मोडलिङमा रीनाको फड्को

काठमाडौं । मोडलिङ क्षेत्रमा लागेर छोटो समयमा सफलता हासिल गर्ने कमै कलाकार पर्छन् । प्रतिभा र लगावले केहीले भने छाेटो समयमै फड्को मारेको उदाहरण पनि छन् । यसरी छोटो समयमै फड्को मार्ने मोडलका रुपमा रीना थापामगर परिचित छन् ।

उनले दश वर्षको अवधिमा झण्डै दुई हजारको हाराहारीका गीति भिडियोमा नृत्य तथा अभिनय गरेको जनाइन् । मौलिक परम्परागत संस्कृतिमा रमाउने मानवीय स्वभाव नै हो । हरेक नेपाली आफ्नो मौलिक परम्परा तथा गीत संगीतको माध्यमबाट मनोरञ्जन लिइरहेको पाइन्छ ।

उनीहरुले प्रविधिको विकाससँगै विभिन्न माध्यम र तरिकाले मनोरञ्जन लिइरहेका छन् । त्यसमध्येमा लोकदोहोरी, झ्याउरे, कौडा, सालैजो गीत तथा यसमा कलाकारले गरेका मौलिक क्रियाकलाप र नृत्य–अभिनय देशका गाउँघरदेखि सहरमा अत्यधिक रुचाइएको पाइन्छ ।

एक दशकदेखि यस क्षेत्रमा सक्रिय रीनाले लोकदोहोरी, झ्याउरे, कौडा, सालैजो लगायतका गीतका भिडियोमा अभिनय गरेको सुनाइन् । काभ्रेको पाँचखाल नगरपालिका–१३ कोशीदेखामा बुवा लिलाबहादुर थापामगर र आमा इन्द्रकुमारीको कोखबाट जन्मिएकी रीनाले सानै उमेरदेखि यस क्षेत्रमा रुचि भएको बताइन् ।

परिवारको साथ र सहयोगले आफूले यस क्षेत्रमा सफलता हासिल गरेको उनले सुनाइन् । उनले भनिन्, ‘सानैदेखि म्युजिक भिडियो हेरेर नाच्ने गरेको थिएँ । घरमा आमाबुवा र छरछिमेकले पनि राम्रो भनेर प्रशंसा गर्नुहुन्थ्यो । पछिपछि अझै आफूलाई निर्खादै अगाडि बढे र सफल पनि भएँ ।’

उनले आफ्नो नाच राम्रो देखेपछि आमाबुवाको इच्छा पनि छोरी मोडल बनेको देख्ने रहर भएको सुनाइन् । सुरुवातमै नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘प्रतिभाको आँगन डान्स रियालिटी सो’ प्रथम भएर एक लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेको रीनाले जानकारी दिइन् ।

प्रारम्भिक शिक्षा गाउँमै गरेकी उनले काठमाडौंस्थित पद्मकन्या क्याम्पसबाट नृत्य विषयमा नै स्नातकोत्तर गरेकी छन् । करिब दर्जनको हाराहारीमा विभिन्न म्युजिक अवार्ड हात पारेकी मोडल रीना स्टेज सोका लागि जापान, युएई, कोरिया, मलेसिया, कतार, हङकङ लगायतका देशमा पुगेकी छन् ।

गीति भिडियोका लागि नृत्यमा रीना निर्देशकको पहिलो रोजाइमा पर्छिन् । कुशल डान्सर मात्रै बन्ने लक्ष्य लिएकी उनले ‘प्रतिभाको आँगन डान्स रियालिटी सो’ मा प्रथम भएपछि धेरै ठाउँबाट गीति भिडियोमा काम गर्ने अवसर आएकाले लोकदोहोरीको डान्सिङ बिटका भिडियोमा बढी काम गरेको बताइन् ।

‘सुरुमा त डान्सर मात्रै बन्ने सोचेकी थिएँ, रियालिटी सोमा प्रथम भएपछि म्युजिक भिडियोमा बढी नै काम गर्ने अवसर आयो’, उनले भनिन्, ‘आमाबुवाको इच्छा पनि म सफल कलाकार भएको देख्नु थियो । अहिले त्यसैमा व्यस्त भएको छु ।’

प्रतिक्रिया