एमसीसी सम्झौताको रोइलो : तातेको सडक र हच्किएका राजनीतिक दल

काठमाडौं । लगभग राजनीतिक दलहरुबीच सहमति जुटिसकेको थियो । सभामुखले पनि आफुलाई ‘अम्पायर’ को सँज्ञा दिइसकेका थिए । अथार्त सभामुखले राजनीतिक दलहरु सहमत भएर आफु सकारात्मक रहेको सन्देश दिएका थिए ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस एकजुट भएर आक्रामक रुपमा अगाडि बढेको थियो । प्रमुख प्रतिपक्षी दलले त निकैअघि आफैले नै संसदमा ‘प्रस्ताव ’ भित्राएको थियो । यस्तो अवस्थामा पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबारको प्रतिनिधिसभा बैठकमा टेबल हुन सकेन । एमसीसी सम्झौताका कारण बुधबार बसेको प्रतिनिधिसभा बैठकमात्र होइन, प्रमुख राजनीतिक दल पनि सकसमा परे । एमसीसीकै कारण बुधबार दिनभरजसो देशभरको अवस्था ‘असहज’ बन्न पुग्यो । सर्वसाधारण आन्दोलित बने भने सडक तात्न पुग्यो ।
परिणम, लामो समयदेखि नेपाली राजनीतिमा गतिलै चर्चा र चासोको विषय बनेको एमसीसी सम्झौता बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा टेबल हुन सकेन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अन्तिम समयमा आएर एमसीसी सम्झौता संसद बैठकमा टेबल गर्नबाट पछाडि हटे ।

अघिल्लो दिनसम्म सकारात्मक देखिएको सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले अन्तिम समयमा आएर साथ नदिएका कारण सरकारले एमसीसी सदनमा टेबुल गर्न नसकेको हो । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमै सरकारले संसदमा एमसीसी प्रस्ताव पेश नगरेको हो । माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि अध्यक्ष प्रचण्ड अप्ठ्यारोमा परेका थिए । त्यसपछि उनी प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । अध्यक्ष प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री देउवा पनि बुधबारको संसद बैठकमा एमसीसी टेबुल नगर्ने निर्णयमा पुगेका थिए ।


छिट्टै नै सत्तारुढ गठबन्धनको बैठक बसेर एमसीसीको विषयमा निर्णय लिने सहमति नेताहरुबीच जुटेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवा पछाडि हटेका हुन् । एमसीसी अनुमोदनका लागि आफुसँगै हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका प्रचण्ड अन्तिम समयमा आएर नकारात्मक बन्दा प्रधानमन्त्री देउवा पछाडि हटेको बताइएको छ । प्रचण्डले असहमति जनाउँदा पनि एमसीसी सम्झौता संसदमा टेबल गर्दा गठबन्धन टुट्न सक्ने र आफु अप्ठ्यारोमा पर्नसक्ने आँकलन देउवाले गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष आफै पनि दवावमा पर्दै आएका छन् । आफु एमसीसी सम्झौताको पक्षमा रहे पनि पार्टीकिा अन्य नेता÷कार्यकर्ताले साथ नदिएपछि उनी अप्ठ्यारोमा परेका छन् । संसदीय दलको बैठकको निर्णय समेत एमसीसी सम्झौताको विपक्षमा देखिएपछि उनी तत्काल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्यसमाथि सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरिसकेको अहिलेको स्थितिमा एमसीसी सम्झौता संसदमा टेबल गर्दा परिस्थिति प्रतिकुल हुने त्रास सबै राजनीतिक दलमा देखिएको छ । यहि मनोविज्ञानका कारण पनि प्रमुख राजनीतिक दलहरु यतिबेला खुलेर एमसीसीको पक्षमा अगाडि आउन सकिरहेका छैनन् ।

