अबैध डलर कारोबारमा चारजना विरुद्ध ३७ करोड ६४ लाखको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले चारजना विरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ मागदाबी सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । कैलाली लम्कीचुवा १० स्थायी ठेगाना भएका हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, वुवा नर वहादुर खड्का र उनकी केटी साथी अनिता धितालविरुद्ध भिागले मुद्दा दर्ता गरेको हो ।

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय ऐन, २०१९ अनुसार मुद्दा दायर गरेको जनाएको छ । उनीहरुले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स इस्क्रिल तथा बाइनान्स प्रयोग गरी अमेरिकी डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरे कसुर बिभागले लगाएको छ । दिनेश खड्काले इस्क्रिल तथा बिन्यान्स मार्फत् रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोवल बैंकसमेतबाट ९ करोड ७१ लाख ९८ हजार ५८१ रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ करोड ७७ लाख ६ हजार, भगवती खड्काको एन. आई. सि. एशिया बैंक समेतबाट २० करोड ४२ लाख ९४ हजार ५२६, नरबहादुर खड्काको ग्लोवल आई. एम.ई. बैंकबाट १ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार गरेको बताइएको छ ।

उनीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्ट, बरामद मोबाइलका डाटा, कल डिटेलका प्रमाणबाट मोबाइल एप इ–स्क्रिल तथा बाइनान्सको प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको खुलेको बताइएको छ । उनीहरुले विदेशी विनिमय ऐन, २०१९ को दफा ३ को उपदफा १, दफा ४ को उपदफा १, दफा ५ को उपदफा १ र दफा १२ र नेपाल राष्ट्र बैंकको सूचनाअनुसार समेतले निषेधित कसूर गरेको पुष्टि हुने बिभागले बताउको छ । त्यस्ता ब्यक्तिहरुलार्इँ सोही ऐनको दफा १७ को उपदफा १ बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा ९ बमोजिम ३ वर्षसम्मको कैद सजायको मागदावी गरिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया