कोरोनाले पर्यटकको आवागमन घट्दै

लमजुङ । समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ ।

घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना सुरुवात हुनु अघिसम्म चहलपहल भइरहे पनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ ।कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चलपहल हुँदै आएको घलेगाउँमा दशदिन अघिदेखि सुरु भएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार यसअघि दैनिक २०० देखि ३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यतिबेला भने हप्ताको ४०–५० जना मात्र मुश्किलले आउने गरेका छन् । कोरोना संक्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घरवास सञ्चालकहरु चिन्तित भएका छन् ।

घलेगाउँका घरवास सञ्चालक दिर्घराज घलेलेका अनुसार पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए । कोरोना संक्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक हत्तै घटेको उनको भनाइ छ ।

प्रतिक्रिया