एमसीसी टेबुल गर्न सहमति जुटाउने प्रयास जारी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा प्रवेश गराउने विषयमा निरन्तर प्रयास भएको र सहमति जुटाउन पर्सीसम्मका लागि समय निर्धारण गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा मन्त्री बडुले एमसीसीबारे सडकमा उठेका बहस र विवादलाई टुङ्गोमा लानका लागि पनि सो प्रस्तावलाई संसद्मा लानुपर्ने बताए । मन्त्री बडूले भने, शयो विषयलाई संसद्मा प्रवेश गराउने र छलफलमा लाने हाम्रो उद्देश्य हो, छलफलका निमित्त दललाई अझै केही समय चाहिन्छ भन्ने आएकाले थप सहमति जुटाएर अबको बैठकमा टेबल गर्ने सहमति बनाउँदैछौँ ।’

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते शुक्रबार दिउँसो १ बजे तोकिएको छ भने सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक ५ गते दिउँसो बोलाइएको छ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले जनतालाई गुमराहमा राखेर एमसिसी सम्झौता गरिएकाले त्यसमा संशोधन नभएसम्म प्रस्ताव अघि बढ्न नहुने अडान राखे ।

उनले भने, ‘कतिपय विषयमा दशौँ वर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिस्कृत हुन्छ, परिमार्जन हुन्छ, बदलिन्छ, अनिमात्रै सहमति हुन्छ, असहमतिका विषयमा बल प्रयोग गरेर हुन्छ ?’ सडकमा विरोध र सरकारमा पनि बस्ने कुरा एकैसाथ हुन्छ र भन्ने पत्रकारको प्रश्नमा पूर्वप्रधानमन्त्री खनालको जवाफ थियो, ‘किन नहुनु मज्जाले हुन्छ । यहाँ भइरहेको छ देख्नुभएन ?’

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले एमसिसी राष्ट्रिय सरोकारको विषय भएको र प्रतिपक्षी दल अहिले पनि विरोधको स्थितिमा रहेकाले सबैको सहमतिमा अघि बढ्न दल एकै ठाउँमा बसेर छलफल नगरिकन अघि नबढौँ भन्ने आफ्नो आग्रहबमोजिम आजको बैठकमा सो प्रस्ताव पेश नभएको बताइन् ।

उनले भनिन्, ‘गठबन्धनभित्रका कुनै दलले सो प्रस्तावबारे आफ्नो निर्णय गर्न सक्ने र अरु दलले त्यसलाई नमान्न पनि सक्छ, प्रतिपक्षको अवरोध कायम रहेकाले पनि आज टेबुल गर्नतिर गइएन ।’

प्रतिक्रिया