एमालेबाट सरेकोे ‘सुकेलुतो’ बाट मुक्त हौँ

मुकुन्द न्यौपाने

हामी माक्र्सवादी हौँ र हाम्रो कामगर्ने तरिका पनि माक्र्सवादी नै हुनु जरुरी छ । माक्र्सवादी भन्ने बित्तिकै निरन्तर गति र निरन्तर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादको बाटोतर्फ इंकित गर्छ । कम्युनिस्ट पार्टीको सम्बन्धमा यसले विचार गर्ने तरिका र कामगर्ने तरिकालाई आँैल्याउँछ । कामको तरिकामा हरेक क्षेत्रमा कामका सामान्य र विषेश गरी दुई तरिका हुन्छन् । कामको सामान्य तरिका भनेको पार्टीले गरेको सामान्य आह्वानलाई विशेष क्षेत्रमा लागू गर्ने कामको लागि कार्यकर्तालाई विशेष प्रशिक्षण गर्नु हो ।

दोस्रो आम आह्वानलाई जनसमुदायको बीचमा पु¥याउँदा सम्बन्धित भूगोलका विशेषता र स्वक्षेत्रका जनसमुदायका चाहाना र इच्छाको गम्भीर अध्ययन गरी विशेष नीतिको तर्जुमा गर्नु हो । यसको लागि नेतृत्वले भिन्नभिन्न भूगोलमा कामगर्ने कार्यकर्तामार्फत ती भूगोलका जनताको इतिहास, जातीय बनावट, वर्गीय अवस्था र इलाका विशेषताको गहिरो अध्ययन गरी विशेष नीति तर्जुमा गर्नुपर्दछ । यसका लागि कार्यकर्तालाई सैद्धान्तिक राजनीतिक र सांगठानिक रूपमा प्रशिक्षण, संगठित गरी जनताको माझ परिचालन गर्नुपर्दछ । यसो गरिएन र खाली सामान्य आह्वान गरेर इलाकाका विशेषताहरूसँग तादात्म्य नगरी अगाडि बढ्न खोजियो भने त्यो अन्धोले हात्ती छामेजस्तो हुनेछ र हाम्रा कार्यकर्ताहरू आँखामा पट्टी बाँधेर भँगेरा समात्न खोज्ने वर्तमान एमालेका नेताजस्ता हुनेछन् ।

यसै कारण नेकपा एकीकृत समाजवादीले रचनात्मक परिणाम निकाल्ने हो भने माक्र्सवाद लेनिनवादलाई रचनात्मक दृष्टिकोणबाटै बदलिएको विश्वको वस्तुगत यथार्थतालाई ध्यानमा राखेर गहनतम अध्ययन गहनतम समझदारी हासिल गर्न सक्नुपर्दछ । हामीले नेपालमा सोभियत संघको पतनपछिको नयाँ युगको माक्र्सवादलाई अगाडि बढायौँ । पञ्चायतलाई राजतन्त्रको विरुद्ध उपयोग गर्ने र पञ्चायतको समाप्तिपछि प्राप्त बहुदलीय व्यवस्थालाई गणतन्त्रको स्थापनाका लागि उपयोग गर्ने नीति लिएर २७ बँुदे फरक मतसहित हामीले बहुदलीय व्यवस्थामा भाग लियौँ । यो भाग लिनुको उद्देश्य बदलिँदो परिस्थितिमा समाजवादको जग खडा गर्नु थियो ।

आजको समाजवादी दुनियाँ अनेकौँ धक्का घटना परिघटनाहरूको बीचबाट निरन्तर विकसित गर्दै अगाडि बढिरहेको एउटा सामाजिक परिघटना हो । वर्तमान सामाजिक जीवनले समाजवादको सामु यस्तो नयाँ कार्यभार प्रस्तुत गर्दछ जुन कार्यभार निरन्तर अध्ययन–व्यवहार फेरी अध्ययन कार्यकर्तासँगको निरन्तर छलफल आफ्ना कमजोरी र अरूका कमजोरीलाई साथसाथै आँकलन गर्न सक्ने नम्र र विनयशील नेतृत्वको आवश्यकता पर्दछ । यस्तो नेतृत्वले मात्र गहन अध्ययन र सैद्धान्तिक सामान्यीकरण गरेर वर्तमान समयको समाजवादको स्वरूपलाई अगाडि सार्न सक्छ ।

समाजवाद राम र हनुमानलाई रथमा चढाएर भजन मण्डली बनाएर हनुमान चालिसा पाठ गरेर आउँदैन । यो विज्ञानको गर्भबाट श्रमजीवी जनताको श्रृजनाको पसिनामाथि बसेर आउँछ उनीहरूकै मुहारबाट मुस्कुराउँछ । त्यसैले श्रमजीवी वर्गले खोजेको समाजवाद काल्पनिक समाजवाद होइन, व्यावहारिक र वास्तविक समाजवादी प्रणाली हो । जुन प्रणालीको उत्थान र विकास समाजवादी सिद्धान्तको सत्यता र विश्वसनीयतामाथि निर्भर गर्छ नेपालका कम्युनिस्टहरूले एकलौटी बहुमतको सरकार चलाउँदा पनि जनताको हितलाई आत्मसात गर्न सकेनन् । कम्युनिस्टहरूको सबैभन्दा लज्जाजनक अवस्था केपी ओलीको सरकारको कालमा बेहोर्नु प¥यो । ०५१ सालमा मनमोहन अधिकारी नौ महिना मात्र अल्पमतको सरकारको प्रधानमन्त्री हुँदा जनताले कहिल्यै नबिर्सने गुण लगाएर जानुभयो । वृद्धभत्ता र आफ्नो गाउँ आफैँ बनाउ अभियान दुवै समाजवादको आधारशिला तयार गर्ने फैसला थिए ।

समाजवादको निर्माणको जग पुँजीवादले तयार गर्छ । पुँजीवाद समाजवादको शत्रु होइन, आमा हो समाजवाद पुँजीवादकै गर्भबाट जन्मन्छ । जब पुँजीवाद दलाल पँुजीपति वर्ग र नोकरशाही पुँजीपति बर्गको कब्जामा जान्छ तब त्यो समाजवादको शत्रुमा रूपान्तरण हुन्छ । यसै कारण पुँजीवादको प्रारम्भिक चरणमा पुँजीवादलाई सामाजिक पुँजीवादमा रूपान्तरण गर्नुपर्दछ । सामाजिक पँुजीवाद र दलाल पुँजीवादको बीचको भिन्नता के हो भने सामाजिक पुँजीवाद राष्ट्र र जनताको हितमा हुन्छ । सामाजिक पुँजीवादले राज्यले लगाएको कर तिर्दछ र विदेशी दलाल पुँजीपति वर्गसँग गुप्त साँठगाँठ गरेर करछलीको कालो धन्दा गर्दैन ।

आज हामी एमाले पार्टीको नेतृत्वमाथि दलाल पुँजीपति वर्ग हावी भएको र माक्र्सवादी सिद्धान्त, राजनीति विचार, कम्युनिस्ट कार्यशैली, विधि, पद्धति आदि सम्पूर्ण कुराबाट त्यो पार्टीको नेतृत्व च्युत भएकोले अलग समाजवादी कम्युनिस्ट पार्टी बनाएर जनताको बीचमा गइरहेका छाँै । हामीले एमाले पार्टी किन माक्र्सवादी बाटोबाट विचलित भयो, दलाल पुँजीपति वर्गको पोल्टामा कसरी गयो भन्ने कुराको गहिरो अध्ययन गर्दैनौँ भने हामी एमाले भित्रका गलत आचरण पदमुखी र पैसामुखी लोलुप्ताबाट मुक्त हुन सक्दैनौँ । हामीले के बुझ्नुपर्छ भने अहिलेको हाम्रो अवस्था भनेको पुँजीवाद र समाजवादको सहकार्यको संक्रमणकालीन अवस्था हो । यो अवस्थामा सत्तालोलुप र पैसा लोलुपहरूलाई दलाल पुँजीपति वर्ग र माफियाहरूले चुनावमा कालो धनको प्रलोभनमा पारेर सत्तामा पु¥याउने कोसिस गर्छन् र आफ्नो निम्ति जनताको विरुद्ध उपयोग गर्दछन् । यस्तो संक्रमण कालको अवस्थामा हाम्रो पार्टीले आफ्ना कार्यकर्ताको सैद्धान्तिक राजनीतिक सामाजिक स्तर कसरी उठाउँछ ? संगठनको व्यवस्थापन, विचारको व्यवस्थापन र कार्यशैलीको व्यवस्थापन कसरी गर्छ ? विचार गर्ने तरिका र काम गर्ने तरिकामा रहेका विगतका एमाले पार्टीबाट सरुवा भएर आएका सुकेलुतोको उपचार कसरी गर्छ ? यी कुरा आज एकीकृत समाजवादी पार्टीको अग्रगतिका लागि ज्वलन्त विषय हुन् ।

