सभापतिमा देउवालाई समर्थन गर्दै प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पुनः मतदान हुने भएपछि पहिलो चरणमा सभापतिमै भिडेका प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

सिंहले आज देउवासँगको भेटपछि देउवालाई नै समर्थन गर्ने बताएका हुन् । सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौँ ।’

‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौँ, देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे, देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ, विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ, पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ’, उनले भने ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७२९ मत ल्याएका थिए ।

प्रतिक्रिया