एमसीसीको विषयलाई लिएर लामो समयदेखि राजनीतिक दलसँगै बुद्धिजिवी र नेपाली समाज पनि विभाजित देखिन्छ । केही राजनीतिक दल जसरी भए पनि एमसीसी संसदबाट पास गर्नुपर्ने पक्षमा देखिएका छन् । केही राजनीतिक दलले भने एमसीसी राष्ट्रको हितमा नरहेकाले कुनै पनि हालतमा पास गर्नु नहुने अडान राख्दै आएका छन् । एमसीसीलाई लिएर एउटै राजनीतिक दलभित्र पनि नेताहरुबीच ‘मत विभाजन’ को स्थिति देखा परेको छ । राजनीतिक दलहरुले एमसीसीलाई आआफ्नै बुझाई र स्वार्थ अनुरुप ब्याख्या गर्दै आए पनि जनस्तरमा भने यसप्रति खासै सकारात्मक धारणा पाइँदैन । समाजको ठुलो हिस्सा पनि एमसीसीप्रति सकारात्मक देखिँदैन ।

अर्कोतिर, निकट भविष्यमा हुन लागेको स्थानीय निकायको निर्वाचनका कारण पनि दलहरु एमसीसीको विषयलाई लिएर थप दवावमा परेको पाइन्छ । सर्वसाधारमा एमसीसीप्रति नकारात्मक धारणा रहेकाले चुनावअघि यस विषयमा राजनीतिक दलहरु सोझै खुलेर आउन नचाहेको देखिन्छ । नेता, कार्यकर्ता र मतदाताको इच्छाविपरित अगाडि बड्न खोजे हरेक राजनीतिक दललाई निर्वाचनमा प्रतिकुल नतिजा आउन सक्ने त्रास छ । यस्तै अप्ठयारो परिस्थितिबीच प्रचण्डले देउवालाई एमसीसी टेबल नगर्न आग्रह गरेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु

‘शुक्रबार टेबल हुन्छ’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आगामी शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरिने बताएका छन् । उनले शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्न बुधबार र बिहीबार गठबन्धनका दलहरूबीच गहन छलफल हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री बडुले दुई दिनको छलफलपछि सत्तारुढ दलहरुबीच एमसीसीको विषयमा सहमति जुटाने धारणा पनि व्यक्त गरे । बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनकै दलहरूबीच एमसीसीबारे सल्लाह र सहमति आवश्यक देखिएका कारण एमसीसी प्रस्ताव टेबल नगरिएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एमसीसीको विषयमा छलफल भएको थियो । दुई शीर्ष नेताबीचको उक्त छलफलपछि एमसीसी प्रस्ताव टेबल नगर्ने सहमति बनेको थियो । सत्ता गठबन्धनमा रहेका पाँच दलबीच सहमति नभई एमसीसी प्रस्तावलाई टेबल गर्न नहुने धारणा गठबन्धन घटकहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले राख्दै आएका छन् । अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले एमसीसी पारित गर्न बुधबारसम्मको समयसिमा दिएको थियो ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल

‘जबरजस्ती पारित गर्नु हुँदैन’
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि एमसीसी सम्झौताको विपक्षमा देखिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनाल एमसीसी अध्ययन कार्यदलका संयोजक पनि हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै खनालले जब्बरजस्ती एमसीसी सम्झौता संसदबाट पारित गर्ने प्रयास नगर्न सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसलाई चेतावनी दिए ।

नेता खनालले एमसीसी सम्झौता नेपाली जनतालाई गुमराहमा राखेर गरिएको दाबी गरे । उनले आफ्नो पार्टी नेकपा एकिकृत समाजवादीले एमसीसी सम्झौता संशोधन नभई कुनै पनि हालतमा पारित हुन नदिने धारणा पनि व्यक्त गरे ।
‘एमसीसी सम्झौतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेका छन् । राष्ट्रहित विपरीतका त्यस्ता कुरालाई पारित गर्नु उपयुक्त हुँदैन । बल प्रयोग गरेर पास गर्छु भन्नु गलत हो’, नेता खनालले सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा भनेका छन् ।

नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेबल गर्ने प्रयास भए संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने जानकारी पनि दिए । आफुहरु सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पछाडि नहट्ने उनले बताए ।