यदि समयमै पार्टीको नेतृत्वले कार्यकर्तालाई यस्ता कुरामा सचेत गर्दैन आमजनतालाई आफ्नो लक्ष्यमा अगाडि बढाउन सचेत गर्दैन र कार्यकर्ता पार्टीको आह्वानलाई कार्यरूपमा सम्पन्न गर्नका लागि व्यापक रूपमा परिचालित भएर आमजनतालाई संगठित गर्न विशेष अभियान चलाउने काममा सक्रिय हँुदैनन् भने जनताको माझ अगाडि बढ्न सक्नेगरि तलका कमिटीहरू निर्माण र परिचालित गर्ने काम आज नेकपा एकीकृत समाजवादीको नेतृत्वको अगाडि त्यतिकै चुनौतीपूर्ण रूपमा देखापर्नेछ ।

आजको वास्तविकतालाई केलाएर हेर्ने हो भने हाम्रा संगठनका गतिविधिहरूमा तल र माथिको कामको बीचमा गहिरो समन्वय भएको देखिँदैन । तलको परिस्थितिको गम्भीर जाँचपड्ताल गरेर समस्याहरूको पहिचान गरी ती समस्याको समाधानको उपाय पत्ता लगाउने जनताका आवश्यकता र इच्छालाई आत्मसात गरी अगाडि बढ्ने सही बाटो पत्ता लगाउनु स्थानीय नेतृत्वमा अगाडि बढीरहेका जिम्मेवार नेताहरूको मुख्य काम हो । एक महिनामा हुने काम १० महिना लगाउने, संगठनका बैठकमा पर्याप्त छलफल गर्न नचाहने, बैठकमा उपस्थित नहुने, सुझाव र आलोचनादेखि तर्सने प्रशंसा मात्र खोज्दै हिँड्ने जसले प्रशंसामा ताली बजाउँछन् तिनलाई मात्र आफ्ना ठान्ने यस्तो प्रवृत्तिलाई नै हामीले एमाले प्रवृत्ति भनेर आलोचना गरेका हौँ । यही प्रवृत्ति समाजवादी पार्टीको नेतृत्वमा विकसित हुँदै गयो भने त्यसले पार्टी कमिटीको काममा भद्रगोल उत्पन्न हुने निश्चित छ ।

कार्यकर्ताको भेटमा अनावश्यक गफमा समय बिताउने, कुनै पनि विषयबस्तुको गहराइमा नजाने, दिनभरि गफ र साँझमा भोजमा रमाउने परिपाटी नेतृत्वको उच्च ओहोदामा बसेकाहरूदेखि तलका कार्यकर्तासम्म विकसित हँुदै गयो । पानी र बानी माथिबाट तलतिर बग्छ भनेझैँ नेतृत्वको एउटा पंक्तिमा देखिएको यो वैचारिक विचलनले पार्टी माथिदेखि तलसम्म दिशाहीन बनेको छ । माथिबाट गर्नुपर्ने निर्णयहरूमा ढिलासुस्ती गर्ने, आलटालगर्ने जस्ता सुस्त गतिविधिले तल अराजकता मौँलाएको छ । यस्ता कुराहरूबाट पार्टीलाई मुक्त गर्नका लागि आज माथिबाट समयमै निर्णय गर्ने, तलसम्म शीघ्र सर्कुलर जारी गर्ने र अनुगमन प्रणालीलाई व्यवस्थित गर्ने, कामको तरिका अपनाउनुपर्ने देखिन्छ । यो तरिका अपनाउन जति ढिलासुस्ती गरिन्छ त्यति नै हाम्रो काम अरू अराजकतातर्फ बढ्नेछ र पार्टीमा यसले शिथलीकरण ल्याउनेछ । यसबारेमा नेतृत्वले गम्भीर भएर सोच्नुपर्नेछ । यसो गर्न सकिएन भने एमालेबाट सरेको सुकेलुतोको रोगबाट हामी मुक्त हुन सक्दैनौँ ।

प्रतिक्रिया