घरबहाल कर उठाउँदै सिमकोट

हुम्ला । जिल्लाको सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । उसले सार्वजनिक सूचना जारी गर्दै कर उठाउन सुरु गरेको हो । गाउँपालिकाले चालु आव घरबहाल करबाट २० लाख संकलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । घरबहाल करको दर भने १० प्रतिशत निर्धारण गरिएको छ । चालु आवको कुल बजेट ४७ करोड २७ लाख ८६ हजार रहेको गाउँपालिकाले आन्तरिक आय २० लाख उठाउने लक्ष्य राखेको छ भने यस लक्ष्यमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आव अभियानकै रूपमा घरबहाल उठाउने भएको छ । सोही गाउँपालिकाका लेखाप्रमुख विशाल बोहराले भने, ‘गाउँपालिकाभित्र रहेका सरकारी, गैरसरकारी संस्था, वित्तीय संस्था व्यवसायहरूबाट घरबहाल कर सठाउने कार्य सुरु भएको छ ।’ सरोकारवाला पक्षसँग छलफल गरेपछि कर तिर्नुपर्ने व्यक्ति तथा संस्था उक्त कर तिर्न सहमत भएको उनले बताए ।

गाउँपालिका कर उठाउन सुरु गरेको पहिलोपटक चार वटा वित्तीय संस्थाले घरबहाल कर दाखिला गरेको उनले बताए । चालु आर्थिक वर्षमा ४० देखि ५० सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी र होटेल व्यवसायीबाट उक्त कर असुली हुने भएको छ । यस्तै गाउँपालिकाले दोस्रो चरणमा सबै व्यवसायी, व्यक्तिलाई पनि अनिवार्य रूपमा घरबहाल कर तिर्न प्रचारप्रसार गर्ने भएको छ । तेस्रो र चौथो चरणमा घरभाडामा दिने व्यक्तिसँग गाउँपालिकाले छलफल गर्ने भएको छ । यो वर्ष परीक्षणका क्रममा रहेकाले आव ०७९/८० देखि अनिवार्य गरिने गाउँपालिकाले बताएको छ । आन्तरिक स्रोतको आम्दानी निकै कम भएको सिमकोट गाउँपालिकामा घरबहाल कर संकलन गर्न थालिएपछि गाउँपालिकाको आम्दानीसमेत वृद्धि हुने भएको छ ।

यस्तै खार्पुनाथ गाउँपालिकाले चालु आवभित्रै सुरु गर्ने जानकारी दिएको छ । अन्य पाँच वटा गाउँपालिका नाम्खा, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोटले चाडै सुरु गर्ने जनाएका छन् । संविधानले घरबहाल करलाई स्थानीय तहको अधिकार क्षेत्रभित्र पारेको छ । सोही बमोजिम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले पनि घरबहाल करको संकलन अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारलाई प्रयोग गरी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट पारित गरिसकेका छन् । घरबहाल कर स्थानीय तहको राजस्वको महत्वपूर्ण स्रोत मानिन्छ ।

प्रतिक्रिया