दक्षिण अफ्रिकामा सिंह र प्युमालाई कोभिड !

एजेन्सी । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोना भाइरस सरेको छ । तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनपछि बताएका छन् ।
वैज्ञानिकहरूले यदि भाइरस जनावरमा फैलिरह्यो अनि मानिसमा स¥यो भने नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औँल्याउँदै सचेत हुन आग्रह गरेका छन् । चिडियाखानाका ती जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखापर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए ।

उनीहरूलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो । उनीहरूमा देखिएको लक्षण मानिसमा देखिने जस्तै हो । प्युमा बिरालो परिवारको एक प्रजाति हो । उसमा पनि कोरोना भाइरस सरेको बताएको छ । जनावरमा गरिएका परीक्षणमा कोरोना भाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन् । अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण फैलिरहेको तर उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए । वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन् । यो अनुसन्धान समकक्षीहरूले समीक्षा गरेर प्रकाशित हुने जर्नल भाइरसेसमा प्रकाशित भएको छ । (बिबिसी)

प्रतिक्रिया