यति एयरलाइन्स र युवा उद्यमी मञ्चवीच सहकार्य

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य सुरु भएको छ । सम्झौता अनुसार यतीले मञ्चको आधिकारिक वायुसेवा कम्पनीको भुमिका निर्वाह गर्नेछ भने मञ्चमा आवद्ध उद्यमीले विशेष सहुलियत पाउनेछन ।

यतीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र मञ्चका अध्यक्ष उदिप श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रममा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत् सहुलियत प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सिईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एयरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको र निकट भविष्यमा युवा उद्यमी लक्षित थप सहकार्य गर्दै जाने बताए । मञ्च अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने बताए । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७ सय भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन् ।

प्रतिक्रिया