कोरोनाले २८ दिन अचेत बनेकी नर्सलाई भिएग्राले बचायो

लण्डन । बेलायतमा कोभिड–१९ को संक्रमणपछि मृत्युको मुखमा पुगेकी एक नर्सले पुनर्जीवन पाएकी छन् । कोभिड–१९ को संक्रमणपछि २८ दिनसम्म अचेत अवस्था (कोमा) मा पुगेकी बेलायतकी ३७ वर्षीया नर्स मोनिका अलमेइडाले पुनर्जीवन पाएकी हुन् । सबै उपाय असफल भएपछि सहकर्मी डाक्टरले भिएग्रा दिएर उपचार गरेपछि आफ्नो जीवन बँचेको मोनिकाले द सन पत्रिकालाई बताइन् । ‘मेरो होस खुलेपछि कन्सल्टेन्टसँग हल्का मजाक भएको थियो किनभने उहाँलाई मैले चिनेकी थिएँ’, मोनिकाले भनिन्, ‘उहाँले भिएग्रालाई औषधिको रुपमा प्रयोग गरेको बताएपछि म हाँसे र मजाक गरेको ठानेकी थिए तर उहाँले साँच्चै नै भिएग्राको धेरै डोज दिएको बताउनु भयो ।’

लिङ्कनशायरस्थित एक स्वास्थ्य केन्द्रमा काम गर्दा मोनिकालाई कोभिड संक्रमण भएको थियो । अक्टोबरमा कोभिडबाट संक्रमित भएकी उनले संक्रमण भएको चौथो दिनमा खानाको स्वाद र गन्ध पाएकी थिइनन् भने खोक्ने क्रममा खराकमा रगत देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा घटेपछि अर्को दिन अस्पताल गएकी मोनिकालाई कुनै उपचार नगरिकनै औषधि मात्रै दिएर डिस्चार्ज गरिएको थियो । तर अस्पतालबाट घर आएको २ घण्टाभित्रै सास फेर्न समस्या भएपछि उनी लिङ्कन काउन्टी हस्पिटलमा गइन् र अस्पताल पुगेलगत्तै उनलाई अक्सिजन कक्षमा लगिएको थियो ।

मोनिकाको शरीरमा अक्सिजनको मात्रा सामान्य तहमा पु¥याउन स्वास्थ्यकर्मीले निकै कसरत गरेका थिए । तर उनको अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा राखिएको थियो । उनी अवस्था निकै गम्भीर बन्दै गएपछि नोभेम्बर १६ गते अचेत हुन पुगेकी थिइन् ।

मोनिका अचेत भएपछि उनका बाबुआमालाई अन्मित बिदाईका लागि पोर्चुगलबाट इङल्याण्ड आउन भनिएको थियो । यसैबीच, उनको उपचार गरिरहेका डाक्टरले बचाउने आशा हराउँदै गएपछि अस्वभाविक उपचार विधि प्रयोग गर्ने निधो गरे । यसै क्रममा उनलाई यौन क्षमता बढाउने भिएग्रा दिएर उपचार गर्न थालियो ।

भिएग्रा दिएर उपचार गरेपछि मोनिकाको अवस्था सुधार हुँदै आयो र डिसेम्बर १४ गते उनको होश खुल्यो । त्यसपछि उनलाई क्रिसमसको अघिल्लो दिन घर जान दिइयो । ‘यो कुरा मेरा लागि सानो क्रिसमस चमत्कार जस्तै बन्यो’, मृत्युको मुखमा पुगेर बाँचेकी मोनिकाले भनिन् । ‘भिएग्राले नै मेरो जीवन बँचेको हो’, मोनिकाले थपिन्, ‘४८ घण्टाभित्रै यसले मेरो श्वासप्रश्वास मार्ग खोल्यो र मेरो फोक्सोले काम गर्न थाल्यो ।’

स्मरणीय छ– भिएग्रा प्रयोग गरेपछि शरीरका रक्तनली सफा हुने र श्वासप्रश्वास नली खुल्ने भएकाले यसलाई कोभिड संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न सकिने तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । शरीरमा अक्सिजनको मात्रा बढाउने नाइट्रिक अक्साइड झैं भिएग्रालाई प्रयोग गर्न सकिने वा नसकिने भनेर हाल अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया