पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिन कांग्रेस केन्द्रीय सदस्य भण्डारीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइनु पर्ने बताएका छन् । आधुनिक नेपाल निर्माण राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको अतुलनीय योगदान रहेको हुँदा पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भण्डारीको भनाई छ । ३००औं पृथ्वी जयन्तीको अवसरमा विज्ञप्ती जारी गर्दै भण्डारीले सो कुरा बताएका हुन् । पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कति कारणले कठिन भयो ? त्यसको जवाफ खोज्नुपर्ने बेला आएको समेत भण्डारीको भनाई छ । पृथ्वीनारायण शाहको अवलमूल्यन गर्ने कसैको पनि भलो नहुने भण्डारीको भनाई छ । पृथ्वीनारायण शाहले नै गर्दा आज हामी नेपाली भनेर गर्व गर्न पाएको भण्डारीको भनाई छ ।

भण्डारीद्धारा जारी विज्ञप्ती

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
राष्ट्रिय पर्वका रुपमा मनाऔं !
शंकर भण्डारी
आज पुष २७ नेपाल एकीकरणका सुत्रधार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन । नेपाली भएर बाँच्न पाउने गौरवको प्रत्याभूति गर्ने महान, दुरदर्शी र सुरवीर पुरुषको जन्मदिन सम्पूर्ण नेपालीका लागि हर्षो उल्लासको क्षण । आज भन्दा करिब ३०० वर्ष पहिला नेपालको गोरखा जिल्लामा जन्मेर १९ वर्षको कलिलो उमेरमा गद्धि सम्हालेका पृथ्वीनारायण शाहको अकल्पनीय प्रयासले यो मुलुक निर्माण भएको हो । यस्ता महान पुरुषको जन्मदिन तथा ३०० औं पृथ्वीजयन्ती सम्झदा श्रद्धाले शिर निहुरिन्छ र हर्षले विभोर हुन पुगिन्छ । अन्य राज्यका शासक जस्तै राजगद्धीको सुख सयलमा रमेर जीवन बिताएको भए सायद आज हामी नेपाली भएको गर्व गर्न पाउने थिएनौ होला । बाल्यकालमा नै उनले कठोर यात्रा मात्र थालेनन् त्यसलाई पूरा गरेर नेपाली जातिको शिर उच्च बनाईदिए ।

पृथ्वीनारायण शाह गद्धिसिन हुनुअघि नेपाल टुक्राटुक्रामा विभक्त थियो । तत्कालीन बाईसे चौबिसे राज्यहरु आपसी द्धन्द्ध र दाउपेचमा लिप्त थिए । जनता प्रत्येक शासकबाट प्रताडित थिए । जनता शासकहरुको सुख सयलका लागि कर तिर्न र युद्धका लागि सामान जुटाउन मात्र बाध्य थिएनन् लडाईका लागि निर्ममता पूर्वक आफ्ना सन्तान शासकहरुलाई उपलब्ध गराउन विवश थिए । नेपाल र नेपालीको अस्तित्व संकटमा रहेको बेलामा पृथ्वीनारायण शाहले महत्वकांक्षी र कठोर प्रतिज्ञा गरी नेपाल एकीकरणको अभियान आरम्भ गरे । राज्यका सबै जात जाति तथा धर्म संस्कृतिका मानिसलाई गोलबद्ध गरे र आम नागरिकको स्वेच्छिक सहयोगमा एकीकरण अभियानलाई कुशलता पूर्वक अघि बढाए ।

युद्धका लागि गरिब भन्दा गरिब नागरिकले पनि स्वत स्फूर्त रुपमा चन्दादिएको र विर विरगंना नेपालीले युद्धमा भाग लिएर नेपाल एकीकरणको अभियानमा सघाएको इतिहासले उनीप्रति जनताको अगाध आस्था र उनले थालेको अभियानमा जनस्वामित्व पुष्टि हुन्छ । विरोधी राज्यका जनता तथा महत्वपूर्ण जिम्मेवारीमा बसेका व्यक्तिले पनि एकीकरण अभियानलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा समेत सघाउनुले उनको सबल कुटनीति, आदर्श सोच तथा मानवीय व्यवहारको पुष्टि गर्दछ । उनले नेपाल एकीकरण गरेर हाम्रा लागि विशाल नेपाल र स्वतन्त्र तथा गौरवशाली नेपाली इतिहास

