गायनदेखि समाजसेवामा सक्रिय सिन्धु

काठमाडौं । झण्डै साढे दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सिन्धु मल्लले सयौं गीत गाइसकेकी छन् । गायनसँगै पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । गायिका मल्लले गायन र प्रत्यक्ष बाढीपीडितलाई विभिन्न समयमा सहयोगसमेत गरेको बताइन् ।

उनले महिला हिंसा, लागूऔषध र जातीय छुवाछुतविरुद्धका गीत गाएर जनचेतना जगाएको सुनाइन् । गायिका मल्लले २०५४ सालदेखि गायन यात्रा तय गरेकी हुन् । उनले आफ्नो पहिलो बालगीत ‘पढ्नु भनेको के हो’ बोलको गीत ल्याएको सुनाउँदै गायक बद्री पंगेनीसँगको सहकार्यमा आएको ‘ससुरालीमा’ बोलको लोकदोहोरी गीत सुरुकै सर्वाधिक बजारमा चलेको बताइन् ।

लामो समयदेखि व्यवसायिक रुपमै गायनमा सक्रिय गायिका मल्ल सफलताका साथ अघि बढिरहेकी छन् । उनी सांगीतिक कार्यक्रमका लागि थुप्रै मुलुकसमेत पुगेकी छन् । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै कलाकारको सांगीतिक कार्यक्रम रोकिएको छ ।

दाङको प्रसडुवामा जन्मिएकी गायिका मल्लले प्रारम्भिक शिक्षा दाङबाट र बाँकी शिक्षा भने राजधानीको रत्नराज्य माविबाट तथा उच्चशिक्षा ललितकला क्याम्पसबाट पूरा गरिन् ।

उनले संगीतमा ललितकला क्याम्पस र कलानिधि इन्दिरा संगीतमा महाविद्यालयमार्फत भारतको इलाहावाद युनिभर्सिटीबाट डिप्लोमा गरेको बताइन् । भर्सटाइल गायिका मल्लले लोकगीत, लोकदोहोरी, आधुनिक, चलचित्र, शास्त्रीय, पप, कल्चरल, देउडालगायतका थुप्रै विधाका गीतमा आवाज दिएकी छन् ।

उनले सांगीतिक कार्यक्रमका लागि अमेरिका, जापान, बेलायत, क्यानडा, अस्ट्रेलिया, रसिया लगायतका देश पुगिसकेको बताइन् । गायनमा योगदान दिएको भन्दै उनलाई दर्जनौं संघसंस्थाले सम्मान तथा पुरस्कृत गरेका छन् । साथै, गायिका मल्लले थुप्रै सांगीतिक कार्यक्रममा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेको सुनाइन् ।

अहिलेसम्म करिव पाँच हजारभन्दा बढी गीतमा आवाज दिएको सुनाउँदै गायिका मल्लले हाल दुईवटा गीत रेकर्ड गरेर भिडियो निर्माणको क्रममा रहेको जानकारी दिइन् । गायिका मल्लले नेपालका प्रायः सबै सफल गीतकार तथा संगीतकारसँग काम गरिसकेकी छन् ।

‘अझै पनि यस क्षेत्रमा विद्यार्थी नै छु, सिक्नेक्रम जारी छ’, उनले भनिन्, ‘कुनै पनि क्षेत्रमा लाग्नेहरुलाई अध्ययन जरुरी छ ।’ गायिका मल्लका श्रीमान् सुदाम थापा संगीतकार हुन् भने छोरा सक्षमले पनि संगीत सिक्दै गरेका छन् । सक्षम सानै उमेरको भए पनि केही गीतमा संगीत भरिसकेको सुदामले बताए । उनले भने, ‘छोरा सानै छ, तर मैले नै संगीत सिकाउँदै छु ।’

प्रतिक्रिया