सुनवर्सीद्वारा आफ्नै भवनबाट सेवा सुचारु

विराटनगर । सुनवर्सी नगरपालिकाले आफनै भवन निमार्णगरी सञ्चालनमा ल्याएको छ । सुनवर्सी नगरपालिका–९ स्थित मुस्लिम टोलमा सो पालिकाले भूकम्प प्रतिरोधी क्षमता भएको नगरपालिकाको प्रशासकीय भवन निमार्णगरी सञ्चालनमा ल्याएको हो ।

सबै प्रकारको सुविधा भएको उक्त भवनको नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले एक कार्यक्रमबीच भवनको उद्घाटन गरे । स्थानीयले उपलव्ध गराएको १ बिघा ६ कठ्ठा जग्गामा ३ करोड ४१ लाख रुपैयाँको लागतमा पालिकाले भवन निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए । ०७६ साल चैत १० गते भवनको शिलान्यास भएको सो भवन बाबुल एन्ड खान जेबी सुनसरीले समय अगावै निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

३८ सय १२ इस्क्वायर फुट क्षेत्रफलमा सो भवन निर्माण गरिएको छ । भवन निमार्णका लागि प्रदेश–१ सरकारबाट एक करोड तथा जिल्ला समन्वय समिति मोरङबाट ७६ लाख रुपैयाँ सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

भवन उद्घाटन गर्दै सो क्षेत्रका संघीय सांसदसमेत रहेका डा.रिजालले सुनवर्सी नगरपालिकाले विकास निर्माणसँगै पूर्वाधार निर्माणमा समेत उल्लेखनीय काम गरेको बताए । भवन निर्माणसँगै पालिकाले दिने सेवा थप प्रभावकारी हुने उनको भनाइ थियो । त्यसैगरी कार्यक्रममा बोल्दै सो नगरपालिकाका मेयर कालीप्रसाद दासले सीमित स्रोत साधनका बाबुजुद नगरपालिकाले सडक निर्माण कालोपत्रे तथा कृषि, शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा उल्लेखनीय काम गरिरहेको बताए । शून्यबाट सुरु गरेको विकास निर्माणको कामले सो पालिकाको अहिले मुहार फेरिएको उनले बताए ।

भवन निर्माणका लागी स्थानीय महताव आलम, हामी अव्दुल रहिम, जमिमुल रहमान, खुर्सिद आलम, इस्तियाक अहमद, उतिउर रहमान लगायतले भवन निमार्णका लागि जग्गा प्रदान गरेका थिए । कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रदेश सभासद लिलावल्लभ अधिकारी, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्सी नगरपालिकाका उपमेयर मञ्जु राई, वडाध्यक्ष तेजनारायण ताजपुरिया, नेपाली कांग्रेसका नेता गोपालराज भण्डारी तथा जग्गादात महताव आलम तथा पदम विनोद घिमिले लगायतले शुभकामना दिँदै नयाँ भवन निर्माणले कार्य सम्पादनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । यसैगरी सो पालिकाले प्रायः सबै वडामा वडा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया