भ्रष्टाचारविरुद्ध कार्टुन

काठमाडौं । हजार शब्दले भन्ने विषय एउटा कार्टुनचित्रले सहजै सम्प्रेषण गर्दछ । कार्टुन अर्थात् व्यंग्यचित्र राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतमा हुने विकृति, विसंगति तथा समाजका नकारात्मक पक्षमाथिको कटाक्ष गर्ने सिर्जनाको एक सशक्त विधा हो । सटिक रेखा वा रङबाट हाँस्यचेतसहित गरिने चित्रात्मक प्रस्तुतिलाई कार्टुन भनिन्छ  । शासन, प्रशासन, शक्ति/आशक्ति, विकृति, विसंगति, कुरीति लगायतका मानवजातिका लागि खराब मानिएका विषय व्यंग्यचित्रका खुराक हुन् । पत्रकार हरिबहादुर थापाले खराबपात्रलाई किनारा लगाउन कार्टुन प्रभावकारी हुने बताए । समाजमा रहेको विकृत मानसिकता, भ्रष्ट आचरण आदिलाई सचेत नागरिकले निरन्तर प्रहार गरिरहनुपर्ने जिकिर गर्दै उनले कार्टुनिस्टले आफ्नो सिर्जनाशक्तिद्वारा खबरदारी गरिरहनुपर्नेमा जोड दिए । उनले भने, ‘भ्रष्टाचार, विकृति, विसंगतिवादविरुद्ध सबैले चारैकोणबाट निरन्तर प्रहार गरिरहनुपर्दछ ।’

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले कार्टुनिस्टका लागि खुराक विकृत समाज, राजनीति, शासन, प्रशासन, नेता र चरित्रले उत्पादन गरिरहेको धारणा राख्छन् । उनी भन्छन्, ‘सिर्जनाका विधाहरुमध्ये कार्टुन एक सशक्त र लोकप्रिय माध्यम हो । जनचेतना र धारणा निर्माणमा यसको अहम् भूमिका हुन्छ । समाजमा बेथिति, विकृति, विसंगतिविरुद्ध कार्टुन सदैव खरो रुपमा प्रस्तुत भइरहेको छ ।’

क्लबका महासचिव रवि मिश्रले कार्टुन समाजलाई सचेत गराउने कलात्मक खुराक भएको बताउँछन् । उनले भने, ‘भ्रष्टाचार हाम्रो समाजको संस्कारै बनिसक्यो । भ्रष्टहरु समाजमा बरु झन् पुरस्कृत हुन थालेका छन् । कुनै सार्वजनिक ओहोदामा बसेका व्यक्तिले आफ्नो नियमित कमाइभन्दा अकुत सम्पत्ति आर्जन गर्नु प्रतिष्ठाको विषय हुन थालेको छ ।’
मिश्रले कसैले अकुत धन आर्जन गरी सम्पत्ति जोड्ने कामलाई निरुत्साहित नगरी प्रोत्साहन गर्ने वातावरण बन्न थालेकोमा चिन्ता व्यक्त गरे । उनी भन्छन्, ‘कसैले भ्रष्टाचारबाट धन आर्जन ग¥यो गाडी, बंगला जोड्यो भने त्यसप्रति समाजले प्रश्न उठाउँदैन, बरु त्यसो गर्न नसक्नेलाई नालायक र असक्षम सावित गर्न खोज्छ । यसरी समाजमा भ्रष्टाचारविरोधी स्वरमिहिन र शुन्य हुन थालेको छ र प्रोत्साहन र वाहवाही बढ्न थालेको छ ।’

उनले यस्तोमा सञ्चारक्षेत्रले निरन्तर भ्रष्टाचारविरुद्ध प्रश्न उठाइरहेको जिकिर गर्दै कार्टुनमार्फत कार्टुनिस्टले सबैभन्दा सशक्त र तिखो आवाज उठाइरहेको सुनाए । उनले कार्टुनिस्टलाई भ्रष्टाचारविरोधी लडाइको फ्रण्टलाइनरभन्दा फरक नपर्ने जिकिर गरे । उनी थप्छन्, ‘वर्षौदेखि कार्टुनमा भ्रष्टाचारविरोधी स्वर लाउड छन् । भ्रष्ट तथा भ्रष्ट आचरणविरुद्ध कार्टुनले निरन्तर प्रहार गरिरहेको छ । भ्रष्टाचार र अनियमितताका हरेक घटनामा कार्टुन बनिरहेका थिए, छन र बनिरहने छन् । कमजोर र छिद्रयुक्त कानुनबाट भ्रष्टहरु उम्किन सकेका होलान, सरकार र समाजको उदासिनताबाट भ्रष्टहरु उम्किन सकेका होलान् । तर कार्टुनबाट ती उम्किन सकेका छैनन् । यसर्थ कार्टुन भ्रष्ट तथा भ्रष्टाचारीप्रति असहनशील छ ।’

