‘थिरीमाली’ मा स्वस्तिमाको आइटम

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्का अभिनीत दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ । मलयालम भाषामा बनेको चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । दुई मिनेट ४१ सेकेन्डको उक्त ट्रेलरलाई सायना मुभिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । राजीव शेट्टीले निर्देशन गरेको यो चलचित्रको निर्माण एसके लरेन्सले गरेका हुन् । जेभियर एलेक्स र राजीव शेट्टीको लेखन रहेको यो चलचित्रमा मलयालम चलचित्र उद्योगका लोकप्रिय अभिनेता बिबिन जर्ज प्रमुख भूमिका छ । यस्तै, जोनी एन्टोनी र धर्मजान बोलगट्टीको समेत चलचित्रमा मुख्य भूमिका छ ।

ट्रेलरमा नेपालका रमणीय स्थललाई देखाइएको छ । काठमाडौं, पोखरा र लुक्लाका दृश्य समेटिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलक देखाइएको छ । गीतमा बाहेक चलचित्रमा अभिनेत्री स्वस्तिमाको भूमिकाका बारेमा ट्रेलरमा केही खुल्दैन । तर, चलचित्र रेट गर्ने आइएमडिबीले थिरिमालीका प्रमुख कलाकारको सूचीमा स्वस्तिमाको नामसमेत उल्लेख छ । त्यस्तै, उक्त ट्रेलरमा अभिनेता माओत्से गुरुङलाई समेत देखाइएको छ । कमेडी जनराको यो चलचित्र सन् २०२२ मा रिलिज हुने भनिएको छ । यो चलचित्र मलयालमसँगै हिन्दी, तेलुगू र तामिल भाषामा समेत सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया