भूमिआयोगले १८ माघबाट काम गर्ने

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही १८ माघबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेको हो । सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइट सहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उनले जानकारी दिए । भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने उनले बताए । काम सुरु गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने तिमिल्सिनाले बताए । तत्कालीन जिल्ला विकास समितिका उपसभापतिसमेत भइसकेका तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे ।

प्रतिक्रिया