समाजमा सदाचार कायम गर्ने उद्देश्यका साथ कार्टुन प्रदर्शनी हुने भएको छ । कार्टुनिस्ट क्लब अफ नेपाल र सेन्टर फर मिडिया रिसर्चको संयोजनमा देशका सातै प्रदेशमा प्रदर्शनी हुने भएको हो । क्लबका अध्यक्ष वासु क्षितिजका अनुसार बढ्दो भ्रष्टाचार नियन्त्रणमा सहयोग पु¥याउन र भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको हो ।

पत्रकारितामा कार्टुनलाई ‘अचार’ का रूपमा लिनुपर्दछ । कार्टुन रेखा वा रङद्वारा आमजनतामा सूचना र भावना पस्कने दृश्यभाषा हो । दृश्यभाषा सबैले सहज रुपमा बुभ्न सक्दछन् । यसलाई बुझ्न मानिस, समाज, राजनीति, शक्ति या सत्ता आदिको रङ र चरित्र बुझेमात्रै हुन्छ । पत्रिकामा छापिने कार्टुन आममानिसको सरोकारको विषय हुनुपर्ने विचार राख्दै अग्रज कार्टुनिस्ट अविन श्रेष्ठ भन्छन्, ‘जुन ओजिलो र ग्रहणीय हुनुपर्छ ।’ उनले कार्टुनले सधैँ सुधारको अपेक्षा राख्दै विकृति विसंगतिविरुद्ध आवाज बुलन्द गरिराख्ने भएकाले यसले समाज सुधारमा अप्रत्यक्ष रुपमा धेरै नै योगदान दिइरहेको बताए । उनी भन्छन्, ‘विकृति विसंगतिमध्ये भ्रष्टाचार पनि एकप्रकारको ठूलो विकृति हो । यस्ता विकृतिहरूविरुद्ध कसैले पनि आवाज नउठाइदिएको भए भ्रष्टहरूलाई कति हौसला मिल्थ्यो होला ? हुन त आवाज उठिरहेको छ भन्दैमा भ्रष्टाचार भएकै छैन भन्ने पनि हैन । भ्रष्टाचार त झन झन मौलाउँदै गइरहेको जस्तो पनि देखिन्छ ।’

कार्टुनिस्ट श्रेष्ठले कार्टुनले निरन्तर रुपमा भ्रष्टाचार लगायतका विकृतिहरूविरुद्ध आवाज उठाइरहेको सुनाउँदै यसविरुद्धको अभियानमा कार्टुन अग्रपंक्तिमा रहेको भनाइ व्यक्त गरे । कुनै आग्रह वा पूर्वाग्रहविना गलत विषयमाथि न्यायोचित ढंगले हाँस्यसँगै व्यंग्यचेतसहित आएको कार्टुन नै मानिसको मन तथा हृदयलाई छुन सक्दछ । सदाचारका निम्ति बनाइएका कार्टुन लोकतन्त्रका लागि सौन्दर्य र जागरण ल्याउने दियो हुन् । लोकतन्त्रलाई बलियो बनाउने हो भने पूर्वाग्रहरहित कार्टुनको भूमिका विशिष्ट रहन्छ ।

क्लबका अध्यक्ष क्षितिजले एउटा शक्तिशाली कार्टुनले कुनै पनि भ्रष्ट र भ्रष्टाचार काण्डको जग हल्लाउन सक्ने धारणा राख्दै अचेल भ्रष्टाचारविरोधी ¥याली जुलुस र कार्यक्रममा भ्रष्टाचारविरोधी कार्टुनको प्लेकार्ड, ब्यानर बनाउने चलन बढ्दै गएको बताए । उनले भने, ‘यसलाई कार्टुनको प्रभावकारिता र महत्व बढेको रुपमा लिनुपर्छ । जस्तो ओम्नी, यती, यसका उदाहरण जसमा कार्टुनको भूमिका उल्लेखनीय रह्यो ।’