शोक प्रस्ताव पारित गरेर बैठक स्थगित
प्रतिनिधिसभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमनसिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित गरेसँगै बैठक आगामी शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिएका थिए । बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।


करिब पाँच मिनेट बसेर बैठक स्थगित भएको थियो । नेकपा एमालेको नाराबाजीबीच सभामुख सापकोटाले बैठक अगाडि बढाएका थिए । प्रधानमन्त्री देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरे । नेकपा एमालेले विभिन्न माग राख्दै लामो समयदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ । तर, पछिल्लो पटक एमालेले नै बैठक निर्धारित समयभन्दा दुई दिन पछाडि सार्न आग्रह गरेको थियो । यसअघि प्रतिनिधिसभाको बैठक फागुन २ गते बोलाउने तय भएको थियो । तर, एमालेको आग्रहपछि बैठक दुई दिन पछाडि सारेर बुधबार बोलाइएको हो ।

एमसीसीविरुद्ध प्रदर्शन
सरकारले प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौताको प्रस्ताव टेबल गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दल र सर्वसाधारण दिनभर त्यसको विरुद्घमा सडक आन्दोलमा उत्रिएका थिए । एमसीसीको विरोध गर्दै आन्दोलनमा ओर्लिएका विभिन्न राजनीतिक दलका एक सय ५३ जना पक्राउ परेका छन् । एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएकालाई काठमाडौंको नयाँ बानेश्वर, माइतीघरलगायतको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

एक सयजनालाई नयाँबानेश्वरस्थित प्रदर्शनस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बन्दको आव्हान गर्दै हिँडेका ५३ जनालाई पक्राउ गरिएको जानकारी पनि महानगरीय प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौरले दिए । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, सिंहदरबार वृत, बानेश्वर वृतमा राखिएको पनि उनले बताए । सरकारले संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको उनले बताए ।

 

यसैगरी प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी नौजना प्रहरी घाइते भएको जानकारी पनि प्रहरीले दिएको छ । एमसीसी सम्झौता संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ कम्युनिस्ट पार्टीले बुधबार नेपाल बन्द नै घोषणा गरेको थियो ।

यसका अतिरिक्त अन्य राजनीतिक दलका नेता/कार्यकर्ता पनि एमसीसीको विरोध गर्दै सडकमा ओर्लिएका थिए । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठनका नेता÷कार्यकर्ता पनि प्रर्दशनमा उत्रिएका थिए । प्रर्दशनकारीलाई हौसला बढाउन माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि आन्दोलन स्थलमा पुगेका थिए ।

नेकपा एमालेका नेता भीम रावल

‘संसदमा छलफल हुनुपर्छ’
नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौताको विषयमा प्रतिनिधिसभामा छलफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताए ।
‘यति ठूलो महत्वपूर्ण राष्ट्रिय विषयमा नेपाली जनताबाट निर्वाचित हामी जनप्रतिनिधिले एमसीसीका ती दफाहरु राख्न पाउनु पर्छ । यसैगरी जनताले पनि एमसीसी सम्झौताको विषयमा संसदमार्फत थाहा पाउनु पर्छ’, कुराकानीका क्रममा उनले भने ।

नेता रावलले कतै संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भनेर आफूले विगतमा पनि प्रश्न उठाएको बताए । हाल रावलकै दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । ‘नेपाल सरकारका कतिपय कुराहरु खुरुखुरु पारित भएर जाने । राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतासँग जोडिएको यत्रो संवेदनशील विषय र नेपाली जनताको सरोकारको विषयमा भने छलफल गर्न नपाउनु उचित होइन’, नेता रावलले भनेका छन् ।

एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै नेता रावलले आफुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती समेत दिएका छन् । ‘मैले उठाएका कुराहरु एमसीसी सम्झौतामा उल्लेख गरिएको छैन भनेर कसैले खण्डन गर्नसक्नु भएको छैन । सबै कुरा स्पष्ट पारेर मात्र एमसीसी सम्झौताको विषयमा ठोस निर्णय लिनु उचित हुन्छ’, उनले भने ।

प्रतिक्रिया