मात्र छाडेनन् दिव्य उपदेशहरुका माध्यमबाट देशले कसरी सुशासन कायम गर्न तथा समृद्धि हासिल गर्न सक्छ र देशको स्वाधिनता कसरी अक्षुष्ण राख्न सकिन्छ भन्ने सम्बन्धमा कालजयी दृष्टिकोण प्रस्तुत गरी राष्ट्र निर्माणको अभियानलाई पूर्णता दिएको देखिन्छ । अपराजित नेपाली इतिहास उनले चालेको कदमको अभिन्न पाटो हो । उनले देखाएको मार्गमा तत्पश्चातका शासक र नेपाली जनता सदैब लागेर नेपाललाई विशाल बनाउने अभियान लामो समय सम्म चल्यो ।

पृथ्वीनारायण शाहको प्रतिज्ञा, बलिदान एवं रण कौशलको प्रतिफल स्वरुप हामीले विशाल नेपाल प्राप्त गरेका छांै । आफूलाई नेपाली भन्न पाएका र्छौं भने विश्वमा हाम्रो अलग पहिचान, अस्तित्व र गौरवपूर्ण इतिहास छ । पृथ्वीनारायण शाहको मन मस्तिष्कमा विशाल एकीकृत नेपाल निर्माणको चित्र नकोरिएको भए सायद नेपाल र नेपालीको अस्तित्व विश्व मानचित्रमा रहने नै थिएन । एकीकरण अभियानदेखि नै हरेक जातजाति र धर्मालम्बीका बीचमा सद्भाव कायम गर्दै सबैलाई उचित सम्मान र अवसर दिएकै कारण उनलाई सबैको साथ र समर्थन रहनुका अतिरिक्त सबै नेपालीका बीचमा गहिरो प्रेम तथा भातृत्व विकास हुन गएको पाइन्छ । उनी एकीकरण कर्तामात्र नभएर राष्ट्रिय एकताका प्रतिक पनि हुन ।

संसारका सबै मुलुकमा राष्ट्रनिर्माताको स्थान अत्यन्त उच्च हुने गरेको छ तर विडम्बना भन्नु पर्दछ नेपाली नेपाली बीचको बैमनस्यतालाई अन्त्य गर्ने, साम्राज्यवाद्को दवदवा चलेको बेलामा नेपाललाई सुरक्षित राख्ने, सम्पूर्ण नेपालीका बीचमा एकताको भाव विस्तार गर्ने दूरदर्शी राष्ट निर्माताका प्रति उचित श्रद्धा भाव व्यक्त हुन सकेको छैन । बरु व्यक्तिगत लाभका लागि राष्ट्रनिर्माताको योगदानलाई अनुचित व्याख्यागर्ने र नेपाली इतिहास बग्यांउने तर्फ एकथरी शक्ति निरन्तर लाग्दै आएको छ । अरुको इशारामा होस ्वा क्षणिक लाभका लागि होस् पराइबाट परिचालित शक्तिले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गर्दै आएको छ । राष्ट्रनिर्माताको सम्मान र सम्झनामा आयोजना गरिने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको छ । हामीलाई चेतना हुन जरुरी छ इतिहास अत्यन्त निर्मम हुन्छ यसलाई मेटाउन खोज्ने शक्ति स्वयं मेटिने गर्दछ ।

आज हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ ? राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउदै छांै ?जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छाैं ?हामीले आज आफैलाई प्रश्न गर्नुपर्ने समय आएको छ । हाम्रो विवेकको परीक्षण गर्ने घडी आएको छ । अहिले कमजोर बन्दै गएको राष्ट्रिय स्वाधिनता र एकताको मूल कारण यस्तै अपरिपक्व निर्णयहरु हुन भन्नेमा हामी सचेत हुनै पर्दछ ।

नेपाली हुनुमा जुन गौरव छ । हाम्रा पूर्खाको रगत र पसिनाले सिंचित यस भूमिको गौरवशाली इतिहास हाम्रा लागि प्राण भन्दा प्यारो छ । त्यही भूमिका एकीकरण कर्ता तथा राष्ट्रिय एकताका प्रतिक बहामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती भब्यताका साथ मनाउनु हामी सबैको अधिकार र कर्तव्य हो । राज्यले यसलाई प्रवद्र्धन र सम्मान गर्नु आवश्यक छ । यस घडिमाम सबै नेपालीमा एकता र सद्भावको विकास होस् र राष्ट्रियताको संवद्र्धनमा हामी सबै एकजुट हुन सकौं भन्ने शुभकामना प्रदान गर्दै यस पर्वलाई भव्य रुपमा मनाउन सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईमा हार्दिक आब्हन गर्दछु ।

पुष २७ अर्थात पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन यसलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछु ।

प्रतिक्रिया