शिक्षक अस्पताल चितवनमा

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि वढ्ने जानकारी दिएका छन् । सञ्चारकर्मीसँग बिहीबार कुराकानी गर्दै उनले भने, ‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिनेछ । हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैठकमा लैजान्छौँ ।’

जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्नेछ । कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ । पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको थियो ।

सुरुमा तीन सय शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइनेछ । क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए । अस्पताल परिसरमा कुरुवा घरसमेत बनाइने छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिका–१५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताए ।

महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।

सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिवेदन, वडा–१५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेस गरिसकेको छ । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो ।

महानगर प्रमुख दाहालले भनिन्, ‘यस अस्पतालले भरतपुरलाई मेडिकल सिटीको रूपमा विकास गर्न सहयोग पुग्नेछ ।’ शिक्षक अस्पतालपछि शिक्षण अस्पताल हुने दाहालको भनाइ छ । अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ ।

भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, संघीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौं बाहिर आउँदै गर्दा भरतपुरजस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् ।

उनले भनिन्, ‘सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।’ शिक्षा मन्त्रालयले डा.बिमल शर्मा चालिसेको संयोजकत्वमा पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासंघका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए ।

उनले भने, ‘अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरू राम्रो छ ।’ समितिले जग्गा हेर्नुपूर्व पेसागत संघसंगठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाएका थिए । दवाडीका अनुसार चार लाखभन्दा बढी शिक्षक कर्मचारी र तीनका परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

नेपालमा स्थायी शिक्षक १ लाख ७ हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक १ लाख ५० हजार र पूर्वशिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उनले जानकारी दिए ।

नमुना अस्पताल बन्ने भन्दै उनले टाढाबाट आएका बिरामी र आफन्त बस्नका लागि कुरुवाघरसमेत हुने बताए । चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्दछन् । केन्द्रीयस्तरको भरतपुर अस्पताल र मेडिकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्दछन् । भरतपुरलाई मेडिकल सिटीको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया