त्यो रिक्सावाला, मानवविकास र चेञ्ज मेकर्स मेरी आमा

मीरा राजभण्डारी अमात्य

हामीले आज जुन इतिहासहरू पढिरहेछौँ कुनै बेला ती निरर्थक पनि लाग्थे होलान । वीर नेम्वाङहरूले भाषा जगेर्ना गर्न खोज्दै गर्दा जेलनेल पाएको अवस्था, सुब्बा कृष्णलालहरूले ‘मकैको खेती’ लेख्दा बेहोर्नु परेका, भोग्नु परेका दुःख र पीडाहरू अनि सिद्धीदास महाजुहरूले नेपाल भाषामा लेखेका कृतिहरूका कारण विस्थापित र बहिष्कृत हुनुका पीडा र लमजुङतिरका अधिकारी पौडेलहरूले हलो क्रान्ति गरेकै कारण सारा गाउँघरभरिका छोरीचेलीबुहारी समेतले बहिष्करणमा पर्नुपरेका घटनाक्रमहरूलाई लिपिबद्ध गर्न खुल्ला राजनीतिक वातावरण पाएको कति भयो ?

मानव विकासका ठूलाठूला कुरा, सिद्धान्त र व्यवहारका कुरा पर सारौँ । आगो र पानीसँग जोडिएको हाम्रो समाज कहिलेकाहीँ धारा, पानी पँधेरोतिर छोइछिटो बार्दै धनी, गरिब, उँच नीच जाती विशेषका बहिष्करण र विभेदका कुरा अझै पर राखौँ । ढुंगाको भर माटो र माटोको भर ढुंगा, यो वास्तविकता हो । मानव विज्ञान र मानव विकासका दृष्टिले यो दर्शनलाई स्थापित गर्छ पनि ।

विगतमा मानव सभ्यतालाई निरन्तरता दिन जीवन्त गर्न ज्ञानी समुदायले शिक्षा दिने नीतीनियम सिकाउने, बनाउने र समाजलाई मर्यादित बनाउने प्रमुखसरह काम गर्थे । अब ज्ञानी भन्नाले कुनै एक समुदाय वा जिन नभएर विज्ञविद्वान र राज्यले समुदायले मान्यजन भनी पहिचान दिएको कदर गरेको र समाजलाई मर्यादित र सामाजिक नियम पालना गराउने अधिकार प्राप्त व्यक्तिविशेष समुदाय भनौँ । जुन किराँतहरूका फेदांगवा, नेवाःकाबाजु (बःजु,बाज्या), गुरुवाचार्य, आचाजु, कर्माचार्य र खसआर्य समुदायका उपाध्याय पण्डित विशेष आदि इत्यादि भनेर बुझ्न आवश्यक छ । तर, समाजलाई समानान्तर रूपमा विकसित अवस्थामा पु¥याउन समावेशी र विपन्न वर्गको उत्थानमा स्वःस्फुर्त रूपमा काम गर्नेहरूका लागि कुनै पनि वर्ग, धर्म र क्षेत्र विशेषबारे जानकारी हुन आवश्यक रहन्न । न त विद्वान र महाज्ञानी नै हुन आवश्यक छ ।

यो लेख लेखिरहँदा विश्वप्रसिद्ध विचारक श्वेत मार्डनका विचारलाई म स्मरण गर्दै छु । ‘हामीले गर्ने सानाभन्दा साना कामबाट हामीले आफ्नो छुट्टै पहिचान बनाउन सक्छौँ । तपाईं घरमा कुचो लगाउनु हुन्छ भने कुचो यसरी लगाउनुस् कि त्यसले सफा गर्ने मात्र होइन, तपाईंले कुचो लगाउने तरिकामै गजबको फरक होस् ताकी देख्ने मान्छेको मन मस्तिष्कमा एउटा राम्रो छाप परोस्’ अर्थात हामीले जे काम गर्छौं त्यही काममा गुणस्तर दिने र आफ्नो कर्तव्यतिर बढी जिम्मेवार हुने हो भने हामीले गरेका हरेक कामले समाजलाई एउटा सन्देश दिने मात्र होइन हाम्रा सन्तती र पुर्खाको लागि एउटा शान बन्नेछ ।

हामीले आज जुन इतिहासहरू पढिरहेछौँ कुनै बेला ती निरर्थक पनि लाग्थे होलान् । वीर नेम्वाङहरूले भाषा जगेर्ना गर्न खोज्दै गर्दा जेलनेल पाएको अवस्था, सुब्बा कृष्णलालहरूले ‘मकैको खेती’ लेख्दा बेहोर्नुपरेका, भोग्नुपरेका दुःख र पीडाहरू अनी सिद्धीदास महाजुहरूले नेपाल भाषामा लेखेका कृतिहरूका कारण विस्थापित र बहिष्कृत हुनुका पीडा र लमजुङतिरका अधिकारी पौडेलहरूले हलो क्रान्ति गरेकै कारण सारा गाउँघरभरिका छोरीचेलीबुहारी समेतले बहिष्करणमा पर्नुपरेका घटनाक्रमहरूलाई लिपिबद्ध गर्न खुल्ला राजनीतिक वातावरण पाएको कति भयो ? तर अहिले हामी स्वतन्त्र छौँ, हामी आफ्नो पहिचान र इतिहासलाई खुलमखुला लेख्न र प्रेषित गर्न सक्छौँ । समाज भनेको तपार्इं र मबाट सुरु हुने हो । त्यसैले आज धेरै कम देखिने र लेखिने साधारणहरूमा दरिएका महिलाहरू मध्येमा एक महिला मेरी आमाको समाज विकासमा योगदानको बारेमा थोरै केही कोर्ने जमर्कोमा छु ।

आफनो ड्युटी सकेर घर फर्किंदै गर्दा घरको ठूलो गल्लीको छेउमा कहिले नदेखिएका एक किशोरलाई खाली भुइँमा एउटा कागजको टुक्रा (गट्टा) ओछयाएर सुतेको देख्नुभयो आमाले । को होला ? कसको छोरा होला यस्तो जाडोमा विनाओढ्ने सुतेको फतफताउँदै आमा घरमाथि उक्लनुभयो । भोलिपल्ट बिहान पानी लिन धारातिर जाँदा ती किशोर त्यहाँ थिएनन् । ऊ सुतेको कागजको टुक्रा भने ठडयाएर राखिएको थियो । बेलुका फेरी त्यो युवक सुतेको देख्नुभयो आमाले । केही दिन त्यसरी नै क्रम चलिरह्यो ।

ती किशोर को थिए कसैलाई मतलब थिएन । न्युरोड त्यसै पनि व्यस्त, काठमाडौंको मुख्य बजार भनौँ, काठमाडांै राजधानीको मुटु, आँखा, आत्मा जे भनौँ । अझ काठमाडांै बाहिरका आउने जाने, सुनचाँदीको कारोबार, गहना किनबेच, नयाँ डिजाइनका कपडाका लागि प्रख्यात जुजुभाइ एन्ड ब्रदर्स, मेकअपका सामान, कपडाका लागि अनुराग, कृष्ण गुँदपाक, मिठाइका लागि प्रख्यात गुप्ता स्विट्स, पन्ना पाउरोटी, कृष्ण पाउरोटी आदि सर्वत्र कुरा किन्न पाइने बजार । नयाँ सडक, न्हु सडक जे भन्नुस् । कतिको जीवनयापन हुने बजार हो न्हु सडक । पार्टीका नेता, दरबारियाका विशेष भेटघाट स्थल, पीपलबोटमा हुने राजनीतिक गफगाफ, माइसपमा लुगाधुन होस् वा संकटा होटलका हलवाइकोमा तातो तातो जेरी, माल्पुवा, सिंघडा, आलु केराउ तरकारीका लुत्फ उठाउन आउने होस्, सबका रमाइलो न्युरोड, हाम्रो न्युरोड, हाम्रो न्हु सडक ।

त्यो बेला पनि ती युवक त्यसरी नै सुतेर बस्थे । मीनपचासका विदादिनहरू हामी घ्वाँई कासा, तेलकासा, खिपः खेल्दै विताउँथ्यौं । त्यो फोहरी केटो को होला ? हामी नानीहरू बीच कुतूहल हुन्थ्यो । त्यो केटो बिहानभरी गायब रहने र दिउँसो र राती सुतेको देख्ने क्रम केहीदिन रह्यो । एक शनिबारको दिन त्यो केटो बिहान पनि सुतेको देख्नुभयो आमाले । आमाले ए बाबु तिम्रो घर कहाँ हो ? किन यहाँ बसेको भनेर सोध्नुभयो । उमेरले १५ वा १६ जति लाग्ने त्यो केटोले आपूm गाउँबाट भागेर काम खोज्न आएको तर काम नपाएको बतायो । सौतेनी आमाले दुःख दिएको र बाबु पनि पोहर मात्र खसेको काठमाडौं भागेर आएको बतायो । बिहान बिहान मन्दिरहरूतिर मागेर खाने गरेको बतायो । त्यो दिन उसलाई ज्वरो आएकले माग्न जान नसकेको पनि बतायो । हाम्री आमा, आमा मन त हो । दिदीलाई जाउलो पकाई दे भनी अह्राउँदै मलाई सिटामोल किन्न पठाउनु भयो । त्यो दिन उसले हाम्रो घरको जाउलो र ओखती खायो र एउटा पुरानो कम्बल पनि पायो । उमेरका कारण होला त्यो ठिटो भोलिपल्ट नै चंगा भयो । अफिसबाट फर्केपछि आमाले उसलाई दुई रुपैयाँ हातमा राख्दै ल अबदेखि मागेर नखाउ, काम गरेर खाउ, काम खोज्न जाउ है बाबु भन्दै छेउमै रहेको हजाम पसलका ठाकुरजी (उहाँको नाम बिर्से उनैकी दुई छोरी रमावति र शोभावती मेरो बाल्यकालमा खेल्ने दौँतरी, अहिले कहाँ कुनअवस्थामा छन् थाहा छैन) लाई यो केटोको कपाल काटीदिनुस् म पैसा दिन्छु भन्दै माथि उक्लनुभयो । कपाल काटेपछि त्यो फोहरी केटो सफा केटो बन्यो । त्यो साँझपछि त्यो केटो देखिएन । ‘दुइ रुपैयाँ के ग¥यो होला हगीदाई ?’ दाइ र म कुरा गथ्र्यौं ।

त, त्यसपछि त्यो केटो देखिएन । एक दिन आमा स्वन्तीको किनमेल गरेर असनबाट फर्किंदै हुनुहुन्थ्यो हातमा स्वन्तीमा बाल्ने पाला, चढाउने भोगत्या, तःसीदेखि सर्वजात सामग्री सकी नसकी बोकेर हिँड्दै हुन्थ्यो । पछिपछि म थिएँ । सानोसानो सामानको पोकोबोकेर म आमाको पाईला पछ्याउँदै भिडमा छिटोछिटो हिड्दै थिएँ । छुट्ला भन्ने डर त थिएन किनकी न्युरोड वंघः,अशंः चोक, जनबहाल त मेरो पानी पँधेरो टोल, अर्थात खेल्ने कुद्ने बजार सडक । मात्र डर आमा छुटिन् भने घर बाहिरको चुरोट पसलमा पाँच पैसामा पाइने पिप्लामेट र २० पैसामा पाइने खाजा विस्कुट किनिमाग्न नपाइएला भन्ने । जनबहाल चोकबिचोबीच पुग्दै गर्दा अचानक दिदीदिदी भन्दै कसैले पछाडीबाट बोलायो । आमा र मैले फर्केर हेर्दा त उही फोहरी दाई विल्कुल नयाँ कपडामा रिक्सा चलाउँदै । अरे यो रिक्सा कहाँबाट आयो बालसुलभ प्रश्न मेरो मनमा । ‘योम्माःसा का, बाबु तिमी ? कहाँ गएको नि, आमाको प्रश्न । हजुरले काम खोज भन्नुभएको थियो, कपाल काटेपछि पर हिमालय स्कुल नजिकैको धारामा नुहाउन गएँ अनि संकटा होटलमा तपाईंले दिनुभएको पैसाले सिंघडा र चिया खाँदै थिएँ एक जना साहुजीले ‘तँ त्यो गल्लीमा हिजो अस्ति सुतेर बस्ने केटा होइन ?’ भनेर सोध्नुभयो मैले हो भने । अनि काम गर्छस् भनेर सोधे ।

अहिले म उहाँको यो रिक्सा चलाउँछु, एक ट्याम भात दिन्छ साहुनीले, तल छिंडीमा गोदाममा एउटा कोठामा सुत्न दिएको छ । साह्रै दयालु साहुजी । घर छेउपुगेर रिक्साबाट सबै सामान बोकेर बैगःसम्म पु¥याइदियो उसले, भाडा पनि लिएन । अनि मलाई दियो दुई रुपैयाँ कड्ककड्क बिल्कुल नयाँ नयाँ नोट ‘पिप्लामेट खाउ है नानु’ भन्दै । आमा पर्दैन पर्दैन भन्दै हुनुहुन्थ्यो । जाने बेला ‘राम्रोसँग काम गर है बाबु, इमानदार बन, चोर्ने ढाँटने काम नगर, मागे देश पाइन्छ, मान्छेको हातमा प¥यो तिमी’ भन्दै बिदा गर्नुभयो त्यो फोहरी केटोबाट रिक्सावाल बनेका दाइलाई आमाले ।

मेरी आमालाई मैले चेञ्ज मेकर्सको रूपमा दरिएको देखेको त्यो दिन विशेष याद गरेँ आज । एउटा गाउँले केटो, काठमाडौंमा जीवन खोज्दै गन्तव्यका लागि भौँतारिरहेको थियो । न्युरोड जहाँ धनीहरूको बसोवास हुने मुख्य सडक सहर । मेरी आमा आपैmँले घर धान्नुपर्ने मिहिनेत गर्नुपर्ने पुस÷माघ महिनाको कठ्याँग्रिने जाडोमा नानीहरूलाई तातो सिरकले लुटुपुटु पारेर थर्मसमा चिया र रिकापीमा खाजा छोपेर कहिले बिहानै कहिले साँझ बेलुकासम्म आफनो ड्युटी भ्याएर नानीहरूलाई हुर्काउनुपर्ने अवस्था । उहाँको नजर त्यो केटोमा कसरी प¥यो कुन्नी तर एउटा गाउँले किशोरको राम्रो जीवन सुरुआतका लागि माइल स्टोन बनिन् मेरी आमा । मानन्धर थरका एक व्यापारीकोमा काम गर्र्ने अवसर पाए उनले । कम्तीमा मन्दिरमा मागेर खानु परेन । त्यसैले मेरी आमा अ चेञ्जमेकर दि गे्रट होइन त ?

बास्तवमा, हामीले जीवनमा धेरै ठूलो काम गर्नु पर्दैन । न त मैले जीवनमा केही गर्न सकिनँ भनेर दुःख मान्नु वा पछुतो मान्नु आवश्यक छ । यो समाज यस्तो छ कि एक आमा, दिदीबहिनी, भाउजु र श्रीमतीले गर्ने योगदानका लागि कृतज्ञ हुने र सो बारे बहस गर्ने योदानको कदर गर्ने संस्कार छैन । एक महिलाले तपाईं (पुरुष र महिला दुबै) तपार्इंको विकासका लागि चाहे त्यो रातको दुई बजे उठेर खाना तयार गरी दिने, घरमा पढ्ने, समयमा काममा पुग्ने वातावरण तयार गरी दिने उनको योगदानलाई कदर गरिन्न ।

किनकी समाज हरेक कर्मलाई पैसासँग तुलना गर्ने संस्कारले ग्रसित छ । कमाएर दुई÷चार रुपैयाँ हातमा राखिदिने बुहारीहरूको हाईहाई गर्ने तर दिनभर घरमा बसेर घरको काम र समयमा तातो मसिनु खुवाएर सेवा गर्ने बुहारीलाई निकम्मा सम्झिने र दोहोलो काड्नेहरू हाम्रो समाजमा छन् । फेरी पनि तपार्इंले गर्ने सानो सहयोग, थोरै साथ, थोरै आफ्नोपन र संर्घषका दिनमा मन, वचन, कर्मले साथ दिनसके कसैको जीवनमा ‘प्याराडाइम सिफ्ट’ हुन सक्छ । तपाईंले गरेका हरेक निःस्वार्थ कर्मले कसैको जीवनमा परिवर्तन आउँछ र नयाँ जीवन प्राप्त हुन्छ भने सम्झिनुस् तपाईंले संसार जित्नु भयो । हो, दुःखका दिनमा सँगै हिँडेकाहरूले तपाईंले दिएको समय साथ र सहयोगलाई स्मरण गर्नै पर्छ भन्ने छैन । न त तपाईंलाई खुलेर धन्यवाद नै दिन आवश्यक छ र ती सब नपाउँदा न दुःखी र न त पाउँदा खुसी नै हुनु आवश्यक छ । मान्नुस, यस्तो अवस्थामा तपाईं आफू प्रकृति (यो धरती आकाश, हावा, पानी, सौर्य ऊर्जा) हुनुहुन्छ । जसको निरन्तर कर्तव्य हो, निःस्वार्थ जगतको कल्याणका लागि समर्पण हुन ईश्वरले एक रचना गरेको प्राकृतिक अवयव ।

प्रतिक्रिया