जसपाको विज्ञप्ति : सीके राउतलाई चेतावनी, मन्त्रीको बिवादास्पद अभिब्यक्तिबारे मौन

काठमाडौं । जनता समाजवादी पार्टीले नेतृ तथा संघीय सरकारकी भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवको बचाउ गरेको छ । हिंसात्मक अभिव्यक्तिका कारण मन्त्री यादवको आलोचना भइरहेको समयमा जनता समाजवादी पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्टो जनमत पार्टीलाई चेतावनी दिइएको छ । विज्ञप्तिमा सीके राउत नेतृत्वको जनमत पार्टीको आपराधिक एवं गैरराजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । माघ ५ गते बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनका लागि जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधारमन्त्री रेणु यादव रौतहट पुगेको बेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको जसपाले जनाएको छ ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताले सुनियोजित ढंगबाट लाठी, भाटा र ढुंगा लिई कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतंक मच्चाउने र हिंसा भड्काउने काम गरेको दाबी जसपाले विज्ञप्तिमा गरेको छ । यद्यपि मन्त्री रेणु यादवले जनमत पार्टी र त्यसका अध्यक्षविरुद्ध दिएको अभिव्यक्तिबारे पार्टीले केही बोलेको छैन । मन्त्री यादवले रौतहटमा आफ्नो मन्तव्य राख्ने क्रममा अर्को गौर घटना हुने चेतावनी दिइएकी थिइन् ।

के हो गौर घटना ?
२०६३ साल चैत ७ गते भएको गौर घटना त्यही हो, जहाँ २७ जनाको हत्या भएको थियो । तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच एउटै स्थानमा कार्यक्रम गर्ने हठले सो घटना निम्त्याएको थियो । जहाँ माओवादीका २७ जनाको हत्या भएको थियो । ‘मृतकहरु सबैको टाउकोमा गहिरो चोट देखिन्थ्यो’, उक्त घटनाको अध्ययनपछि इन्सेकले जारी गरेको प्रतिवेदनमा भनिएको छ, ‘उनीहरुलाई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरिनुका साथै आगोसमेत लगाइएको थियो ।’

यसरी २७ जनाको नृसंश हत्याका दोषीले १३ वर्ष वितिसक्दा पनि का्वाही भोग्नु परेन । मन्त्री यादव तत्कालिन अवस्थामा पनि मधेसी जनअधिकार फोरमकी नेतृ थिइन् । बरु १३ वर्षपछि उनैले राइस मिलको चौरमा भएको उतिबेलाको घटनालाई समरण गराउँदै सिके राउतलाई चेतावनी दिएकी थिइन् ।

प्रतिक्रिया