अनुमतिबिना तस्विर–भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्विर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्विर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति–अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

सार्वजनिकस्थलमा ख्याल ठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्याल ठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्न सक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्विर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो ।

प्रतिक्रिया