एमसीसीमा अझै जुटेन सहमति

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । सरकार उक्त बैठकमा जसरी भए पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता पेश गर्ने तयारीमा जुटेको छ । यसअघि बुधबार बसेको संसद बैठकमै सरकारले एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको थियो । सत्ता गठबन्धन दलहरुबीच नै सहमति जुट्न नसकेपछि सरकारको त्यो प्रयास असफल भएको थियो । शुक्रबारको संसद बैठकमा भने सरकार एमसीसी प्रस्ताव टेबल गर्ने तयारीमा छ । त्यसका लागि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार दिनभरजसो दौडधुप र छलफलमा व्यस्त रहे ।

प्रधानमन्त्री देउवा सत्तारुढ दलका शीर्ष नेताहरुलाई सहमत गराएर एमसीसी प्रस्ताव टेबल गराउन चाहन्छन् । यसका लागि उनले विभिन्न चरणमा सत्ता साझेदार दलका नेताहरुसँग छलफल पनि गरेका छन् । तर, सत्तारुढ दलका शीर्ष नेताहरुबीच बिहीबार साँझ भएको छलफलले पनि यस विषयमा कुनै निश्कर्ष निकाल्न सकेन । छलफलका क्रममा खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो अडानबाट टसमस हुन मानेनन् । बिहीबारको छलफलबाट एमसीसीको विषयमा ठोस निश्कर्ष नआएपछि यस विषयमा शीर्ष नेताहरुबीच शुक्रबार विहान पुनः छलफल हुने बताइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुखले बैठक बोलाएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार बिहान साढे ११ बजे बस्ने बताइएको छ ।

संसदको बैठक शुक्रबार दिउँसो १ बजेका लागि आव्हान गरिएको छ । बिहीबारको छलफलमा पनि प्रधानमन्त्री देउवाले शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी रहेको बताउँदै त्यसमा साथ दिन सरकारमा आबद्ध दलका नेताहरुलाई आग्रह गरेका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललेले अहिलेको स्थितिमा एमसीसी सम्झौताको प्रस्ताव संसदमा टेबल गरिए पनि त्यहाँ बहस गर्ने अवस्था नरहेको बताएका थिए ।

एमसीसी सम्झौता टेबल गर्नुअघि संसदको अवरोध खुलाउनुपर्ने धारणा उनले राखेका थिए । उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि प्रमुख प्रतिपक्षी दल एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । ‘लामो समयदेखि संसदको बैठक अवरुद्घ हुँदै आएको छ । यस्तो स्थितिमा त्यहाँ कुनै पनि वहस हुन सक्दैन । त्यसैले पहिले संसदको अवरोध खोलौं, त्यसपछि मात्र संसदमा एमसीसी प्रस्ताव संसदमा टेबल गर्दा उपयुक्त हुन्छ’, छलफलका क्रममा उनीहरुले भनेका थिए ।

छलफलका क्रममा अध्यक्ष प्रचण्ड र नेपालले अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेकाले एमसीसीको विषयमा पनि छलफल आवश्यक रहेको बताएका थिए । उनीहरुले आआफ्नो पार्टी बैठकमा छलफल गर्नुपर्ने भएकाले पनि अझ केही दिन पर्खन आग्रह गरेका थिए । बिहीबार भएको छलफलमा सत्तारुढ दलमध्येको एक जनमोर्चालाई भने बोलाइएको थिएन । जनमोर्चा एमसीसी सम्झौता खारेज गर्नुपर्ने पक्षमा रहँदै आएको छ । बिहीबारको छलफलमा प्रधानमन्त्री देउवाले फागुन १६ गतेभित्रै एमसीसी सम्झौता पारित गर्नुपर्ने समयसिमा रहेको स्मरण गराएका थिए ।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले बैठक बोलाएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार बिहान साढे ११ बजे बस्ने बताइएको छ ।

यसैगरी शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि संसद सचिवालयले बिहीबार सम्भावित दैनिक कार्यसूची निकालेको छ । उक्त कार्यसूचीमा एमसीसी सम्झौता टेबल गर्ने कार्यक्रम समावेश गरिएको छैन । संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी दैनिक कार्यसूचीको सम्भावित कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

बालकोट पुगे प्रधानमन्त्री
सत्तारुढ दलको बैठकमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटा पुगेका थिए । देउवाले संसदबाट एमसीसी सम्झौता पारित गराउन एमालेको साथ खोजेका छन् ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले एमसीसी संसदमा टेबल गुर्नअघि एमालेले जारी राखेको संसदको अवरोध हटाउनु पर्ने शर्त राखेकाले पनि प्रधानमन्त्री अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।


प्रधानमन्त्री देउवाले बिहीबार विहान पनि अध्यक्ष ओलीसँग सम्वादका लागि कांग्रेस नेता मिनेन्द्र रिजाललाई बालकोट पठाएका थिए । दिउँसो सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले पनि ओलीसँग टेलिफोनमा सम्वाद गरेको बताइएको छ । प्रधानमन्त्री देउवा कुनै पनि हालतमा एमसीसी सम्झौता संसदबाट पारित गर्ने योजनामा छन् । सत्ता साझेदार दलहरुले साथ नदिए प्रमुख प्रतिपक्षीसँग मिलेरै भए पनि एमसीसी सम्झौता अगाडि बढाउने संकेत उनले दिइसकेका छन् । स्रोतका अनुशार प्रधानमन्त्री वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि अगाडि बढ्ने ‘मुड’ मा देखिएका छन् ।

प्रतिक्रिया