‘संशोधन नभइ कुनै पनि हालतमा एमसीसी पास हुँदैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले संशोधन नभइ कुनै पनि हालतमा एमसीसी सम्झौता पास नहुने बताएका छन् । काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संशोधन गरेर राष्ट्रिय हित हुने भए मात्रै एमसीसी अघि बढाउनुपर्छ । केही बुँदाहरु राष्ट्रहित विपरीतका छन्,’ उनले भने, ‘आर्थिक परियोजनाका रुपमा परिमार्जन गर्न तयार हुने कि नहुने भन्ने हो ।’

आर्थिक सहायता हो भने त्यो मोडलमा जानुपर्ने उनको भनाइ छ । ‘विगतमा पनि आर्थिक सम्झौताका रुपमा काम हुँदै आएका छन् । अहिले पनि त्यस हिसाबले जाने भन्ने हो भने एउटा कुरा भयो,’ गुरुङले भने, ‘सैन्य रणनीतिसँग जोडिएका विषय अलग गर्नुपर्छ नत्र पास हुँदैन ।’

आर्थिक परियोजना सरकारले सम्झौता गरेर कार्यान्वयन गर्ने प्रावधान भए पनि सदनबाट पास गर्नुपर्ने व्यवस्था राखिनु नै गलत भएको बताए । ‘हरेक सम्झौता सदनमा लैजाने हो भने अन्य आर्थिक सम्झौता पनि सदनमा लैजानुपर्ने हुन्छ त्यसले गर्दा भोलि समस्या निम्त्याउँछ,’ उनले भने ,‘अहिलेकै हिसाबले काम अघि बढाउने हो भने त्यो सार्वभौम अधिकार भन्दा बाहिर हुन्छ ।’ उनले परियोजनापिच्छे अलग अलग संरचना बनाउने र अधिकार दिने हो भने भोलि सबै परियोजनाले संरचना बनाउँदै जाने हो भने सरकार, विभाग र कसैको पनि औचित्य नै नहुने बताए ।

प्रतिक्रिया