सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बसेको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा केही बेर अघिबाट सुरु भएको बैठकमा एमाले भने सहभागी छैन ।

एमालेले यसअघि पनि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । त्यसैगरी आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले कारबाही गरेका १४ सांसदको सूची सूचना पाटीमा टाँस नगरेको भन्दै एमालेले सभामुख सापकोटाको विरोध गर्दै आएको छ ।

आज जारी सर्वदलीय बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोलगायतका दलका प्रतिनिधि सहभागी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि आज सभामुखको पहलमा सर्वदलीय बैठक बसेको हो ।

प्रतिक्रिया