पृथ्वीनारायण शाह : दूधले नुहाएका थिए ?

निनाम लोवात्ती

पृथ्वीनारायण शाह त मान्छे थिए, त्यसमाथि उनी युद्द लड्न हिँडेका थिए, त्यसैले युद्घको क्रममा धेरथोर मान्छे मरे/मारिए भनी स्वीकार गर्नुपर्यो । पृथ्वीनारायण शाहले पनि युद्घ लड्ने क्रममा धेरै मान्छेहरू मारे/मारिए, त्यस्तै युद्घका क्रममा केही न केही ज्यादतीहरू पनि भए भन्न सक्नुपर्यो । यसरी महानताका साथ कमीकमजोरी र गल्ती स्वीकार गर्ने र क्षमा माग्ने हो भने हामी सबैले सहर्ष ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउने वातावरण बन्न सक्छ ।

हरेक वर्षको पुस २७ गते गोरखाका तत्कालीन राजा र पछि नेपालका भगौलिक एकीकरणका सफल अभियन्ता मानिएका (मान्नुपर्ने !) पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने गरिन्छ । यो वर्ष पनि संभवतः हर्षोल्लासका साथ ३००औँ जन्मजयन्ती मनाइयो । देशका विभिन्न स्थानीय निकायहरूले (नगरपालिका र गाउँपालिकाहरूले) नगरपालिका र गाउँपालिका स्तरमा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक रूपमा बिदा दिने निर्णय भएको/गरेको भनी समाचारहरू पढ्न र सुन्न पाइयो ।

अभैm पनि नेपालका अनुदारवादी लेखकहरू जस्तै पञ्चायती व्यवस्था कालका नेता, राजा वीरेन्द्रले झापाबाट राष्ट्रिय पञ्चायतमा मनोनीत गरेका रापंस दीर्घराज प्रसाईंलगायत केही लेखकहरूले हरेक वर्षको पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा लेख लेख्ने गरेका छन् । उनीहरूले आफूले लेखेको लेख रचनाहरूमा जहिले पनि कीर्तिपुरको युुद्घमा कीर्तिपुरे जनता (सेना) द्वारा पृथ्वीनारायण शाहका सेना प्रमुख कालु पाँडे मारिएको र आफ्ना भाइ सुरप्रताप शाहको आँखा फुटेको झोँकमा कीर्तिपुरे जनताका नाक–कान काटेको, कीर्तिपुरे सेनाको सिपाहीले पृथ्वीनारायण शाहलाई चिनेर मार्न लाग्दा अर्को सिपाहीले देखेर ‘राजालाई मार्न राजा नै चाहिन्छ, हामीले मार्ने होइन !’ भनेर मात्रै पृथ्वीनारायण शाह बाँचेको प्रसंग, आफ्नो स्वार्थका लागि गोत्र नै परिवर्तन गरेको प्रसंग, पूर्वका किरातीहरूलाई छल गरेर (अरुण नदीमा विनाहातहतियार भेला भई मित लगाउने भनी लिम्बु राजाहरूलाई बोलाइयो तर, पृथ्वीनारायण शाहका सेनाहरूले पहिले नै बालुवामा लुकाएर राखेको खुँडा, तरबार आदिले काटेर/मारेर जितेको प्रसंग, तनहँुका राजा त्रिविक्रम सेन (आफ्नै पिता नरभूपाल शाहका मावली खलक) लाई पनि उनका गुरु गौरेश्वर पन्तलाई विश्वासमा लिई मिल्ती गर्ने भनी त्रिशूली नदीको किनार, ज्यामीरघाटमा तत्कालीन प्रचलनअनुसार विनाहातहतियार पृथ्वीनारायण शाह र त्रिविक्रम सेन भेट हुने भनी तय गरिएको । तर, पृथ्वीनारायण शाह र त्रिविक्रम सेन भेट भएर कुराकानी हँुदाहँुदै अघि नै पृथ्वीनारायण शाहका सेनाहरूले योजनाअनुसार नदी किनारको बालुवामा लुकाएर राखेको हातहतियार झिकी त्रिविक्रम सेनमाथि जाई लागेकोे । तत्कालै त्रिविक्रम सेनलाई कैद गरी नुवाकोट लगिएको घटनाहरू र, गुरु मानिएका जसले त्रिविक्रम सेनलाई पृथ्वीनाराणय शाहसँग भेट्न राजी गराएका थिए, उनै गुरु गौरेश्वर पन्तलाई पनि पृथ्वीनारायण शाहले देश निकाला गरेर गुण तिरेको ! आदि पृथ्वीनारायणका यी सबै छलछाम र धोकाहरू बारेचाहिँ आपूmलाई मात्रै राष्ट्रवादी देख्ने कामरेडहरूले कहिल्यै पनि चुँ…सम्म नबोल्ने/नलेख्ने हो ?

