेलधुरा लगायतको स्थानमा १२ महिना मकै उत्पादन गरिन्छ ।

घोघा लागेको हरियो मकैलाई पोलेर बिक्री गर्दा बजार पनि प्रसस्त पाइने र आम्दानी पनि उच्च हुने हुँदा किसानहरू पनि उत्पादन गर्न निक्कै हौसिएका छन् । खाद्यान्नको रूपमा यही मकै सुकाएर प्रतिकिलो २२ देखि २५ रुपैयाँमा बिक्री हुन्छ । नार्कले हालसम्म २७ वटा मकैको जात विकास गरेर सिफारिस गरिसकेको छ ।

स्वास्थ्यवर्धक पनि

मकै स्वादिलो, स्वास्थ्यवर्धक र सस्तो खाद्यान्न हो । यसको उपभोगले मानव शरीरलाई विभिन्न प्रकारका फाइदा पु¥याउँछ । मकैमा भिटामिन, फाइबर, म्याग्नेसियम, पोटासियम, भिटामिन ‘बी’, एन्टिअक्सिडेन्टसहित ल्युटेनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । उसिनेको मकै स्वास्थ्यका लागि सबैभन्दा उत्तम मानिन्छ ।

यसमा पाइने फाइबरका कारण यसको उपभोग गर्दा कब्जियतका साथै पेटसम्बन्धी समस्या समाधान गर्न उपयोगी हुन्छ । डायरिया र कोलन क्यान्सरजस्ता रोगबाट जोगाउन पनि ठूलो सहयोग गर्छ । यसले कोलेस्ट्रोल न्यूनीकरण गर्न पनि सहयोग गर्छ । आयरनको कमी भए पनि एनिमिया हुन्छ ।

यस्तो अवस्थामा हाम्रो शरीरका लागि मकै सर्वोत्तम विकल्प हुन सक्छ । यसले आइरनको कमीलाई सजिलै पूरा गर्न सक्छ । यसमा कार्बोहाइड्रेट पर्याप्त मात्रामा पाइने हुँदा यसले शरीरलाई प्रचुर मात्रामा शक्ति प्रदान गर्छ । अहिले संसारभर कोलेस्ट्रोलको समस्या निम्तिएको छ । मकैमा भिटामिन ‘सी’, वायोफ्लेभोनायड, क्यारोटेनायड र फाइबर हुन्छ ।

यसले गर्दा कोलेस्ट्रोल कम गर्नुका साथै धमिनीमा हुने अवरोधलाई समेत खोल्न सहयोग गर्छ । मुटुलाई पनि स्वस्थ्य राख्न यसले सहयोग गर्छ । यसमा भिटामिन ‘बी’ पाइन्छ । भिटामिन ‘बी’मा पान्टोफेनिक एसिड पाइन्छ, जसले कार्बोहाइड्रेट, लिपिड र प्रोटिन ग्रहणका लागि सहयोग प्रदान गर्छ । यसमा पाइने फेनोलिक फाइटोकेमिकल्सले उच्च रक्तचाप हुने समस्याबाट जोगाउँछ ।

मकैमा पाइने फाइबरले रगतमा ग्लुकोज जारी हुने क्रियालाई कम गरेर ब्लडसुगरलाई सामान्य राख्न सहयोग गर्छ । नियमित रूपमा मकै सेवन गर्दा नन इन्सुलिन डिपेन्डेन्ट डाइबिटिजलाई सहयोग गर्छ । यसका साथै यसमा पाइने एन्टि अक्सिडेन्ट र फ्लेवानायडले क्यान्सरको सम्भावनालाई पनि केही हदसम्म नियन्त्रण गर्न सहयोग प्रदान गर्छ । यसमा पाइने फेरुलिक एसिडले छाती र कलेजोको ट्युमरको साइजलाई कम गर्न पनि सहयोग गर्छ ।

गरिबी मिटाउने बलियो स्रोत पनि

यसरी बाह्रै महिना फल्ने मकैको बिउका कारण गरिबीको रेखामुनि रहेका ठूलो संख्यामा सर्वसाधारण रोजगारसमेत पाएका छन् । यसरी पोलेर मकै बेच्नेहरूले दैनिक रूपमा ठाउँअनुसार एक हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

कोटेश्वरमा ठेलामा हरियो मकै पोलेर बिक्री गर्दै आएकी गुल्मीका सुनिता घलेका अनुसार भिडभाडका अनुसार उनी दैनिक रूपमा २५ रुपैयाँका दरले दुई हजार रुपैयाँ बराबरको मकै पोलेर बिक्री गर्दै आएकी छन् । यसरी महिनामा घलेले ६० हजार रुपैयाँ बराबरको पोलेको मकैको कारोबार गर्छिन् ।

