काठमाडौं विश्वविद्यालयका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै

काभ्रे । काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा एक हजार ४४९ विद्यार्थी दीक्षित हुने भएका छन् । उक्त समारोह धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा मंसिर २९ गते गरिने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षमा हुने कार्यक्रममा भारतीय विश्वविद्यालय संघका महासचिव डा.पंकज मित्तलको प्रमुख आतिथ्यता रहने छ ।

यस वर्ष दीक्षित हुने विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका गरी एक हजार ४४९ विद्यार्थीमध्ये मानविकी संकायका २३४, शिक्षाशास्त्र संकायका १०४, इञ्जिनियरिङका २९, कानुन संकायका ४०, व्यवस्थापन संकायका ४१९, मेडिकल साइन्सका ५८१ र साइन्सका ४२ रहेको रजिष्ट्रार शर्माले बताए । त्यस्तै, १२ जनालाई पिएचडी र ३० जनाल एमफिलबाट दीक्षित हुने भएको छ । यस वर्ष दीक्षित हुनेमध्ये महिलाको संख्या बढी रहेको छ । महिला ७४७ अर्थात् ५१ दशमलव ५५ प्रतिशत र पुरुषको संख्या ७०२ अर्थात् ४८ दशमलव ४५ प्रतिशत रहेको रजिष्ट्रार शर्माले जानकारी दिए । दीक्षित हुनेमा विदेशी विद्यार्थी बंगलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलंका, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका गरी आठ देशका १२३ जना रहेको विश्वविद्यालय जनाएको छ ।

सो संख्यासहित काठमाडौं विश्वविद्यालयबाट २७औँ दीक्षान्त समारोहसम्म आइपुग्दा ३६ हजार ६२४ विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बताए । यसैबीच विश्वविद्यालयले यही मंसिर २५ गते विश्वविद्यालयको केन्द्रीय परिसरमा विविध कार्यक्रम गरी ३०औँ स्थापना दिवस मनाउने भएको छ । उक्त अवसरमा विश्वविद्यालयले स्थापना कालदेखि नै सेवा गरेका स्व.रामानन्द मिश्र र स्व.टिकादत्त बराललाई मरणोपरान्त उनीहरूका परिवारलाई केयु–ओरेसन, २०२१ सम्मानपत्र प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया