प्रगतिशील लेखक संघको अधिवेशन सम्पन्न

अर्घाखाँची । प्रगतिशील लेखक संघ नेपाल अर्घाखाँचीको नयाँ नेतृत्व चयन गर्दे तेस्रो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । लेखक संघको अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय परिषद् सदस्य बिजुला रायमाझीले सिंगो समाजलाई प्रगतिशील बाटोमा अगाडि बढाउने लेखक संघको महत्वपूर्ण भूमिका हुने बताइन् ।

प्रमुख अतिथिसमेत रहेका रायमाझीले कलमको माध्यमबाट समाजको अग्रगामी रूपान्तरणका लागि प्रगतिशील विचारका लेखकहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताइन् । समाजका सबैखालका विकृती विसंगतिहरूलाई प्रगतिशील लेखनमार्फत अन्त्य गर्नका लागि लाग्नुपर्ने भन्दै रायमाझीले श्रमजीवी सर्वहाराहरूको पक्षमा महत्वका साथ कलम चलाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

कार्यक्रमका विशेष अतिथि एवम् सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विकले राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणमा प्रगतिशील लेखनको महत्वपूर्ण भूमिका रहेको भन्दै विचार र दर्शन, कार्यक्रमअनुसार कम्युनिस्टहरूको गतिविधिलाई समेत सही बाटोमा हिँडाउन लेखकले सही विचार प्रवाह गर्नुपर्ने बताए ।

उपप्रमुख विकले जीवन, जगत र दर्शनलाई व्यवहारसँग जोड्दै सामाजिक न्याय समानताका लागि सशक्त तवरले चलम चलाउन सबै प्रगतिशील लेखकहरूलाई आग्रह गर्दै आफूले प्रगतिशील लेखक संघका सबै काम र क्रियाकलापहरूमा पूर्णरूपमा साथ सहयोग हुने बताए ।

कार्यक्रममा प्रगतिशील लेखक संघका प्रदेश सदस्य बुद्धि गैरे, प्रगतिशील लेखक तथा पाणिनी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, लेखक तथा निवृत्त राष्ट्रसेवक कर्मचारीका जिल्ला अध्यक्ष विष्णुप्रसाद भुसाल, लेखक तथा साहित्यकार शिला पोख्रेल, प्रगतिशील लेखक, कुलचन्द मरासिनी, लिला ढुंगानालगायत शुभकामना व्यक्त गर्दै प्रगतिशील लेखकको महत्व दिनानुदिन बढ्दै गएको भन्दै सबै प्रगतिशील लेखकहरू अझ कृयाशीलताका साथ लाग्नुपर्ने बताए ।

प्रगतिशील लेखक संघको तेस्रो जिल्ला अधिवेशनले कमल घिमिरेको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यकार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा बिजुला रायमाझी, सचिव भेषबहादुर क्षेत्री, सहसचिव हृदयकुमार भुसाल, कोषाध्यक्ष जीवनारायण कोइराला, सदस्यहरूमा भीमलाल आचार्य, कमल घिमिरे, माधबा भुसाल, कृष्णप्रसाद भुसाल, सविता आचार्य, इश्वरा पराजुली, माया ज्ञवाली, कुसुमा अधिकारी, मीना पन्थी, कमला गैरे भुसाल रहेको कार्य समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक ज्ञानबहादुर क्षेत्रीले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया