किन दोहोर्याउन चाहदैछन् देउवा ?

विन्दुकान्त घिमिरे

हात जोडेर मत माग्दै गर्दा देउवाले नाती पुस्ताका आफ्नै कार्यकर्ताबाट अनगिन्ति प्रश्नको समाना गर्नुपरेको छ । पाँच/पाँचपटक प्रधानमन्त्री बनेका देउवाको निधारमा प्रजातन्त्र दरबारमा बुझाएको र नेपाली कांग्रेसलाई विभाजन गराएको कालो धब्बा लागेको छ । आफ्नो निधारमा लागेको दाग मेटाउन अन्तिम मौका दिनोस् भन्दै देउवाले गत १३औँ महाधिवेशनमा मत मागेका थिए । देउवाले मौका पाए पनि । तर यो मौकाको देउवाले फेरी दुरुपयोग गरे ।

नेपाली कांग्रेसको प्रदेश अधिवेशनको परिणाम आएपछि थप उत्साहित भएका प्रधानमन्त्री शेरबहादुर देउवाले भावी सभापतिका लागि भोट माग्न थालेका छन् । आफू प्रधानमन्त्रीसमेत भएका कारण फेरी पार्टी सभापति बन्नु जरुरी रहेको जिकिर देउवाको छ । गत १३औँ महाधिवेशनमा कार्यबहाक सभापतिसमेत रहेका संस्थापन पक्षका उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति पदमा निर्वाचित भएका प्रधानमन्त्री देउवा आसन्न १४औँ महाधिवेशनद्वारा सभापति बन्ने संभवना सुनिश्चित भइसकेको भने होइन । सहयोगी कृष्णप्रसाद सिटौला उपसमूहलाई के कसरी चित्त बुझाउने, उपसभापति बिमलेन्द्र निधिले लैजाने भोटको सन्तुलन कसरी मिलाउने ? भन्ने दबाबमा सभापतिका उम्मेदवार देउवा अझै छन् ।

प्रदेश अधिवेशनमा देउवा पक्ष अनुमान गरिएभन्दा बलियो देखिएपछि इतर पक्ष ठूलो दबाबमा परेको छ । देउवाविरुद्ध एक मात्रै सझा उम्मेदवार खडा नगरे मतदानमै भाग नलिने चेतावनी इतर पक्षका महाधिवेशन प्रतिनिधिहरूले दिएका छन् । व्यापक दबाबपछि साझा उम्मेदवार तय गर्ने भन्दै इतर पक्षका नेताहरूको बैठक गत आइतबार बेलुकादेखि नै लगातार जारी छ । तर इतर पक्षको प्रयास भ्यागुताको धार्नी बनिरहेको छ । आफ्नो पक्षमा ५० प्रतिशतभन्दा कम भोट रहेको स्पष्ट तस्बिर प्रदेश अधिवेशनको परिणामले दिँदादिँदै पनि इतर पक्षमा किन आधा दर्जन जति सभापति पदका आकांक्षी देखिएका हुन् ? हार्ने चुनावका लागि पनि एकले अर्कालाई छाड्न इतर पक्षमा नेताहरू किन तयार छैनन् ? प्रधानमन्त्रीसमेत रहनुभएका देउवा इतरपक्षभित्र खेल्न कसरी सफल भएका छन् ? इतर पक्षबाट एक मात्रै उम्मेदवार बन्ने संभावना रहला ? इतर पक्ष एक जुट भयो भने महाधिवेशनको परिणाम कस्तो होला ? भन्ने प्रश्नको उत्तरतर्फ यतिबेला कांग्रेसजनको ध्यान आकृष्ट भएको छ ।

यसैगरी नेपाली कांग्रेसले प्रदेश–२ मा न त जिल्ला अधिवेशन गर्न सक्यो, न त प्रदेश अधिवेशन नै गर्न सक्यो । नेपालको संविधान (२०७२) जारी गर्दा नै असन्तुष्ट भएको प्रदेश–२ मा स्थानीय तहको निर्वाचन गराउन पनि निकै मुस्किल भएको थियो । प्रदेश–२ को जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशन नै नगराई महाधिवेशनमा होमिनुपर्ने अवस्थामा नेपाली कांग्रेस किन पुग्यो ? नेपाली कांग्रेसको यो असफलताले के सन्देश दिएको छ ? कांग्रेसको यो असफलताले मुलुकको अखण्डतामाथि के कस्तो आँच पु¥याउला ? भन्ने प्रश्न कम पेचिलो छैन ।

कस्तो छ देउवाको तयारी ?
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै विधानबमोजिक एकपटक सभापति बनेर अझ राम्रो काम गर्ने बताए । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आफू प्रधानमन्त्रीसमेत रहेकाले अन्तिमपटक सभापति भएर काम गर्ने मन भएकाले सबै साथीहरूलाई आग्रह गरिरहेको देउवाले बताए । उनको भनाइ छ, ‘विधानबमोजिम एकपटक सभापति बन्न चाहेको छु । मुलुकमा लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि धेरै कामहरू गर्न बाँकी छन् । त्यसैले सभापति बनेर अझ धेरै राम्रो काम गर्ने मन छ ।’

नेपाली कांग्रेसको विधानअनुसार एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न पाउँदैन । त्यस हिसाबले पनि देउवाले अन्तिम कार्यकालका लागि भन्दै भोट माग्न थालेका हुन् । विधानअनुसार मात्रै होइन उमेरअनुसार पनि देउवाका लागि कांग्रेस सभापति पदमा अन्तिम उम्मेदवारी हो । देउवा करिब ८० वर्ष पुग्न लागेका छन् । देउवा यतिबेला जुन जिम्मेवारी र परिस्थितिमा छन्, त्यसलाई विश्लेषण गर्ने हो भने आशन्न १४औँ महाधिवेशेनद्वारा सर्वसम्मत रूपमा सभापति बन्नुपर्ने थियो । उनका विरुद्ध अरूले सभापति पदमा दावी गर्ने स्थिति नै नआउनुपर्ने थियो । उम्मेदवार बन्दै गर्दा पनि ‘मलाई भोट देओ’ भनेर हात जोड्दै हिँड्ने अवस्था देउवाका लागि नआउनुपर्ने थियो ।

देउवा यस्तो अवस्थाको प्रधानमन्त्री हुन् जसले विकल्पविहीन गठबन्धन सरकारको मात्रै नेतृत्व गरिरहेको छैन, मुलुकका तीन वटै ठूला निर्वाचन गराउने दायित्व बोकेको छ । विधान र उमेरका कारण पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने संभावना छैन । यता नेपाली कांग्रेसको इतिहासमा पनि एउटा अपवादबाहेक सभापति पदमा दोहो¥याउने परम्परा छ । यस्तो सहज परिस्थितिमा पनि आफ्नो अनुकूल महाधिवेशन प्रतिनिधि ल्याउनका लागि आफ्नै गृह जिल्ला डडेलधुरामा समेत सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अवस्थामा देउवा किन पुगे ?
राज्य संयन्त्र प्रयोग गरेर ल्याइएका महाधिवेशन प्रतिनिधिहरूसँग पनि हात जोड्दै भोट माग्नुपर्ने अवस्थामा देउवा किन पुगे ? यी प्रश्नका उत्तरहरू खासै जटिल छैनन् ।

प्रधानमन्त्रीको कुर्सीमा बसेको ८० वर्षको वृद्ध सकिनसकी हात जोड्दै आफ्ना लागि भोट माग्न निस्कनु भनेको निकै कारुणिक दृश्य हो । त्यसमा पनि ‘मैले ६ वर्ष पार्टी सभापति रहँदा यो यो उपलव्धी दिलाएँ, अब पार्टी सभापति बने भनेँ यी यी उपलव्धी दिलाउँछु’ भन्ने अवस्थामा देउवा छैनन् । गत १३औँ महाधिवेशनको बेलाका धेरै सारथीहरूले साथ छाडेका छन् । राज्य संयन्त्रमा रहनेहरू बाहेक अरूको भर पर्न सकिने अवस्था छैन । फेरी पार्टी सभापति जितेर राजनीतिक उचाइ बढ्ने पनि होइन ।

हात जोडेर मत माग्दै गर्दा देउवाले नाती पुस्ताका आफ्नै कार्यकर्ताबाट अनगिन्ति प्रश्नको समाना गर्नुपरेको छ । पाँच÷पाँचपटक प्रधानमन्त्री बनेका देउवाको निधारमा प्रजातन्त्र दरबारमा बुझाएको र नेपाली कांग्रेसलाई विभाजन गराएको कालो धब्बा लागेको छ । आफ्नो निधारमा लागेको दाग मेटाउन अन्तिम मौका दिनोस् भन्दै देउवाले गत १३औँ महाधिवेशनमा मत मागेका थिए । देउवाले मौका पाए पनि । तर, यो मौकाको देउवाले फेरी दुरुपयोग गरे ।