आजको २१औँ शताब्दीको युगमा पनि वास्तविकतालाई सधैँ लुकाउन सकिएला त, आफूलाई मात्रै राष्ट्रवादी देख्ने कामरेडहरूले ? त्यसैले प्रसाईंजस्तै नेपालका अनुदारवादी लेखक तथा राष्ट्रवादी भनिने कामरेडहरूले हरेक वर्षको पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा लेख लेख्दा पृथ्वीनारायण शाहबारे वास्तविकता जे हो, त्यही लेख्नुपर्यो, वास्तविकता जे हो, त्यही भन्नुपर्यो । परि आए, इतिहासलाई साँचो अर्थमा सच्याउन सक्नु पनि पर्यो । अनि ‘भगवान्ले मात्रै गल्ती गर्देनन्, किनभने भगवान् नै हुँदैन !’ भन्ने तथ्यलाई स्वीकार गर्नुपर्यो । पृथ्वीनारायण शाह त मान्छे थिए, त्यसमाथि उनी युद्घ लड्न हिँडेका थिए, त्यसैले युद्घको क्रममा धेरथोर मान्छे मरे/मारिए भनी स्वीकार गर्नुपर्यो । पृथ्वीनारायण शाहले पनि युद्घ लड्ने क्रममा धेरै मान्छेहरू मारे/मारिए, त्यस्तै युद्घका क्रममा केही न केही ज्यादतीहरू पनि भए भन्न सक्नुपर्यो । यसरी महानताका साथ कमीकमजोरी र गल्ती स्वीकार गर्ने र क्षमा माग्ने हो भने हामी सबैले सहर्ष ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउने वातावरण बन्न सक्छ । नत्र त कथित् राष्ट्रवादी भनिनेहरूले जति नै तामझामका साथ बर्सेनि पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !’ भनी मनाइरहे तापनि यसले सार्थकता पाउन मुस्किल छ । किनभने, अर्को पक्षले पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता होइन, ‘साम्राज्यवादी !’ ‘क्रुर’ र ‘खुनी !’ शासक भनी कीर्तिपुरमा भेला भएर पृथ्वीनारायण शाहलाई हरेक वर्षको पुस २७ गतेका दिन थुक्ने कार्यक्रम पनि आयोजना गरी नै रहने सिलसिला अनन्तकालसम्म चलिरहने देखिन्छ ।

त्यसैले राष्ट्रवादी कामरेडहरूले नै पहिले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरणका क्रममा भए–गरेका सानातिना गल्ती र कमी कमजोरीहरूलाई स्वीकार गर्दै र, उनका भाई–छोरा–बुहारीले नेपालको भौगोलिक एकीकरणपछि नेपालका विभिन्न जातजातिमाथि जबरजस्ती थोपरेको वा लादिएको गोरखा–खस–नेपाली भाषा, हिन्दू धर्म, चाडबाड, पर्व, जात्रामात्रा, संस्कार, संस्कृति, भेषभूषा, रीतिथिति, कानुनी बार–बन्देज आदिबारे पनि खुलेर छलफल र बहस गर्नुपर्ने देखिन्छ । अन्यथा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !’ भनी एकोहोरो रूपमा सुगा रटाई मात्रै गरिरहने हो भने त मेरो भन्नु केही रहेन ।

त्यसैले हामीले अभैm पनि हरेक वर्षको २७ पुसमा मनाइने तत्कालीन गोरखाका राजा र पछि नेपालका भौगोलिक एकीकरणका सफल अभियन्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने क्रममा नेपालका अति राष्ट्रवादी कामरेडहरू जस्तै माथि नै उल्लेख गरिएका पञ्चायती व्यवस्थाकालका कार्यकर्ता प्रसाईंलगायत अन्य लेखक तथा इतिहासकारहरूले हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा लेख, रचनाहरू लेख्दा, पृथ्वीनारायण शाहबारे भाषण गर्दा, उनीबारे वर्णन गर्दा अबका दिनमा कीर्तिपुरको युुद्घमा कीर्तिपुरे जनता (सेना) द्वारा पृथ्वीनारायण शाहका सेना प्रमुख कालु पाँडे मारिएको र आप्mना भाइ सुरप्रताप शाहको आँखा फुटेको झोँकमा कीर्तिपुरे जनताका नाककान काटेर लिएको बदलाबारे वास्तविकता के हो ? उल्लेख गर्नुपर्यो । किनभने, ‘पृथ्वीनारायण शाहले पाल्कीमा चढी युद्घ सञ्चालन गरिरहेको वेला शत्रु पक्ष (कीर्तिपुरे) का सेनाले पृथ्वीनारायण शाहलाई चिनेर खुँडा उजाए । तर, अर्को सेनाले आएर ‘राजा त अवध्य हुन्छन्’ भनेर हात नसमातेको भए पृथ्वीनारायण शाहको जीवन त्यसै स्थलमा समाप्त हुन्थ्यो ।’ भनी ‘नेपालको ऐतिहासिक रुप–रेखा’ नामक किताबको पाना नम्बर–१७८ मा बालचन्द्र शर्माले लेखेका छन् । यसरी हेर्दा शत्रु पक्षको एउटा सामान्य सिपाहीको दूर–दर्शिताले मात्रै त्यो वेला (कीर्तिपुरको दोस्रो लडाइँमा) पृथ्वीनारायण शाह बाँचेको देखिन्छ ।

