काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी संगठनको तालाबन्दी

काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थी मंसिर १९ गतेदेखि अतिरक्त शुल्कको विरोधमा आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठन सहित एमाले निकट अनेरास्ववियुले पनि ऐक्यवद्धता जनाउँदै आएको छ ।

विद्यार्थी संगठनले तोकेभन्दा बढी शुल्क नलिन प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँणको ध्यानार्कषण गराउँदै आएका छन् । यद्यपि कलेज संचालक सुनिल शर्माले अतिरिक्त शुल्क लिने अडान छाडेका छैनन् ।

विराटनगरमा पनि अतिरिक्त शुल्कको विरोधमा दैनिक आन्दोलन हुँदै आएको छ । आन्दोलनलाई थप सशक्त बनाउन नोबेलका केही विद्यार्थी काठमाडौंसमेत आएर धर्ना र प्रर्दशन गरेका छन् ।

पीडित विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा समेत धर्ना दिएका छन् । कलेज संचालक शर्मालाई गिरफ्तार गिरी ठगी विरुद्ध कारबाही चलाएर कलेजमा पठनपाठनको वातावरण बनाउनुपर्ने विद्यार्थीको माग छ ।

नेविसघंका महामन्त्री बलदेव तिमल्सिना, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, हरिकृष्ण गजुरेल, प्रकाश शाहीको उपस्थितिमा ताला लगाइएकाे हाे ।

प्रतिक्रिया