उनले भ्रष्टाचारविरुद्ध सिर्जनात्मक रुपमा कार्टुनिस्टको भूमिका एउटा पहरेदारको रुपमा हुनुपर्नेमा जोड दिए । उनले थपे, ‘भ्रष्टाचारीलाई समाजमा नंग्याउनु र उदाङ्गो पार्नको लागि निडर र साहसी भएर कार्टुनमार्फत समाज र जनतालाई सचेत बनाउँदै लान सक्दा अवश्य पनि भ्रष्टाचारमा कमी आउन सक्छ ।’ उनले यसको लागि आफू संलग्न मिडियामा भ्रष्टाचारविरोधी कार्टुन, बेलाबेलामा भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी, भ्रष्टाचारविरोधी विज्ञ र पत्रकार तथा नागरिक समाजसँग मिलेर बेला बेलामा अन्तक्र्रिया, बहस, र जनचेतनाको कार्यक्रम गर्नुपर्ने बताए ।

अग्रज कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुनले पाठकको कमभन्दा कम समय लिई धेरैभन्दा धेरै सन्देश प्रवाह गर्नसक्नुपर्नेमा जोड दिए । उनले भने, ‘जहाँसम्म भ्रष्टाचारको कुरो छ, यो भनेको आर्थिक अनियमिततामात्र होइन । यसभित्र धेरै प्रकारका विषयवस्तु पर्छन् । यस आधारमा यो भन्न सकिन्छ कि हामीले बनाइरहेका धेरै कार्टुनहरू भ्रष्टाचारविरुद्ध नै लक्षित भइरहेका हुन्छन् । त्यसकारण भ्रष्टाचार कम गर्न कार्टुनिस्टको भूमिका उल्लेखनीय नै हुन्छ जस्तो लाग्छ ।’ उनले कार्टुनिस्टले कुनै व्यक्ति, संस्था वा दलको पक्ष लिई पूर्वाग्रह राखी कार्टुन बनाउन थाले भने त्यो आफैमा झन् ठूलो विकृति भएको जनाउँदै विसंगतिविरुद्ध आवाज उठाउँदा कार्टुनिस्टको भूमिका सधैँ तटस्थ हुनुपर्ने बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले कार्टुनले भ्रष्टाचारविरुद्ध बलियो गरी आवाज उठाइरहेको बताए । उनले यो एक सशक्त सिर्जनात्मक विधा भएकाले भ्रष्टाचारका विषयमा कार्टुन बनाउन कार्टुनिस्टलाई उत्प्रेरित गर्नुपर्ने विचार राख्छन् । उनले भने, ‘हामीकहाँ कार्टुन विधालाई त्यति खुलेर प्रयोग गर्न सकिएको छैन । समाजमा, सरकारी कार्यालयहरुमा व्यापक भ्रष्टाचार छ भन्ने रिपोर्ट बारम्बार छापाहरुमा प्रकाशित भइरहन्छन् । तर, त्यस्तो भ्रष्टाचारलाई कार्टुनमा केही मात्रामा गरेको भएता पनि प्रयाप्त छैन । स्वयं कार्टुनिस्ट पनि रनभुल्लमा छन् । भ्रष्टाचारीको बारेमा कार्टुन बनाएर जोखिम उठाउन चाहँदैनन् । तर थोरै कार्टुनिस्टहरु डटेर अगाडि बढिरहेका छन् । तर, उनीहरुलाई होस्टेमा हैसे गर्ने संस्था, व्यक्तिहरुको कमी छ ।’

अनावश्यक संरक्षण, कमिसन, स्वीड बकस मनि, राजश्व चुहावट, लाभहानी, गलत लिखत तयार गर्ने, सरकारी कागज सच्याउने, केरमेट गर्ने, गैरकानुनी व्यापार व्यवसाय, गलत प्रतिवेदन बनाउने विषय पनि भ्रष्टाचार हो
–भरत थापा पूर्वअध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसल

भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध सबैले चारैकोणबाट निरन्तर प्रहार गरिरहनुपर्दछ
– हरिबहादुर थापा पत्रकार

भ्रष्टाचारलाई कार्टुनमा केही मात्रामा समेटे पनि प्रयाप्त छैन । भ्रष्टाचारीको बारेमा कार्टुन बनाएर जोखिम उठाउन चाहँदैनन् । तर थोरै कार्टुनिस्टहरु डटेर अगाडि बढिरहेका छन् । तर, उनीहरुलाई होस्टेमा हैसे गर्ने संस्था, व्यक्तिहरुको कमी छ
– प्राज्ञ रमेश खनाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

