पृथ्वीनारायणले कीर्तिपुरमा कसैको नाक काटेका थिएनन् : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरको युद्धमा पृथ्वीनारायण शाहले कसैको पनि नाक नकाटेको दाबी गरेका छन् । आइतवार दहचोकमा आयोजित कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । वि.सं. १८२२ चैतमा पृथ्वीनारायणले कीर्तिपुर लडाइँ जितेपछि त्यहाँका नेवारहरुको नाक र ओठ काटेको आरोप लाग्दै आएको छ ।

‘कीर्तिपुरमा कसैको नाक काटिएको थिएन । युद्ध जितिसकेपछि कुनै पनि शासकले त्यहाँको जनताको, त्यहाँका रैतीको नाक काट्दै हिँड्दैन’, उनले भने, ‘जितिसकेपछि पनि त्यहाँका जनतालाई दु:ख दिँदै हिँड्ने कुरा हुँदैन ।’ उनले पृथ्वीनारायणको जिद्धीकै कारण तत्कालीन सेनापति कालु पाण्डे कीर्तिपुरको लडाइँमा मारिएको पनि बताएका छन् । सेनापतिको कुरा नमान्दा पृथ्वीनारायण पनि गिरफ्तारीमा परेको तर्क उनले गरे ।

प्रतिक्रिया