दिवा खाजा उपलब्ध भएपछि विद्यार्थी संख्यामा वृद्धि

बाँके । कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयका कक्षा कोठा आजभोलि भने विद्यार्थीले भरिन थालेका छन् । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा वृद्धि भएको हो । नरैनापुर–६ जमुनीकी हंसकुमारी धोबी आजभोलि हरेक दिन विद्यालय जाने गरेकी छन् । विद्यालयमा दिन बिराएर फरकफरक स्वादको दिवा खाजा खान पाउने भएपछि कक्षा ५ मा अध्ययनरत उनी विद्यालय नियमित आउन र पढ्न मन लाग्न थालेको बताउँछिन् ।

नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीमा अध्ययन गर्ने उनी मात्रै नभएर पछिल्लो समय दिवा खाजाकै कारण धेरै विद्यार्थीहरू विद्यालय आउन थालेका छन् । संगीता यादव पनि आजकल नियमित विद्यालय आउने गरेकी छन् । उनी मात्र नभएर उनको कक्षाका सबै सहपाठी नियमित विद्यालय आउने गरेका छन् ।

‘पढ्न पनि पाइने नियमित खाजा पनि फरकफरक स्वादको पाइने भएपछि नियमित आउन थालेका छाैं’, उनले लजाउँदै भनिन् । विद्यालयमा हरेक दिन फरकफरक परिकारको पौष्टिक खाजा पाक्ने गरेको छ । हलुवा, मीठो दलिया, खिचडीलगायतको खानेकुरा विद्यार्थीका लागि पाक्ने गरेको छ ।

संघीय सरकारको ससर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयसम्म आकर्षण गरेको नरैनापुर गाउँपालिकाका शिक्षा शाखाप्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारू बताउँछन् ।

उनले भने, ‘नरैनापुरमा विद्यालय ड्रप आउट हुनेक्रम पनि अधिक रहेको र विद्यालय भर्ना अत्यन्तै न्यून हुने अवस्था रहेकोमा दिवा खाजा कार्यक्रम लागूपछि यो अत्यन्तै प्रभावकारी रहेको पाइएको छ ।’ उनले नरैनापुरमा विद्यालयबाहिर रहेका विद्यालय जाने उमेरका करिब २५ प्रतिशत विद्यार्थीहरूमध्ये दिवा खाजा सञ्चालन भएपछि २० प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेको दाबी गरे ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादवले विद्यालयमा सञ्चालनमा ल्याइएको दिवा खाजा कार्यक्रमबाट विद्यालयमा विद्यार्थीको उपस्थितिमा उल्लेख्य रूपमा वृद्धि भएको बताउँछन् । उनले विद्यार्थीको चापका कारण कक्षामा कोचाकोच भएर बसाल्नु परेको बताए ।

उनले भने, ‘विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेको थियो तर अहिले दिवा खाजाले विद्यालयका कक्षा कोठा भरिभराउ छन् । प्रायः सबै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । विद्यालय बीचमै छाडेकाहरू पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् ।’ उनले कार्यक्रम लागू नहुँदा सुरुका दिनमा विद्यालयमा ३ सय ७६ विद्यार्र्थी भएकामा हाल यो संख्या बढेर ४ सय ४३ पुगेको छ भने । नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थी बढ्दै गएका छन् । कक्षा ३ सम्म सञ्चालनमा रहेको यस मदरसामा ३ सय ७ बालबालिका अध्ययनरत छन् । न्यून विद्यार्थी रहेको मदरसामा दिवा खाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले दाबी गरे ।

‘पहिला कक्षाकोठामा थोरै विद्यार्थी हुन्थ्ये तर अहिले दिवा खाजा कार्यक्रमले कक्षा कोठामा ठाउँ नभएर बाहिर बरान्डामा राखेर पढाउनु परेको छ’, उनले भने । नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ र विद्यालयबाहिर सञ्चालनमा रहेका तीन वटा बालविकास केन्द्रमा गरी ५० विद्यालय, मदरसामा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया