महिला दिवसमा महिला उद्यमी सम्मानित

अर्घाखाँची । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा ६ जना महिला उद्यमीहरूलाई सन्धिखर्क नगरपालिकाले नगद, प्रमाण पत्रसहित सम्मान गरेको छ । हिमाली तयारी चाउचाउका रमा केसी, मञ्जु केसी, रुक्मणी पराजुली, बसन्ता केसी सहितका उद्यमी सम्मानित भएका हुन् । ‘सामाजिक न्याय, लैंगिक समानता दिगो विकासको सुनिश्चिता’ भन्ने मूल नाराको साथ सन्धिखर्क नगरपालिकाले ११२आँै अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा लोकगीत प्रतियोगिता, महिला उद्यमी सम्मानसँगै विविध कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दे सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसालले महिलाहरू प्राकृतिक हिसाबले कमजोर भए पनि अधिकार र कानुनले बलियो बनाएको भन्दै सामाजिक न्याय, समानता र राजनीतिक परिवर्तनको आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण भएको बताए । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख भुसालले नगरपालिकाले सामाजिक समानता कायम गर्ने उद्देश्यका साथ पहिलो सन्तान छोरी जन्माउने आमालाई पोत्साहन स्वरूप नगद तीन हजार दिएको भन्दै अब महिला भनेर कमजोर होइन, दृढविश्वास, उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने बताए ।

नगरपालिकाले महिला श्रमिक तथा महिला उद्यमीहरूको सम्मान तथा प्रोत्साहनका विभिन्न कार्यक्रम अगाडि बढाएको हँुदा अब महिलाहरू उत्पादनमा जोडिँदै आर्थिक रूपमा पनि सबल हुनुपर्ने नगरप्रमुख भुसालले बताए । कार्यक्रममा नगर उपप्रमुख ठाकुरकुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नगर कार्यपालिका सदस्य श्रृजना विक वडाध्यक्ष नारायण खड्का, महिला संघका जिल्ला उपाध्यक्ष जानका बन्जाडे, एकीकृत अनेमंघका केन्द्रीय सदस्य, सुनिता बेल्वासे, अनेमंसघ क्रान्तिकारीका केन्दिय सदस्य कमला भण्डारी भुसाल, महिला नगर संजाल समन्वय समितिका राधा नेपाली, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, सबै उद्यमी सम्मानितहरूको तर्फबाट रुक्मिणी पराजुली लगायतका वक्ताहरूले शुभकामना मन्तब्य राख्दै महिला अधिकारको सुनिश्चिताका लागि सबै सरोकारवालहरूले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा समूहगत महिला समतासम्बन्धी लोकगीत प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा लालीगुँरास महिला समूह प्रथम, गीता शाहको समूह द्वितीय, सुमित्रा विक सुनार तृतीय तथा रीता मरासिनीको समूह सान्त्वना भएको थियो । सबैलाई विजयी प्रतियोगीलाई खादा, प्रमाण पत्र तथा नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरसभा सदस्य सुमित्रा मुखिया, हिमकला टमटा, नेपाल बार एसोसियनका पवित्रा भट्टराई विभिन्न महिला संघ संगठनका महिला नेतृ, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला अधिकारकर्मी तथा अधिवक्ता पवित्रा भट्टराईले महिला सबाल तथा दिवसको सन्दर्भमा कार्यपत्र पेस गरेकी थिइन् । कार्यक्रममा नगरकार्यपालिका सदस्य यमकला श्रेत्रीको अध्यक्षता महिला तथा बालबालिका तथा ज्येष्ठ नगारिक शाखाका प्रमुख बेलकुमारी परियारको स्वागत मनतब्य, महिला शाखाका तुल्सा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया