ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङ । जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो । गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको बायोमेट्रिक टेक्निसियन प्रमुख सरोज चौधरीले बताए । अहिले प्लान्टबाट तीन देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन उत्पादन हुँदै आएको चौंधरीले बताए ।

जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ । पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि पाँच सय, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैँया मूल्य निधारण गरिएको चौधरीले बताए ।

सङ्घीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो । अहिले सो प्लान्टबाट उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको हो  ।

अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको जिल्ला अस्पतालले जनाएको छ  । स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए । रासस

प्रतिक्रिया