एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले ३ माघ देखि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि बिहीवार सम्म रहेको भएपनि उक्त ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि अर्थात १७ माघ सम्म आवेदन दिन सकिने बताएको छ ।

कम्पनीले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामको ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैया अंकित दरका २ अर्ब रुपैया बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कुल कित्तामध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने कम्पनी आफैंले व्यक्तिगत तवरबाट विक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ८ वर्षे अवधिको उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने पनि उल्लेख छ ।

प्रतिक्रिया