समाजमा बेथिति, विकृति, विसंगतिविरुद्ध कार्टुन सदैव खरो रुपमा प्रस्तुत भइरहेको छ
– वासु क्षितिज अध्यक्ष, कार्टुनिस्ट क्लब अफ नेपाल

भ्रष्टाचार हाम्रो समाजको संस्कारै बनिसक्यो । भ्रष्टहरु समाजमा बरु झन् पुरस्कृत हुन थालेका छन् । कुनै सार्वजनिक ओहोदामा बसेका व्यक्तिले आफ्नो नियमित कमाइभन्दा अकुत सम्पत्ति आर्जन गर्नु प्रतिष्ठाको विषय हुन थालेको छ
–रवि मिश्र महासचिव, कार्टुनिस्ट क्लब अफ नेपाल

विकृति विसंगतिमध्ये भ्रष्टाचार पनि एकप्रकारको ठूलो विकृति हो । यस्ता विकृतिहरूविरुद्ध कसैले पनि आवाज नउठाइदिएको भए भ्रष्टहरूलाई कति हौसला मिल्थ्यो होला ?
–अग्रज कार्टुनिस्ट अविन श्रेष्ठ

प्राज्ञ खनालले सरकारले कार्टुनिस्टलाई जतिसक्दो धेरै भ्रष्टाचारसम्बन्धी कार्टुन बनाउन प्रेरित गर्नुपर्नेमा जोड दिए । उनी भन्छन्, ‘समाजमा व्याप्त भ्रष्टाचार कम गर्न समय समयमा कार्टुनिस्ट क्लब अफ नेपालले पनि कार्टुनिस्टलाई ओरिन्टेसन दिनुपर्दछ । साथै उनीहरुको संरक्षण गर्नुपर्छ । उनीहरुलाई निडर भएर अगाडि बढ्न प्रेरित गर्नुपर्छ ।’ ट्रान्सपरेन्सी इन्टरनेसलका पूर्वअध्यक्ष भरत थापाले सार्वजनिक सेवामा हुने ठगी, नातावाद, कृपावाद, संकीर्ण चरित्र, अनावश्यक रुपमा पारिने प्रभाव, हिनामिना, दस्तुरी, लभिङ आदि भ्रष्टाचारभित्र पर्ने बताए । उनका अनुसार अनावश्यक संरक्षण, कमिसन, स्वीड बकस मनि, राजश्व चुहावट, लाभहानी, गलत लिखत तयार गर्ने, सरकारी कागज सच्याउने, केरमेट गर्ने, गैरकानुनी व्यापार व्यवसाय, गलत प्रतिवेदन बनाउने विषय पनि भ्रष्टाचार हो ।

उनले भ्रष्टाचारले राजनीतिलाई गलत दिशातिर लैजाने बताउँदै अनुचित लाभका लागि नेतालाई च्युत पनि गराउने विचार व्यक्त गरे । थापाले भने, ‘यसले राजनीतिप्रति वितृष्णा पैदा गराउँदै लैजान्छ र निर्णय प्रक्रिया कमजोर हुँदै जान्छ । साथै नेतालाई दलाल, धनीवर्ग, मुनाफाखोरको हितमा काम गर्ने बनाएर लैजान्छ ।’ उनले कर्मचारीको मूल काम भनेको जनतालाई कानुनी सेवा दिनु रहेको जनाउँदै तर लोभले कानुनलाई समेत कमजोर बनाइदिने चिन्ता व्यक्त गरे ।

उनले भ्रष्टाचारले न्यायपालिकाको गुणस्तरसमेत खस्काइदिने बताए । थापाले भने, ‘भ्रष्टाचारले विकास निर्माण, अर्थतन्त्र, शिक्षा र स्वास्थ्य, सार्वजनिक विषय नै खत्तम पार्छ । सांस्कृतिक विचलन ल्याउँछ ।’ उनले भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक अठोट, नागरिक जागरणका साथै राष्ट्रसेवक जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरे । उनले कला, गला र कलमको माध्यमबाट भ्रष्टाचारविरुद्ध लाग्न सर्जकलाई आव्हान गरे ।

प्रतिक्रिया