बिनानिष्कर्ष सकियो कांग्रेस संस्थापनइतरको भेला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको भेला बिनानिष्कर्ष सकिएको छ । सभापतिमा साझा उम्मेदवार तय गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार बसेको भेला बिनानिष्कर्ष टुंगिएको एक नेताले बताए ।

सो समूहको बैठक आजै दिउँसो ३ बजे नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा बस्नेछ । यसअघि मंगलबार चाक्सीबारीमै संस्थापनइतरको बैठक बसेको थियो । बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन ।

साझा उम्मेदवार तय गर्नका लागि सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलका अनुसार आज साँझसम्ममा संस्थापनइतरले साझा उम्मेदवारबारे टुंगो लागाउने छ । बुधबार दिउँसो पौडेल, शेखर र शशांक कोइरालाबीच छलफल भएको छ । त्यसअघि पौडेलले नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए । कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने तय छ ।

प्रतिक्रिया