आहा—रारा गोल्डकप : सेमिफाइनलमा पुग्यो आर्मी

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी ‘२०औं आहा—रारा गोल्डकप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबले मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी थ्री स्टार क्लबमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । जितसँगै आर्मी क्लब सेमिफाइनलमा पुगेको हो । पोखरा रंगशालामा भएको खेलमा आर्मी क्लबलाई जित दिलाउन राजिव गुरुङले निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसैले आर्मी क्लबले सेमिफाइनलको यात्रा तय गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । खेलको ७०औं मिनेटमा आर्मीका लागि राजिवले निर्णायक गोल गरेका थिए । थ्री स्टारका डिफेन्डरको गल्तिको फाइदा उठाउँर्द जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका हुन् ।

अब सेमिफाइनलमा आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पाँच पटकको च्याम्पियन थ्री स्टार भने उपाधि होडबाट बाहिरिएको छ । मनाङ भने क्वार्टरफाइनल खेलमा विभागी टोली नेपाल पुलिस क्लबलाई २—० गोलले हराउँदै अन्तिम चारमा पुगेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कार प्रदान गरिने छ । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा।लि।को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । यसैगरी सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया