मलको नाममा किटनाशक औषधि !

बारा । जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा शिलबन्दी गरिएको छ । स्थानीय प्रशासनले शिवशक्ति बायोप्लान्टिक प्रालिमा शिलबन्दी गरी थप अनुसन्धान सुरु गरेको हो ।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित प्रालिको कारखानामा शिलबन्दी गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले दिए । जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर विषादी किटनाशक औषधि उत्पादन गरिरहेको आरोप उक्त उद्योगमाथि लगाइएको छ ।

यस विषयमा अनुसन्धान थालिएको र उद्योगका सबै कागजात माग गरिएको जानकारी पनि सहायक प्रमुख जिल्ला अधिकारी सेढाईँले दिए । इलाका प्रहरी कार्यालय भण्डारा चितवनले गत माघ १ गते करिब नौ लाख ८० हजार रुपैयाँ बराबरको अवैध किटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि यस सम्बन्धि घटना सार्वजनिक भएको थियो ।

उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवलगायतको लगानी रहेको छ । अनुमतिबिना किटनाशक औषधि उत्पादन गरी किसानलाई ठगी गरेको आरोप उद्योगमाथि लागेको छ । उद्योगका कुनै पनि सञ्चालक हालसम्म सम्पर्कमा नआएको पनि जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया