विपिन रावतको निधनप्रति नेपाली सेनाद्वारा दु:ख व्यक्त

काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको असामयिक निधनप्रति नेपाली सेनाले दु:ख व्यक्त गरेको छ । राउवतसँगै उनकी श्रीमती मधुलिकासहित अन्य ११ सैनिकहरुको असामयिक निधनको खबरले दु:खी बनाएको भन्दै नेपाली सेनाले एक विज्ञप्ति जारी समवेदना प्रकट गरेको छ । बुधबार भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको ज्यान गएको थियो ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाका तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझ फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेका थिए । दुर्घटनाको खबरबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति हुनुका साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको प्रधानसेनापति शर्माले उल्लेख गरेका छन् ।

जनरल रावतको मिति २०७८ मंसिर २४ गते नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधान सेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की जाने तय समेत भएको जंगी अड्डाले जनाएको छ । ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष भएका जनरल रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७, मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन् । जनरल रावत १३ फ्रेबअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा समेत सहभागी भएका थिए ।

प्रतिक्रिया