सात गीत ल्याउँदै खनाल

काठमाडौं । लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा जुटेका छन् । अमेरिका बस्दै आएका खनाल पारिवारिक कामले केही समयअघि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रहसमेत सार्वजनिक गरेका छन् ।

खनालले सार्वजनिक गर्न लागेका ७ गीतमा लोकगीत, लोकदोहोरी, भजन, आधुनिक, लोकआधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक रहेको छन् । खनालका अनुसार ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको गीति भिडियोको छायांकन समेत गरिएको र तीन वटा गीतको बाँकी रहेको खनालले जानकारी दिए । उनले कोरोना कहरका कारण बाँकी गीतको भिडियो छायांकन सम्भव हुन नसकेको बताए । खनालले भने, ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो । बढ्दो कोरोना संक्रमणले अलमल्ल पा¥यो । बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही निर्णय गर्न सकिएको छैन ।’ खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण ह राम’ बोलको भजन रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायनसमेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोसमेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेल लगायतका कलाकारको अभिनय छ । प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ । भजनले समाजमा धार्मिक आस्था बाँड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताए ।

खनालका अन्य गीतमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोकआधुनिक शैलीको यो गीतले श्रीमान् श्रीमतीलाई घर र माइतमा समान व्यवहार प्रेरित गर्ने खनालको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले भरेका छन् । उनले तेस्रो गीत गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा तयार पारेका छन् । ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीतको भिडियोसमेत बनेको छ । जसमा गायक थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन् । यस्तै खनालले चौथो ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत ल्याउन लागेका छन् । उनकै शब्द, संगीत तथा स्वर रहेको यो गीतको समेत भिडियो छायांकन गरिएको जनाइएको छ । गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले अभिनय गरेका छन् । यो गीत सबैले नाच्ने खालको रहेको खनालले सुनाए । भिडियो बनाउन बाकी रहेको तीन गीत ‘यस्तै छ यहाँको चलन’ बोलको गजल, ‘बाँकी छ हेर’ बोलको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, विनोद बाजुरालीको संगीत संयोजन रहेको गजल हो । यसमा समेत खनालकै शब्द तथा स्वर रहेको छ ।

‘फूल फुलेझैं’ दोहोरी गीत भने उनले ल्याउन लागेको अलि पृथक रहेको उनको भनाई छ । उनकै शब्द रहेको यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइसमेत व्यक्त गरेको छ । गायक खनालले भिडियो छायांकन भएका गीतहरू भने २ देखि ४ हप्ताको अन्तरमा सार्वजनिक गर्ने बताए । एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने कार्य गरेका खनाल गुल्मी धरन्पानी मैनडाँडामा जन्मिएका हुन् । उनी पछिल्लो समय अमेरिकाको वासिङ्टन डिसीमा बस्दै आएका छन् ।

उनले १२ सय बढी गीतमा स्वर दिएको बताए । लोकगीत, लोकदोहोरी, तीज र भजन गरेर ५२ एल्बम बजारमा ल्याएका छन् । उनको ‘माटोको दुःखाई’ कविता संग्रह अठारौँ कृति हो । रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका खनाल थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट समेत सम्मानित छन् । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक तथा अध्यक्ष हुन् ।

प्रतिक्रिया