करिब ६ वर्ष सभापति रहेर देउवाले नेपाली कांग्रेसको साख बढाए कि खस्काए ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । पहिलो कुरा त देउवाको कार्यकालमा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर बनेको कुरा निर्वाचनद्वारा नै पुष्टि भयो । १३औँ महाधिवेशनद्वारा पार्टी सभापति पदमा निर्वाचित भएको भोलिपल्टैदेखि जसरी पनि प्रधानमन्त्री बन्ने खेल आरम्भ गरे । चौथोपटक प्रधानमन्त्री त बने, तर प्रधानमन्त्रीका रूपमा आफ्नो छवी सुधार्नुभन्दा झन् छवी धमिल्याए । प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको अर्को कालो टीका देउवाले आफ्नो निधारमा थपे । सुशीला कार्कीजस्ती इतिहासकै सर्वाधिक लोकप्रिय प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन देउवा उद्धत हुनुको मुख्य कारण थियो, आफ्नी श्रीमती आरजु राणाको चरम महत्वकांक्षालाई तुष्टि दिनु । यो प्रकरणले पनि कांग्रेसको साख गि¥यो । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरण हुँदा पर्यटन मन्त्रालय देउवाले नै संहालेका थिए । ३३ किलो सुन प्रकरण र आयल निगकको जग्गा खरिद प्रकरण पनि देउवा प्रधानमन्त्री रहेकै बेला भएको थियो ।

यता पार्टी सभापतिका रूपमा पनि देउवाले सकरात्मक सन्देश दिन सकेनन् । विधान अनुसार दुई महिनाभित्र गरिसक्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको काम तीन वर्ष बित्दासमेत गर्न सकेनन् । १३औँ महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र बस्ने भनिएको महासमितिको बैठक दुई वर्षपछि मात्रै बोलाए । यति मात्रै होइन विधान अनुसारको चार वर्षे कार्यकाल गुज्रेपछि मात्रै विभागहरूको गठन गरे । चार वर्षको कार्यकाल तन्काएर ६ वर्ष पु¥याउँदा पनि पार्टीको प्रदेश संरचना बनाउन सकेनन् ।

एउटा महाधिवेशनबाट निर्वाचित भएको सभापतिको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भनेको अर्को महाधिवेशन सहजतापूर्वक सम्पन्न गर्नु हो । तर, देउवा यो जिम्मेवारीमा पनि सफल हुन सकेनन् । पहिलो कुरा त चार वर्षमा हुनुपर्ने महाधिवेशनलाई ६ वर्ष पु¥याए । दोस्रो कुरा नेपाली कांग्रेसको इतिहासमा देउवाले मात्रै यस्तो दुर्गतिको महाधिवेशन गराउँदै छन्, जहाँ पार्टीको नीति कार्यक्रम तथा संगठनात्मक दस्ताबेजसमेत प्रस्तुत हुन गइरहेको छैन । कुनै दस्ताबेजबिना महाधिवेशन गराएर देउवाले नेपाली कांग्रेसको गौरवशाली इतिहासमा कलंक समावेश गरेका छन् ।

तेस्रो कुरा नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा मुलुकका सात प्रदेश मध्ये प्रदेश–२ का सभापतिको सहभागिता हुने छैन । प्रदेश सभापतिको मात्रै होइन प्रदेश–२ का कुनै पनि जिल्ला सभापतिको उपस्थिति नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा हुँदै छैन । यसै पनि आफूलाई राज्यको मूलधारबाट अलग गरिएको महसुस गरेको मधेसी समुदायको ८० प्रतिशत बाहुल्यता रहेको क्षेत्र हो प्रदेश–२ । त्यसमाथि पनि नेपाली कांग्रेसजस्तो देशको मियो पार्टी, जुन पार्टीको जनमत आजसम्म मधेसी सुमदायले थेग्दै आएको छ, त्यही समूहको सहभागिता नहुने परिस्थिति १४औँ महाधिवेशनमा निर्माण हुनु भनेको कांग्रेस सभापति देउवाको सानो असफलता होइन । देउवाको यो असफलताले कांग्रेसलाई त धेरै पछाडि धकेलेको छ नै देशमै विखण्डनकारी शक्ति प्रोत्साहित हुने अवस्था बनेको छ । जसका कारण आसन्न १४औँ महाधिवेशनमा देउवाले कमल थापाको नियति बेहोर्नुपर्ने हो कि ? भन्ने अनुमानसमेत गरिन थालिएको छ ।

कमजोर इतर पक्ष देउवाको भाग्य
शेरबहादुर देउवा नेपाली राजनीतिको यस्तो भाग्यमानी खेलाडी हुन्, जुन खेलाडीका प्रतिस्पर्धीहरू अत्यन्त फितला र रणनीतिविहीन छन् । उदाहरणका लागि देउवाले आफ्नो प्रदेश सुदूरपश्चिम र जोडिएको प्रदेश कर्णालीबाट करिब ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिसहित कार्य समितिको सेट नै आफ्नो अनुकूलको जिताएर ल्याएका छन् । तर, ‘मैलेबाहेक अर्कोले देउवालाई हराउन अर्कोले सक्दैन’ भन्दै सभापतिको उम्मेदवार बन्न ¥याल चुहाएर चिच्याइरहेका देउवाको प्रतिस्पर्धीहरू कतिसम्म कमजोर छन् ? भन्ने केही उदाहरण हेरौँ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँ कार्य समितिमा सेट नै देउवा पक्षले जितेको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये १० जिल्लाका सभापति छानिएका छन्, जसमध्ये आठ जिल्ला सभापति देउवा पक्षका छन् । अर्का आकांक्षी डा.शशांक कोइरालाले पनि गण्डकी प्रदेशको पूर्वी नवलपरासीबाट राजनीति गर्दै आएका छन् । उनले आफ्नो जिल्लामा जिल्ला अधिवेशनसमेत गराउन सकेनन् । ‘मैले मात्रै देउवालाई हराउन सक्छु’ भनेर कुर्ली रहनुभएका प्रकाशमान सिंह आफ्नो गृह जिल्ला काठमाडौंमा त निकै बलियो देखिएका छन्, तर बाग्मती प्रदेश देउवा पक्षले जितिसकेको छ ।

अर्का आकांक्षी डा.शेखर कोइरालाले मोरङजस्तो नेपाली कांग्रेसको इतिहास बोकेको जिल्लाको पार्टी संगठन एक जना व्यापारीको हातमा सुम्पेर ऐस आराम गरिरहेका छन् । डा.शेखर कोइराला यतिसम्म सौखिन छन् कि प्रदेश–१ को अधिवेशनमा विराटनगरमै रहेर पनि भोट हाल्न गएनन् । आपूm मात्रै नगएका होइनन्, सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसी लगायतका सात जना मतदातालाई पनि आपूmसँगै भुलाएर राखे । आखिर इतर पक्षका उम्मेदवार गुरु घिमिरेले दुई मतले चुनाव हारे । यस्ता बोइलर प्रतिस्पर्धी पाउनु देउवाका लागि अहो भाग्य हो ।

देउवाविरुद्ध एक मात्रै उम्मेदवार अघि सार्ने भन्दै कोठे बैठकमा जुटेका इतर पक्षका नेताहरूमा विमलेन्द्र निधिलाई समेत सहभागी गराउनुपर्छ भन्ने चेत यो लेख तयार गर्दासम्म खुलको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल भन्दै छन्, ‘म सभापति भए भने सबै समेटेर लैजान्छु । म चुनावपछि सभापतिमा बस्दिनँ पनि । को बस्ने आजै टुंगो लगाऔँ, बरु चुनावपछि को कहाँ कुन पदमा बस्ने आजै सहमति गरौँ ।’

सभापति पदमा चुनाव जित्नका लागि आवश्यक ५० प्रतिशत मत नै नभएको इतर पक्षबाट धेरै उम्मेदवार हुनु र एक जना मात्रै उम्मेदवार बन्नुमा त्यति अन्तर देखिन्न । तर एउटा कुरामा भने इतर पक्ष आशावादी छ । त्यो आशा हो, ‘संस्थापन पक्षकै नेता बिमलेन्द्र निधिसमेत सभापतिको उम्मेदवार बन्ने अवस्था ।’ निधि पनि उम्मेद्वार बन्ने भएकोले देउवाले पहिलो चरणमा बहुमत नल्याउने आँकलन इतर पक्षको छ । यस्तो अवस्थामा एक जना मात्रै अघि सर्दा दोस्रो हुन सकिने र अर्को चरणमा मतदान हुँदा तेस्रो पक्षको भोट पाउने आशामा इतर पक्ष छ । यदि इतर पक्षबाट अहिले दावी गरेझैँ तीन जना उम्मेदवार बनेको अवस्थामा दोस्रो चरणमा नपुग्दै आफूहरू रिङ आउट हुने र देउवा र निधिबीच प्रतिस्पर्धा हुने आँकलन इतर पक्षका नेताहरूको छ । यो आँकलन भने गलत होइन ।

प्रतिक्रिया