कर्णालीका एक सय सहकारीको क्षमता विकास गरिने

काठमाडौं । कर्णाली प्रदेशका आठ वटा जिल्ला (सल्यान, जाजरकोट, जुम्ला, दैलेख, कालिकोट, पश्चिम रुकुम, सुर्खेत र मुगु) का १ सय वटा सहकारी संस्थाहरुको क्षमता विकास लागि सरकार र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सझौता भएको छ । नेपाल सरकारले सञ्चालनगरेको कृषि क्षेत्र विकास कार्यक्रममार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघले कर्णाली प्रदेशका १० जिल्लामा सहकारीको क्षमता विकास गरि वित्तिय संस्थागत आवद्ध गराउने विषयमा शुक्रबार सम्झौता भएको छ । ३ वर्ष सम्म सञ्चालन हुने यस कार्यक्रममार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघले कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा वसोवास गरिरहेका गरिव तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्यहासिल गर्न सहयोग गर्ने छ ।

कार्यक्रममार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघले संस्थाको संस्थागत क्षमता विकास, सदस्यहरुको सचेतना वृद्धि, वित्तिय साक्षरतालगाएतका क्षेत्रमा सहयोग गरी सक्षम संस्था निर्माण गर्ने छ, भने साना किसान विकास लघुविक्त वित्तिय संस्थाले वित्तिय सहायता गर्ने जनाइएको छ ।

संस्था र सदस्यहरु सक्षम बनिसके पछि व्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने कर्जा प्रवाहको काम साना किसान लघुवित्त वित्तिय संस्थाले गर्ने छ । सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्टराई र परियोजनाको तर्फबाट भोजराज सापकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, सह–सचिवहरु, नेपाल कृषि सहकारी केन्द्रीय संघ एंव साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइराला, नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्टराई, नायवमहाप्रवन्धक मीना पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव शर्माले कर्णाली प्रदेशमा वित्तिय पहुँचको सिमितता रहेका कारण सहकारी मार्फत सञ्चालन हुने कार्यक्रमको धेरै प्रभाव रहने बताए । उनले सहकारी मार्फत सदस्यहरुको आयमूलक गतिविधिमा संलग्नता बढाउँदै त्यस क्षेत्रको आर्थिक, सामाजिक, सचेतनाको स्तर वृद्धिका लागि यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ एंव साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सहकारीले चेतना, सिप, पूँजी र प्रविधि हस्तान्तरणको काममा उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै यस कार्यक्रमलाई पनि कर्णाली प्रदेशमा सफलबनाउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी कार्यक्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोईरालाले कर्णाली प्रदेशको गरिबी निवारणमा यस कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । उनले यस कार्यक्रममा आफुहरु पनि जोडिन पाएकोमा खुसी व्यक्त गर्दै साना किसान र कृषि सहकारीमा संलग्न सदस्यहरुको जीवन रुपान्तरणका लागि सरकारले बजेट परिचालन गर्दा विशेष ध्यानदिनु पर्ने आवश्यकता समेत औल्याए ।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्टराईले नेपालको ग्रामिण क्षेत्रका किसानहरुलाई जोड्दै अगाडि बढेको केन्द्रीय संघले सरकारसँग सहकार्य गर्न पाउनु सुखद् पक्ष रहेको बताए । उनले अहिले पनि संघले पछाडी परेका दलित, महिला, मुसहर, राउटे, बनकरीयालगायतलाई सहकारीमा संलग्न गराई जीवन रुपान्तरणमा काम गरेको स्मरण गराउँदै कर्णाली प्रदेशमा पनि यस अभियानलाई सफलबनाउने प्रतिवद्धता व्यक्त गरे ।

एएसडिपि कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा वित्तिय पहुँच, प्रविधि, ज्ञान, सिप र सचेतनाको विकास गरी त्यस क्षेत्रमा उत्पादन हुने कृषि तथा पशुजन्य सामग्रीको बाजारीकरण मार्फत आर्थिक रुपान्तरणका लागि सहयोग गर्ने कार्यक्रम सञ्चालन हुनेछन् । यस कार्यक्रममार्फत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ७५ हजार घरधुरी लाभाविन्त हुने बताइएको छ ।

प्रतिक्रिया