यस बारेमा चाहिँ नेपालका राष्ट्रवादी कामरेडहरू किन मौन नि ? त्यस्तै बेलकोट युद्घमा कैद परेका जयन्त रानालाई पनि जिउँदै छाला काढेर मार्न लगाएको प्रसंग, मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीलाई दोस्रोपटक लिन जाँदा आफू बसेको ठाउँमा मकवानपुरे राजाका सेनाले जुत्ता नखोली सलाम गर्दा ती सेनाहरूलाई आप्mनो मानिस लगाई तत्कालै मार्न लगाएको र, त्यसपछि उनका जेठान दिग्बन्धन सेन तुरुन्तै आई…तर, राजा हेमकर्ण सेन तुरुन्तै आई छोरालाई तत्कालै रोकेको प्रसंग (स्मरणीय छ, इतिहासकार बालचन्द्र शर्माका अनुसार हेमकर्ण सेन तुरुन्तै आई पुगी दिग्बन्धन सेनलाई नरोकेको भए त्यही वेला पृथ्वीनारायण शाहमाथि जे पनि हुन सक्थ्यो । यो भनेको दोस्रोपटक पृथ्वीनारायणको खड्गो टरेको हो कि होइन ? यसको मतलब पृथ्वीनारायण शाह दुई/दुईपटक अरूले गर्दा मात्रै बाँचेका देखिन्छन् होइन ? कि कसो हो राष्ट्रवादी कामरेडहरू ? यी प्रसंगहरू बारेचाहिँ केही लेख्नु पर्दैन, राष्ट्रवादी कामरेडहरू ?

त्यसैले अब कसैसँग ‘अतिशय अनुराग र कसैसँग द्वैष !’ नराखीकन भन्ने हो भने, यदि पृथ्वीनारायण शाहमाथि त्यही वेला त्यस्तो केही (मृत्यु भएको भए) भई हालेको भए अहिलेका हाम्रा अति राष्ट्रवादी कामरेडहरूले कथित् राष्ट्रवादको नाममा यसरी उखरमाउलो ! गर्न पाउँथे कि पाउँथेनन् होला ?, यो वास्तवमै विचारणीय पक्ष हो जस्तो लाग्छ, मलाई । यसो भनिरहँदा अति राष्ट्रवादी कामरेडहरूले मलाई नै ‘अराष्ट्रवादी, जातिवादी, रेसिस्ट, भिल्ल, विदेशी डलरमा …! भन्ने आरोप पनि लाग्ला नै । जबकि पृथ्वीनारायण शाहले आप्mनो स्वार्थका लागि वनारस गएर ‘भारद्वाज’ गोत्र त्यागेर ‘कश्यप/काश्यप’ गोत्र लिएको त नेपालका ‘अति राष्ट्रवादी !’ भनिने इतिहासकार, विद्घान, लेखक र नेताहरूले नै स्वीकार गरेको हो क्यारे ?! अर्को प्रसंग, तनहँुका राजालाई पनि आफू सानो छँदा मन्त्र दान गरेका पण्डित राजगुरुलाई विश्वासमा लिई… गरेको आदिबारे पनि केही न केही लेख्नुपर्यो राष्ट्रवादी कामरेडहरूले । किनभने, नेपालका केही उदारवादी वा भनौँ वास्तविकता स्वीकार गर्ने÷स्वीकार्नुपर्छ भन्ने लेखक तथा इतिहासकारहरूले भने पृथ्वीनारायणका यी र यस्ता कमीकमजोरीहरू बारे लेख्ने बोल्ने र प्रस्ट्याउने प्रयास गर्छन् । तर, उग्र राष्ट्रवादी, अन्ध राष्ट्रवादी र अति धर्मान्धहरूले भने, पृथ्वीनारायण शाहको स–सानादेखि ठूल–ठूला र जघन्य अपराधहरू स्वीकार गर्नु त कता हो कता, बरु पृथ्वीनारायण शाह ‘दूधले नै नुहाएका…’ थिए झैं गर्छन्, देवत्वकरण गर्छन् । जुन सरासर गलत हो ।

त्यसैले हामी सबै नेपालीहरूले पृथ्वीनारायण शाहलाई निर्विवाद रूपमा स्वीकार्ने हो भने उनले नेपालको भौगोलिक एकीकरण गर्ने क्रममा गरेका स–सानादेखि ठूल–ठूला र जघन्य अपराधहरूको पनि स्वीकारोक्ति हुनुपर्छ । कि कसो हो, उग्र राष्ट्रवादी, अन्ध राष्ट्रवादी र अति धर्मान्ध कामरेडहरू ?

प्रतिक्रिया