८४ वर्षका वृद्धले कोरोनाको ११ डोज खोप लिएपछि….

पटना । कोरोनाको बढ्दो संक्रमणबाट जोगिनका लागि खोप लगाउनैपर्ने कुरामा धेरैले जोड दिइरहेका छन् । धेरै खोप लगाएपछि धेरै सुरक्षा पाइन्छ भन्ने सोचेर नै होला भारतको बिहारका एक वृद्धले कोरोनाको ११ वटा खोप लगाइसकेका छन् । बिहारको मधेपुरा जिल्लामा एक व्यक्तिले उनले कोरोना भ्याक्सिनको ११ वटा डोज लिएको दाबी गरेका छन् । पुरैनीमा बस्ने ८४ वर्षका ब्रह्मदेव मण्डलले कोरोना भ्याक्सिन लिन सुरु गरेपछि आफू कहिल्यै बिरामी नभएको र उनको स्वास्थ्यमा सुधार आएको बताएको छ । अर्कोतर्फ मधेपुराको सिभिल सर्जन डाक्टर अमरेन्द्र प्रताप शाहीले उनको दाबी साँचो हो कि गलत भनेर थाहा पाउन अनुसन्धान नै गर्नुपर्ने बताए ।

उनका अनुसार अस्पतालको रेकर्डको अनुसन्धान हुनेछ र उनको दाबी वास्तविक भए जिम्मेवार व्यक्तिविरुद्ध कारवाही गरिने छ । यतिबेला भारतमा कोरोनाको तेस्रो लहर चलिरहेको छ र बुधबार भारतमा ९० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । अघिल्लो महिना नरेन्द्र मोदीले ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई १० जनवरीदिेखि तेस्रो डोज दिइने बताएका थिए । हालसम्म भारतमा दुई डोजको लागि मात्रै अनुमति छ । ३ जनवरीदेखि १५–१८ वर्षका लागि भ्याक्सिन दिइँदैछ ।

प्रतिक्रिया