बुटवलमा नृत्य प्रशिक्षण

रुपन्देही । नेपालका मौलिक नृत्यको संरक्षण, प्रवद्र्धन तथा संवद्र्धन गर्ने लक्ष्यका साथ प्रशिक्षण सुरु गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको व्यवस्थापनमा शंकरपुर (बुटबल) मा यतिबेला नृत्य सिक्ने सिकाउने कार्यशाला चलिरहेको छ । मंगलबारबाट ‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला २०७८’ सुरु भएको हो ।

कार्यशालाको मंगलबार लुम्बिनी प्रदेशका कानुन, महिला बालबलिाका, ज्येष्ठ नागरिक तथा संस्कृतिमन्त्री रमा घर्तीमगरले उद्घाटन गरिन् । उनले लुम्बिनी प्रदेशमा पनि चाँडै लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने बताइन् । उनले कार्यशालामा सहभागीले एकआपसमा नृत्य सिक्नु सिकाउनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरिन् ।

माघ ८ गतेसम्म चल्ने कार्यशालामा सहभागी सबैले एउटा एउटा नृत्य प्रशिक्षण दिनुका साथै सम्बन्धित नृत्यको कार्यपत्र पनि प्रस्तुत गर्ने सहजकर्ता राजेश थापाले जानकारी दिए । उनका अनुसार कार्यशालामा सातै प्रदेशबाट २४ जना नृत्य निर्देशक तथा कलाकारले सहभागी भएका छन् ।

प्रतिष्ठानकी प्राज्ञपरिषद सदस्य तथा नृत्य विभाग प्रमुख नमुना शर्माले एकले अर्कालाई सिक्न सिकाउनका लागि आफूहरुले नेपालभरका नृत्यकारलाई एकैथलोमा ल्याएको जनाइन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कार्यशालामा आफूले पनि धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे । उनले आफ्नो प्रतिष्ठानले पनि आगामी दिनमा यस्ता उपयोगीमूलक कार्य गर्ने बताए ।

पहिलो दिन मंगलबार प्रदेश १ बाट नृत्य निर्देशक नवीन्द्र राईले कार्यशालामा साकेला नृत्य सिकाए । उनले कार्यशालामा साकेलाको कार्यपत्रसमेत प्रस्तुत गरे । यस्तै सो कार्यशालामा प्रदेश १ बाटै ओमप्रकाश बस्नेतले राजवंशी सुमदायको हुदु दुरा नृत्य सिकाए । उनले यो नृत्यको कार्यपत्र प्रस्तुत गरे । उनले बुधबार सतार नृत्य र मधेश प्रदेशको सामा चखेवा नृत्य प्रशिक्षणसँगै कार्यपत्र पनि प्रस्तुत गर्नेछन् । कार्यशालामा सुदुरपश्चिम प्रदेशबाट छलिया, हुड्केली नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुति कार्यक्रम रहेको सहजकर्ता राजेश थापाले जानकारी दिए । यसैगरी कर्णाली प्रदेशबाट सरंग्या, पैंस्यारु र ट्याम्कुली नृत्य प्रशिक्षणसँगै यी नृत्यको कार्यपत्र प्रस्तुत गरिने छ । लुम्बिनी प्रदेशबाट अनु रजकले थारु समुदायको बड्की र झर्रा नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।

कार्यशालामा गण्डकी प्रञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, बमबहादुर गुरुङ, राजबहादुर गुरुङको समूहले गण्डकी प्रदेशबाट कृष्णचरित्र, सोरठी, घाटु र कौडा नृत्यको कार्यपत्र प्रस्तुतसँगै नृत्य प्रशिक्षण दिनेछन् । यस्तै बागमती प्रदेशबाट भक्तपुरको राजारानी नृत्य प्रशिक्षण एवं कार्यपत्र प्रस्तुत हुनेछ । वागमतीबाटै सुरेन्द्र देसार ललितपुरको धिमे, घिन्तामै नृत्य प्रशिक्षण एवं कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया