यी हुन्, राप्रपाको पहिलो केन्द्रिय कमिटी बैठकका निर्णयहरू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको नवनिर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।

बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न अर्का महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समितिसमेत गठन गरेको छ।

त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुवबहादुर प्रधान नेतृत्वको समिति गठन गरेको छ ।

अध्यक्ष लिङदेनले पार्टीका सबै भातृ संगठनहरुलाई ३ महिनाभित्र अनिवार्य रुपमा आफ्नो महाधिवेशन सम्पन्न हुनेगरी कार्ययोजना तथा कार्यतालिका तय गरी १५ दिनभित्र पार्टीमा बुझाउन पनि निर्देशन दिइएको बताए ।

पुस महिनाभित्र विस्तारित बैठक बोलाउन सबै प्रदेश समितिलाई निर्देशन दिने, राप्रपा छोडी निष्क्रिय भएका, विभिन्न पार्टीमा गएर भूमिकाविहीन भएकाहरुलाई पनि पार्टीका फर्की सक्रिय हुन पनि बैठकले आह्वान गरेको राप्रपाले जनाएको छ ।

यस्तै पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम ‍लेविको निर्धारण गर्न महामन्त्री कुन्ती कुमारी शाहीलाई संयोजक तोकिएको छ ।

त्यसैगरी बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालगायतका सबैप्रति पनि आभार व्यक्त गरेको छ ।

बैठकमा अध्यक्ष लिङदेनले महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तिका लागि क्रियाशील हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया