खबरदारी अझै पुगेको छैन

आजदेखि सौर्य दैनिकले एक दशकको यात्रा पूरा गरेको छ । राष्ट्रियता, लोकतन्त्र, सुशासन र जनताको सुसूचित हुन पाउने हकको रक्षा तथा संवर्धनलाई व्यावसायिक पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने उद्देश्यका साथ हामीले ०६८ फागुन ७ देखि सौर्य राष्ट्रिय दैनिकको यात्रा सुरु गरेका थियौँ । यो एक दशकको अवधिमा हामीले निकै ठूलो उतारचढावको सामना गरेका छौँ । सफलता र असफलताको शृंखला पार गरेका छौँ । कुनै स्वार्थ समूहमा नजोडिइकन मात्र पत्रकारिताको उद्देश्य बोकेर अगाडि बढ्ने क्रममा असंख्य पीडाको पर्खाल पार गरेका छौँ । यी र यस्तै भोगाइले हामी अझ परिपक्व र थप जिम्मेवार बनेका छौँ ।

२००७ फागुन ७ मा सम्पन्न जनक्रान्तिले १ सय ४ वर्ष लामो जहाँनीया राणाशासन मात्रै अन्त्य गरेको थिएन, राष्ट्रियता, प्रजातन्त्र र सुशासनको नयाँ युग शुभारम्भ गरेको थियोे । तर, २००७ फागुन ७ मा भएको उपलव्धीले निरन्तरता पाएन । पञ्चायती व्यवस्थाले मुलुकलाई फेरि निरंकुशतातर्फ धकेल्यो । धेरै ठूलो संघर्ष र बलिदानीपछि ०४६ सालको जनआन्दोलनद्वारा बहुदलीय प्रजातन्त्र पुनवर्हाली भयो । तर, राजनीतिक स्थिरता आउन सकेन । जनताले मुलुक सञ्चालन गर्ने जिम्मेवारी दिएका दल तथा तिनका नेताहरू व्यक्तिगत स्वार्थमा लिप्त भए । भ्रष्टाचार तथा कुशासन बढ्यो । मूलधारका भनिएका राजनीतिक दल तथा तिनका नेताहरूकै गलत क्रियाकलापको सिकार ०४६ सालमा पुनस्र्थापित प्रजातन्त्र बन्यो ।

०६२/६३ को आन्दोलनले राजनीतिक रूपमा धेरै नै उपलव्धी दिए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आएन । संविधानसभाद्वारा नेपालको संविधान (२०७२) निर्माण भयो । संविधानले परिकल्पना गरेअनुसार संघीय, प्रदेश र स्थानीयतहमा समानुपातिक समावेशिता सहितको जननिर्वाचित सरकार बन्नु यो दशकको ठूलो राजनीतिक उपलव्धी हो । त्यसो त यो दशकमै मुलुकले महाविपत्तिको सामना पनि गर्नुपर्यो । ०७२ वैशाख १२ र २९ मा आएका ज्यादै ठूला विनासकारी भूकम्पले मुलुक तहसनहस बन्यो । भूकम्पको पीडाबाट तंग्रिन नपाउँदै छिमेकी मुलुक भारतले नाकाबन्दी लगाइदिँदा मुलुकले अर्को ठूलो आर्थिक क्षति बेहोर्नुपर्यो । विगत दुई वर्षदेखि त विश्वव्यापीरूपमा फैलिएको कोराना महामारीले हामी आर्थिक रूपमा क्षतविक्षत भएका छौँ ।

यो अवधिमा विश्वका कैयौँ विकासोन्मुख मुलुकहरूले फड्को मारिसकेका छन्, तर यो यो प्रगति गर्यौँ भनेर गौरव गर्न सक्ने अवस्थामा हामी छैनौँ । भूकम्पले ध्वस्त बनाएको जनताको आवास निर्माणको काम अझै सकिएको छैन । जनता अझै पनि पाल र छाप्रोमै छन् । हाम्रो राज्य संयन्त्र कतिसम्म कमजोर रहेछ भन्ने कुरा कोराना महामारीका क्रममा पुष्टि भइसकेको छ ।

जनताले आशा र विश्वास गरेर ठूला बनाइदिएका दलहरू दलगत स्वार्थमा मात्रै केन्द्रित भएनन्, दलभित्र पनि गुटगत स्वार्थ हावी भयो । गुटभित्र पनि उपगुट र उपगुटभित्र पनि व्यक्तिगत स्वार्थ हावी हुँदा देश र जनताका मुद्दा ओझेलमा परे । सत्ताधारीहरू माथिको खबरदारी अझै पुगेको छैन । खबरदारी नपुगेकै कारण जतासुकै स्वेच्छाचारिता बढेको छ । शासन व्यवस्था नै बद्नाम हुँदै गएको छ ।

त्यसैले व्यावसायिक पत्रकारिताको माध्यमबाट आफ्नो जिम्मेवारीलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता हामीले यो अवधिमा अझै बढी महसुस गरेका छौँ । व्यावसायिक पत्रकारिता र जिम्मेवार पत्रकारिता सँगसँगै अघि बढ्न सक्छ कि सक्दैन ? व्यावसायिकताका नाममा जिम्मेवारी नबिर्सने र जिम्मेवारीका नाममा व्यावसायिकता धरापमा पार्नु हुँदैन भन्ने हाम्रो मान्यता छ । जिम्मेवारी र व्यावसायिकता सौर्य दैनिकरूपी रथका दुई पांग्रा हुन् ।

हाम्रो प्रयासलाई पाठक वर्ग, विज्ञापनदाता एवं प्रत्यक्ष तथा अप्रत्यक्ष माध्यमबाट जुन प्रकारको सहयोग तथा हौसला प्राप्त भएको छ, त्यो नै हाम्रो शक्ति, सामथ्र्य तथा पुँजी हो । तसर्थ सौर्य राष्ट्रिय दैनिकको एघारौँ वार्षिकोत्सवका अवसरमा हामी पाठकवर्ग तथा विज्ञापनदाताप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यसैगरी निकै कठिन परिस्थितिमा पनि अहोरात्र काममा खटिएका पत्रकार तथा कर्मचारीहरू धन्यवाद र बधाईका खास पात्र हुन् । खासगरी कोरोनाको यो महामारीका क्रममा हाम्रा पत्रकार तथा कर्मचारी साथीहरूले आफ्नो ज्यान हत्केलामा राखेर जे जति योगदान पुर्याउनुभएको छ, त्यसप्रति हामी ऋणी छौँ ।

एघारौँ वर्ष प्रवेशको यो अवसरमा पुनः हामी आफ्नो लक्ष्यप्रति अविचलित रहने प्रण गर्दै सम्पूर्ण पाठकवर्ग, पिज्ञापनदाता, पत्रकार, कर्मचारी एव शुभेच्छुकप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

बोधराज त्रिपाठी
अध्यक्ष

प्रतिक्रिया