घलेले प्रतिगोटा हरियो मकैको घोघा सातदेखि १५ रुपैयाँमा किसानबाट खरिद गर्छिन् । घलेले सबै खर्च कटाएर मासिक रूपमा ५५ हजारसम्म खुद नाफा गर्दै आएकी छन् । ‘पोलेको मकै बेचेर नै घर व्यवहार चलाएकी छु’, घलेले भनिन्, ‘गर्न खोज्नेलाई स्वदेशमै प्रसस्त परिमाणमा रोजगारको व्यवस्था छ ।

मासिक ५०–६० हजार कमाउनलाई अरूको देशमा गएर ज्यान गुमाउनुभन्दा स्वदेशमै त्योभन्दा बढी आम्दानी गर्न सकिन्छ ।’ अहिले सहरमा पोलेर मकै खाने संस्कृति बढ्दै गए पनि दैनिक रूपमा कति मूल्य बराबरको कति परिमाणमा बिक्री हुन्छ भन्ने यथार्थ आँकडा भने कतै उपलब्ध छैन ।

आठ लाख हेक्टरमा मकै खेती

नेपालमा हाल आठ लाख हेक्टरमा मकैको खेती हुन्छ । पछिल्लो आर्थिक वर्ष ०७२–०७३ मा ८ लाख ९१ हजार ५ सय ८३ हेक्टरबाट २२ लाख ३१ हजार ५ सय १७ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

नेपालमा उत्पादन हुने मकैको परिमाणले नधान्दा भारतलगायत तेस्रो मुलुकबाट बर्सेनि आठ अर्बभन्दा बढी मूल्यको मकै आयात हुने अवस्थामा चुलिँदै गएको छ । पशुपन्छीलाई खुवाउन प्रयोग हुने प्यालेट दाना उद्योगलाई दैनिक १ हजार ४ सय मेट्रिक टन मकै आवश्यक पर्छ । दाना तयार पार्न ७० प्रतिशत मकै नै आवश्यक पर्छ ।

मकैको इतिहास

वनस्पतिको जी जाति(जीनस) समूहको वनस्पति मकै हो । यसको वैज्ञानिक नाम जी मेज हो । नेपालमा आजभन्दा २ सय २८ वर्षअघि मकै खेती हुने गरेको पाइन्छ । नेपालमा मकै भित्रिएको २ सय ५० वर्षदेखि तीन सय वर्ष भएको अनुमान छ ।

नेपालमा मकै खेती आज पनि उही परम्परागत रूपमा हुँदै आएको छ । यसले गर्दा उत्पादकत्व बढ्न सकेको छैन । नेपालमा प्रतिहेक्टरमा करिब दुई टनसम्म मकै उत्पादन हुन्छ । उत्तरी छिमेकी मुलुक चीनमा भने प्रतिहेक्टर करिब साढे ६ टन उत्पादन हुन्छ ।
मकै नेपालको प्रमुख खाद्यान्न बाली धानपछि दोस्रोमा आउँछ । पहाडी र हिमाली क्षेत्रमा यसको निर्वाहमुखि खेती हुन्छ । तराइमा भने व्यावसायिक रूपमा खेती हुन्छ । वैज्ञानिक कोइरालाका अनुसार मध्य पहाडी क्षेत्रमा उत्पादित मकैमध्ये करिब ८६ प्रतिशत स्थानीय बासिन्दाले प्रमुख खान्कीको रूपमा प्रयोग गर्छन् ।

तराईमा भने ८० प्रतिशत मकै गाईवस्तु र पन्छीको आहाराको रूपमा प्रयोग हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष ०७६–०७७ मा ९ लाख ५७ हजार ६ सय ५० हेक्टरमा २८ लाख ३५ हजार ६ सय ७४ टन मकै उत्पादन भएको थियो । आन्तरिक उत्पादन नपुगेर वार्षिक १६ अर्बभन्दा बढीको मकै अर्जेन्टिना, ब्राजिल, चीन, भारत, क्यानडा, इन्डोनेसिया, साउथ अफ्रिका, टर्की र अमेरिकाबाट आयात हुन्छ । मकैको पिठो, कर्न फ्लेक्स, मकैको पाउडरलगायत अन्य पदार्थ अझै ठूलो परिमाणमा आयात हुन्छ, यसको हिसाब यहाँ राखिएको छैन ।

प्रतिक्रिया